मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक कार्यमा जुट्दै नेपाली सेना

बिहीबार, १३ असोज २०७९, ११ : ०७
बिहीबार, १३ असोज २०७९

गएको सोमबार डोटीको झिग्रानादेखि कुडासैन जाने सडकमा लगातारको वर्षापछि ठूलो पहिरो गयो । धामीडाँडा तथा गैरागाउँका स्थानीयलाई बगलेक हुँदै जिल्ला सदरमुकाम जान निकै सास्ती भयो । आफ्नो उत्पादन नियमित स्थानीय बजारमा पुर्याउने कृषक पनि गाउँमै रोकिए ।

सडक अवरुद्ध भएर स्थानीयले सास्ती बेहोर्नुपरेको खबर खप्तड राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको श्री सिंह सार्दूल गुल्मलाई पुग्यो । त्यसपछि गुल्मबाट खटिएको टोलीले पाँच घण्टा समय लगाएर पहिरो पन्छ्यायो र अवरुद्ध सडक खोल्योे । अहिले सो सडक नियमित सञ्चालनमा छ । 

गुल्मले झिग्रानाको पहिरो मात्रै होइन, मध्यवर्ती क्षेत्रभित्र धेरै सामाजिक काम गरिरहेको छ । बझाङ, बाजुरा, अछाम र डोटीको मध्य भागमा पर्ने खप्तडको वरिपरि सरसफाइदेखि प्रकृति संरक्षणका लागि चेतनामूलक कार्यक्रमसम्म गरिरहेको छ ।

बुधबार मात्रै गुल्मले डोटीबाट खप्तड प्रवेशद्वार झिग्रानादेखि बीचपानीसम्मको फोहोर व्यवस्थापन गरेको थियो । गुल्मपति सेनानी विनोदबहादुर सिल्वालले साढे छ किलोमिटर  बाटो सरसफाइ गरेको बताए । उनका अनुसार डोटीबाट खप्तड प्रवेशको बाटो मात्रै नभई सबै जिल्लाबाट खप्तड आउने बाटो सरसफाइ गरिएको छ । निकुञ्जका कर्मचारीलाई समेत सहभागी गराई सरसफाइ गरेर व्यवस्थापन गरिएको सेनानी सिलवालले बताए ।

प्रकृति संरक्षणसम्बन्धी जनचेतना

गुल्मले सोमबार र मङ्गलबार अछामको साँफेबगर नगरपालिका–११ भिर्खु र दैलेकान्दामा प्रकृति संरक्षणसम्बन्धी स्थानीयमा जनचेतना कार्यक्रम गरेको छ । स्थानीय ४० जनाको सहभागितामा जनचेतनामूलक कार्यक्रम गरिएको सेनानी सिलवालले बताए ।

उनले भने, “पछिल्लो समय धेरै ठाउँमा प्रकृतिको दोहन भइरहेको छ । त्यसलाई रोक्नु सबैको कर्तव्य हो । त्यसैले गुल्मले विभिन्न ठाउँमा प्रकृतिको संरक्षणका लागि सन्देशमूलक कार्यक्रम गरिरहेको छ ।”

कार्यक्रममा शिक्षक, विद्यार्थी तथा स्थानीयलाई सहभागी गराई सन्देशमूलक पर्चापम्पलेट पनि वितरण गरिएको उनले बताए । सेनानी सिलवालले यस्ता कार्यक्रमले प्रकृति संरक्षणमा जोड पुग्ने विश्वास लिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप