बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपामा लोहनी असन्तुष्ट, रवीन्द्र मिश्रलाई पार्टीमा भित्र्याउने कार्यक्रममा गएनन्

बुधबार, १२ असोज २०७९, २२ : ४४
बुधबार, १२ असोज २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विवेकशील साझाका नेता रवीन्द्र मिश्रलाई पार्टीमा भित्र्याउनका लागि राजधानीको राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गर्यो । सो कार्यक्रममा राप्रपाका पूर्वअध्यक्षहरू लोकेन्द्रबहादुर चन्द र डा.प्रकाशचन्द्र लोहनी देखिएनन् । 

स्वास्थ्य अवस्थाका कारण चन्द सार्वजनिक कार्यक्रममा खासै सहभागी नहुने भएकाले नेता कार्यकर्ताले स्वाभाविक रुपमा लिए । तर, लोहनीलाई कतै नदेखेपछि नेता कार्यकर्ताले उनको खोजी गरेका छन् । ‘रवीन्द्र मिश्रलाई पार्टीमा स्वागत गर्ने कार्यक्रममा डा’साब (प्रकाशचन्द्र लोहनी) लाई देखिएन । उहाँ कार्यक्रमहरुमा किन आउनु भएन अनौठो लागेको छ’, एक नेताले भने, ‘उहाँलाई केही कुरामा चित्त पो बुझेको छैन कि ?’

कार्यक्रममा पूर्वअध्यक्ष पशुपति शमशेर राणाको भने सहभागिता रहेको थियो । पार्टीका कार्यक्रमहरुमा बिरलै अनुपस्थित हुने लोहनी किन आजको कार्यक्रममा गएनन् त ? रातोपाटीको जिज्ञासामा राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले ‘कारणबस’ लोहनी कार्यक्रममा सहभागी नभएको बताए ।

​उनले के कारण हो भन्नेबारे स्पष्ट नखुलाएपनि लोहनी निकट अर्का नेताले राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनी कार्यक्रममा नगएको पुष्टि गरे । 
लोहनीले समानुपातिकको खस आर्यसमूहतर्फ एक नम्बरमा आफ्नो नाम हुनुपर्ने माग गर्दै आएका थिए । तर, लिङ्देनले राणालाई एक नम्बरमा राखेपछि लोहनी चिढिएका हुन् । 

लिङ्देनकै योजनामा कार्यसम्पादन समितिमा भोटिङ गराएर आफूलाई हराउने काम भएको लोहनीको बुझाइ छ । दुई दिनअघि भएको भोटिङमा राणाको पक्षमा बहुमत देखिएपछि राणालाई एक नम्बरमा समानुपातिकको सूचीमा राखिएको छ भने लोहनीको नाम दुई नम्बरमा रहेको छ ।

विगतमा भएको सहमतिअनुसार समानुपातिकमा एक नम्बरमा राख्ने सहमति लोहनी र लिङ्देनबीच भएको बताइन्छ । सोही सहमतिअनुसार लोहनी गत महाधिवेशनमा लिङ्देनको पक्षमा खुलेका थिए । तर, हाल आएर लिङ्देनले सहमति उलंघन गरेर राणालाई साथ दिएको लोहनीको बुझाइ छ । 

लोहनी चुनावको मुख भएकाले तत्काल चुपचाप बस्ने मनस्थितिमा रहेका छन् तर चुनाव लगत्तै पार्टीभित्र शुद्धीकरण अभियान चलाउने तयारीमा उनी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप