शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रवीन्द्रको ‘दरबारिया यात्रा’को अर्थ र भविष्य

बुधबार, १२ असोज २०७९, २० : २१
बुधबार, १२ असोज २०७९

राजनीतिक यात्राको आधा दशकमै मार्ग परिवर्तन गरेर रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा पुगेका छन् । वैकल्पिक राजनीतिको शंखघोषसहित पत्रकारिता छोडेर राजनीतिमा हामफालेका मिश्र अन्ततः ‘कन्जर्भेटिभ’ पार्टी राप्रपामा पुगेका छन् ।

साझा पार्टी खोलेर राजनीति थालेका मिश्र आधा दशकमा पार्टी एकता र विभाजन दुवैको साक्षी बने । विवेकशील साझाबाट आफ्नो राजनीतिक भविष्य नदेखेपछि उनी घुमिफिरी ‘दरबारिया कित्ता’मा समाहित भएका छन् । मिश्र राजनीतिक भविष्य खोज्दै बुधबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममार्फत विधिवत रुपमा राप्रपामा प्रवेश गरे । उनी मंसिर ४ को निर्वाचनमा काठमाडौं–१ बाट उम्मेदवार बन्ने तयारीमा छन् । ०७४ मा कांग्रेस नेता प्रकाशमान सिंहसँग झिनो मतले पराजित तत्कालीन विवेकशील साझाका अध्यक्ष मिश्र यसपटक राप्रपाबाट चुनाव लड्दै छन् । नेकपा एमालेको समर्थन जुटाएर चुनाव जित्ने उद्देश्यसहित मिश्र चुनावको मुखमा राप्रपामा प्रवेश गरेको तथ्य लुकेको छैन ।​

याे पनि

​तर मिश्र राप्रपामा प्रवेश गर्नुले राजनीतिक रुपमा खासै अर्थ नराख्ने राजनीतिक विश्लेषक बताउँछन् । राजनीतिक विश्लेषक प्रा.डा लोकराज बराल रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्नुको अर्थ नरहेको बताउँछन् । ‘रवीन्द्र मिश्रजी टेस्ट भइसक्नुभयो । आफैले बनाएको पार्टीलाई भताभुङ्ग पारेर राप्रपामा जोडिनु भएको छ,’ उनी भन्छन्, ‘पुराना राजावादी एकजुट हुन खोजेका हुन् । त्यसको मानक केही पनि छैन ।’ बराललाई मिश्रका कारण जनतामा राप्रपाको खास प्रभाव पर्छ भन्ने लाग्दैन । उनका अनुसार राप्रपाको २–४ प्रतिशत मत पहिले देखिनै छ र राप्रपालाई आउने त्यही हो ।

उनले भने, ‘रवीन्द्रजी राप्रपामा गएर दुईचार सिट परिवर्तन हुने मलाई लाग्दैन । रवीन्द्र मिश्रजीको त्यस्तो क्रेज छैन । अहिले बालेन्द्र शाह नै राप्रपामा गए पनि जनताले यो पनि मण्डले रहेछ भन्छन् ।’ जनतामा मूल्यांकन गर्ने क्षमता रहेको उनको भनाइ छ । ‘जनताको गुनासो नेता र पार्टीसँग हो, गणतन्त्र र समावेशीतासँग होइन नि,’ बराल भन्छन् ।

यस्तै वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक देवप्रकाश त्रिपाठीले पनि राप्रपामा रवीन्द्र मिश्रको प्रवेशको खासै अर्थ नभएको बताए । यसले राजनीतिमा दीर्घकालीन रुपमा खासै अर्थ नराख्ने उनको विश्लेषण छ । ‘यो दुई–चार दिनको रमाइलोमात्र हो । यसको त्यत्रो अर्थ हुन्छजस्तो मलाई लाग्दैन । राप्रपाले दलगत संस्कार र संस्कृति बोकिसकेको छैन,’ उनी भन्छन्, ‘गैरदलीय संस्कारबाट भेला भएका र कांग्रेस कम्युनिस्ट आदि बन्न नसकेका मानिसहरुको एउटा भिड हो ।’​

याे पनि

​राप्रपा अवसर नपाएर व्यक्तिगत महत्वाकांक्षाले छट्पटिएका मान्छेको भर्ती केन्द्र भएको उनको बुझाइ छ । त्रिपाठीका अनुसार मिश्र त्यसैमा आजबाट औपचारिक रुपमा भर्ना भए । ‘संस्थागत भइसकेका र हुँदै गरेका पार्टीमा जाने बित्तिकै नेता नपाउन सक्छ । त्यसकारण निजी महत्वाकांक्षाले तड्पिएर, छट्पटिएका मानिसहरु जो गएर पनि नेता बन्न पाउने ठाउँ जस्तो भएको छ राप्रपा,’ उनी भन्छन् । त्रिपाठीका अनुसार रवीन्द्र मिश्रसँग सिद्धान्तविहीन मान्छेमात्र राप्रपामा गएकाले त्यसको खास अर्थ रहँदैन ।

मिश्रका पूर्वसहकर्मी विवेकशील साझाका नेता केशव दाहाललाई पनि मिश्रको प्रवेशले राप्रपा निर्णायक शक्ति बन्छ भन्ने लाग्दैन । वैकल्पिक राजनीतिको प्रतिपक्षमा बसेको मतदातालाई राप्रपामार्फत रवीन्द्रले अपिल गर्न नसक्ने दाहालको जिकिर छ । उनका अनुसार नेपालमा वैकल्पिक राजनीति चाहने मतदाता अझ धेरै लोकतन्त्र, डेलिभरी र नयाँ चाहियो भन्नेहरु हुन् । तर राप्रपा सबैभन्दा कन्जर्भेटिभ पार्टी भएको उनको बुझाइ छ । पञ्चायत र प्रजातन्त्रमा टेस्ट भएकाले पनि राप्रपाप्रति आकर्षण बढ्ने अवस्था नरहेको दाहालको बुझाइ छ ।

रवीन्द्रले बढाउलान् कन्जर्भेटिभ मत ?

याे पनि

​कन्जर्भेटिभ मतदातामा राप्रपाभित्र मिश्रको प्रवेशले आत्मविश्वास बढेको दाहालको बुझाइ छ । उनका अनुसार अब विगतमा कांग्रेस र एमालेलाई टेस्ट गर्न मत हालेका परम्परागत मतदाता राप्रपासँग आकर्षित हुन सक्छन् । ‘हिजो कांग्रेस र एमालेलाई टेस्ट गरौं भनेर मत हालेको परम्परागत मतदाताको सानो तप्का भने रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्दा केही उत्साहित देखिन्छ,’ दाहाल भन्छन्, ‘रवीन्द्र पनि आयो, राजेन्द्र पनि नयाँ छ । यी दुई वटा मिल्दा राप्रपा अलि गतिलो हुन्छ कि क्या हो भन्नेहरूलाई आत्मविश्वासका साथ भोट हाल्ने अवस्था बन्न सक्छ ।’

उनका अनुसार संसारमा राजनीतिक आन्दोलनपछि त्यसलाई मन नपराउने कन्जर्भेटिभ समूह बाँकी रहन्छ । ‘त्यो राप्रपाका रुपमा नेपालमा पनि छ । नेपाली राजनीतिमा त्यो शक्तिशाली अभिमत होइन, बचेखुचेको अभिमत हो । त्यो संगठित हुन सक्छ,’ दाहालले भने । तर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्र एक ठाउँमा उभिने कुराले ‘कन्जर्भेटिभ’ पार्टी बलियो भन्ने तर्कमा त्रिपाठी असहमत छन् । ‘राप्रपा हिजो राजसत्ता हुँदा राजा बिना पृथ्वी घुम्दैन भन्ने मान्यता राख्थ्यो । ४६ सालमा बहुदल आइसकेपछि बहुदलीयता र संवैधानिक राजतन्त्रको विकल्प हुँदैन भन्थ्यो,’ उनी भन्छन्, ‘फेरि ६२–६३ सालमा गणतन्त्र आएपछि गणतन्त्रवादी पनि पञ्चहरु नै भए । राप्रपा कसरी कन्जर्भेटिभ ?’ राप्रपा व्यक्तिवादी मानिसको जमात भएको भन्दै निर्दलीय चरित्र अहिले पनि रहेको उनको बुझाइ छ ।

रवीन्द्रको बाटो

विवेकशील साझाका दाहालले व्यक्तिगत रुपमा मिश्र अहिले ठिक ठाउँमा आएको बताए । पाँच–सात वर्ष आफ्नो रुप छोपेर वैकल्पिक राजनीतिक गिजोलेका मिश्रको अन्तिम गन्तव्य यही रहेको दाहालको बुझाइ छ । ‘आफू जे हो, त्यही राजनीति गर्नु राम्रो हो । उहाँ त्यही ठाउँमा आइपुग्नु भएको छ,’ उनले भने । तर राप्रपा रवीन्द्र मिश्रका लागि सुहाउने पार्टी नभएको राजसंस्था र हिन्दु राष्ट्रप्रति झुकाव राख्ने त्रिपाठीको बुझाइ छ । नयाँ शक्ति निर्माण गर्ने कठिन कार्यमा नअडिएर मिश्रले गल्ती गरेको त्रिपाठीले बताए । ६४ वर्षदेखि पञ्चहरु सत्तामा रहेको भन्दै देश बर्बादीको जिम्मेवारी राप्रपाको भागमा पनि पर्ने उनी बताउँछन् ।

उनका अनुसार ३० वर्ष एकलौटी सत्तामा थिए भने यो ३४ वर्षमा पटक–पटक प्रधानमन्त्री र मन्त्रीहरु राप्रपाका मान्छे बनेका छन् । देश बर्बादीको निम्ति पार्टीलाई जिम्मेवार ठहराउने हो भने कांग्रेस, कम्युनिस्टसँगै राप्रपाले पनि जिम्मेवारी बोक्नुपर्ने उनको भनाइ छ । त्रिपाठीका अनुसार इमानदार र सिद्धान्त निष्ठको शक्ति खडा गर्ने भनेर अठोट गरेको मान्छे राप्रपा हुन सक्दैन । ‘राम्रै मित्र (रवीन्द्र मिश्र)ले यस्तो सिद्धान्तहीन काम किन गर्नुभयो होला ? आफ्नै विरुद्धको कदम किन चाल्नुभयो हो ?,’ उनी प्रश्न छन् ।

राप्रपामा टिक्न होला सहज ?

यो पनि

​रवीन्द्र मिश्र राप्रपा प्रवेशमा विलम्ब हुनुमा वरीयता व्यवस्थापन बनेको थियो । उनी वरिष्ठ उपाध्यक्ष रहने गरी राप्रपामा छिरेका छन् । तर त्यहाँ टिकिराख्न मिश्रलाई सहज हुने–नहुनेमा दुविधा छ । मिश्रका पूर्वसहकर्मी समेत रहेका दाहाल भने राप्रपामा मिश्र मिलेर बस्न समस्या नहुने बताउँछन् । उनले भने, ‘उहाँ मित्रवत् हुनुहुन्छ । पार्टीभित्रका सानासाना कुरामा विचार पुर्याउनु हुन्छ । त्यो उहाँको राम्रो पक्ष छ । राप्रपामा मिलेर बस्न समस्या नहोला ।’

सामाजिक र नैतिक हिसाबले मिश्र एकदम फेयर भएको पनि उनले बताए । ‘सामाजिक र नैतिक रुपमा प्रश्न उठाउने ठाउँ छैन । उहाँ एकदम फेयर मान्छे हो । त्यहाँ उहाँको जस्तो स्वभाव भएका मान्छे धेरै छन् । त्यहाँ उहाँको सबैसँग कुरा मिल्छ जस्तो लाग्छ,’ उनी भन्छन् । यस्तै त्रिपाठीले राप्रपामा व्यक्ति व्यवस्थापनको समस्या नहुने बताए । ‘राप्रपा बहुदल आएको ३४ वर्षमा फुट्ने–जुट्ने शृङ्खलाबाट आएको पार्टी हो,’ उनले भने, ‘रवीन्द्र मिश्रजीले बनाएको विवेकशील साझा पाँच वर्षमा ४ पटक फुटिसकेको पार्टी हो । फुट्ने जुट्ने उहाँहरुको संस्कार मिलेको देखिन्छ ।’ दुवैतर्फ समान संस्कार भएकाले राप्रपा त्यसैगरी अगाडि बढ्ने उनको विश्लेषण छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप