बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘१० करोड छैन’ भन्दै माओवादी केन्द्रका नेताले लिए उम्मेदवार नबन्ने निर्णय

बुधबार, १२ असोज २०७९, १६ : ००
बुधबार, १२ असोज २०७९

 ‘चुनाव या अमिर (धनी)ले लड्ने रहेछ, या त फकिर (जोगी) ले नै लड्ने रहेछ, म न फकिर भएँ, न अमिर भएँ’ यो पीडा हो नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य रामेश्वर राय यादवको । आफू अमिर पनि नरहेको र फकिर पनि नभएका कारण यसपटकको चुनावमा उम्मेदवार नबन्ने घोषणा उनले गरेका छन् । उनको नाम प्रतिनिधिसभातर्फ सर्लाही–३ बाट सिफारिस भएको छ । टिकट पाउने निश्चित हुँदैहुँदै पनि उनी चुनाव लड्नबाट पछाडि हटेका छन् ।

कारण खुलाउँदै उनले भने, ‘चुनावमा १० करोड रुपैयाँभन्दा बढी खर्च हुन्छ, जुन रकम मसँग छैन । त्यही भएर चुनाव नलड्ने निष्कर्षमा पुगेको छु ।’ आफ्नो पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि आफूले यसबारे जानकारी गराइसकेको उनले बताए ।

मधेसवादी दलबाट माओवादी केन्द्रमा आएका नेता रामेश्वर राय यादव २०७४ को चुनावमा प्रतिनिधिसभा सदस्यमा २३ हजार मत ल्याएर जितेका थिए । २०७४ को स्थानीय चुनावमा उनका छोरा विक्रम राय यादव गाउँपालिका अध्यक्षमा जितेका थिए ।

अहिले पाँच दलीय गठबन्धनबीच तालमेल हुने भएकाले निर्वाचन जित्न अझ सजिलो भए पनि रामेश्वरले उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । उनी भन्छन्, ‘चुनाव जितेर के नै गर्न सकिन्छ र ? म यत्रो पटक सांसद भएँ, मन्त्री भएँ तर केही गर्न सकिएन ।’

संसदमा गएर पनि तलबभत्ता खानेबाहेक केही गर्न सक्ने अवस्था नरहेको भन्दै उनले असन्तुष्टि जनाए । उनले भने, ‘देशकै सिस्टम यस्तो भइसकेको छ कि जितेर आए पनि केही गर्ने अवस्था छैन, संसदमा गएर पनि तलबभत्ता खानेबाहेक जनताको हितमा कुनै काम हुँदैन ।’

चुनाव जितेर पाँच वर्षसम्म संसद धाउने र मौका मिलेमा मन्त्री बन्ने अवसरकै लागि आफू चुनाव लड्ने पक्षमा नरहेको उनले बताए । ‘यत्ति कामका लागि १० करोड रुपैयाँ खर्च गर्ने पक्षमा म छैन,’ उनले भने ।

सर्लाही क्षेत्र नम्बर ३ बाट रामेश्वर राय यादवसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, अच्युतम काफ्ले, रामकुमार यादव, भरत थापा, सरस्वती मिश्रा र रामप्रसाद उप्रेतीको नाम माओवादी केन्द्रबाट सिफारिस भएको छ । रामेश्वर राय नेपाल सद्भावना पार्टीबाट पटकपटक चुनाव लडेर मन्त्री भइसकेका हुन् । माओवादी केन्द्रमा आएर पनि उनी सांसद र मन्त्रीसम्म भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप