मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

षडानन्द राष्ट्रिय पुरस्कार डा. श्रेष्ठलाई

बुधबार, १२ असोज २०७९, ११ : २४
बुधबार, १२ असोज २०७९

आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले यस वर्षको षडानन्द राष्ट्रिय पुरस्कार प्राज्ञ डा. तीर्थबहादुर श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । नेपालको पर्यावरण संरक्षणको क्षेत्रको अध्ययनमा उल्लेखनीय योगदान गरेबापत सो पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । 

डा. श्रेष्ठ नेपालको जैविक विविधता एवं सम्पदा संरक्षण परियोजनाका कार्यक्रम संयोजक तथा मकालु–वरुण संरक्षण परियोजना नेपाल, राष्ट्रिय निकुञ्ज एवं वन्यजन्तु संरक्षण विभाग तथा उडल्यान्ड माउन्टेन इन्स्टिच्युट, अमेरिकाको सहकार्यमा सञ्चालित परियोजनाको कार्यदल संयोजक हुन् । उनले नेपालको वातावरण तथा वन्यजन्तुको संरक्षण कार्यमा विशिष्ट योगदान पुर्‍याएका छन् । उनका आधा दर्जन पुस्तक प्रकाशित छन् । पुरस्कारको राशि एक लाख रुपैयाँको रहेको छ । 

प्रतिष्ठानले यसै वर्षदेखि प्रदान गर्न लागेको षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार भने काठमाडौँको भीमसेनस्थानमा रहेको परोपकार स्थानलाई प्रदान गर्ने निर्णय गरिएको छ । २००४ सालमा दयावीरसिंह कंसाकारद्वारा स्थापित यो संस्था सामाजिक सेवामा समर्पित रहँदै आएको छ । संस्थाले स्थापनाकालदेखि नै अनाथ बालबालिकालाई छात्रवासको सुविधासहित निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ । यस संस्थाले विद्यालय र विपन्न जनतालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न औषधालय, निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ । पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, पूर्वाञ्चलमा शिक्षा, संस्कृति र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्ति वा संस्थालाई प्रदान गरिने षडानन्द क्षेत्रीय पुरस्कार २०७९ साहित्यकार तथा शिक्षासेवी दुर्गाप्रसाद अधिकारीलाई प्रदान गरिने भएको छ । षडानन्दद्वारा स्थापित विद्यालयमा प्रारम्भिक शिक्षा लिनुभएका अधिकारीले सोही विद्यालयमा लामो समय सेवा गरेका थिए । 

ती पुरस्कारहरु षडानन्द अधिकारीको १८८औँ जन्म दिनको अवसरमा आगामी मङ्सिर १२ गते विवाह पञ्चमीमा प्रदान गरिने प्रतिष्ठानले जानकारी दिएको छ । १८९२ सालमा  भोजपुरको दिङ्लामा जन्मिएका षडानन्द अधिकारीले नेपालको शिक्षा, संस्कृति, अध्यात्म, समाज सुधार र पर्यावरण संरक्षणमा योगदान दिएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप