शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ढुङ्गानालाई ‘पवित्रा–श्रीकृष्ण स्मृति सम्मान’

बिहीबार, १३ असोज २०७९, ११ : ३३
बिहीबार, १३ असोज २०७९

साहित्यकार भूवन ढुङ्गानालाई ‘पवित्रा–श्रीकृष्ण स्मृति सम्मान’ अर्पण गरिएको छ । साहित्यकार राधा कार्कीले माता–पिताको नाममा स्थापना गरेको सो पुरस्कार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक विशेष समारोहकाबीच अर्पण गरिएको हो । प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले माला, खादा र सम्मानपत्रसहित साहित्यकार ढुङ्गानालाई सम्मान गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले प्राज्ञपरिषद् सदस्यसमेत रहेकी ढुङ्गानालाई आफूले सम्मान अर्पण गर्न पाउँदा खुसी लागेको विचार व्यक्त गरे । “राधा कार्कीले आफ्नो प्रगतिको जरो पकडेर सम्मान गर्नु अनुकरणीय कार्य गरेकी छन् । आफ्ना बा–आमालाई सम्झेर कार्कीले यो सम्मान अर्पण गरेकोमा धन्यवाद दिन चहान्छु,” उनले भने “आफ्ना सन्तानको अध्ययनका लागि काठमाडौँ प्रवेश गरेकी कार्कीले त्यो मिसन पुरा गर्दै आफू पनि साहित्यमा काविल बन्नु चानचुने कुरा होइन ।” 

पुरस्कृत ढुङ्गानाले मान्छेका खुसी साना साना कुरामा पनि रहेको हुन्छ भन्दै यो खुसी आफ्नो लागि ठूलो भएको बताइन् । “राधाले आफ्ना माता–पिताको नाममा स्थापना गरेको सम्मान पहिलो पटक पाउँदा मलाई गर्व लागेको छ,” उनले भनिन्, “२८ वर्षअघिको भेट र आशीर्वादले आज राधा कार्की साहित्यको क्षेत्रमा पनि परिचित नाम बन्न पुगेकोमा ज्यादै खुसी लागेको छ ।” कार्कीको लगनशीलता, कर्मठ बानी र सबैसँग हेलमेल हुन सक्ने स्वभावले यो सफलता प्राप्त गरेको उनले उल्लेख गरिन् । उनको प्रगतिमा सानो इँटा थप्न पाउँदा आफूलाई पनि खुसी लागेको उनले बताइन् । क्षमता भएको मान्छेलाई सानो सहयोग गर्दा पनि उन्नति र प्रगतिपथमा पुग्दछ भने सबैले त्यो काम गर्न आवश्यक रहेको उनले बताइन् । पुरस्कार रु. २५ हजार नगदसहित सम्मानपत्र रहेको छ ।

पुरस्कारकी संस्थापक राधा कार्कीले भुवन ढङ्गानाकै प्रेरणाले नै यो स्थान पुग्न सफल भएको बताइन् । उनले भनिन्, ‘उहाँले लेख्नुपर्छ, लेख, राम्रो काम गर भन्नु भयो, त्यसै प्रेरणाले मैले लेख्न थालेकी हुँ ।’ झापाकी नेतृ चेतकुमारी दाहालको स्मरण गर्दै उनले भुवन मेडमको साथ सहयोग र प्रेरणाले आफू यो ठाउँमा रहेको उल्लेख गरिन् । आफूलाई सधैँ आशीर्वाद दिने मान्छेलाई सम्मान गर्न पाउँदा खुसी लागेको पनि उनले सुनाइन् । प्रज्ञा–प्रतिष्ठानजस्तो वौद्धिक, प्राज्ञिक र साहित्यिक संस्थामा बसेर काम गर्न र विद्वानहरुको संगत गर्न पाउँदा गर्व महसुस भएको उनले बताइन् ।

कार्कीका ‘शास्वत आकृति’ कवितासंग्रह, ‘संवाहक’ लघुकथा सङ्ग्रहजस्ता कृति प्रकाशित छन् । उनी नेपाल प्रज्ञा–प्रतिष्ठानकी कर्मचारीसमेत हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप