बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा यसरी टुङ्गियो भागबण्डा, गठबन्धनका नेताहरू उत्साहित

‘६ मध्ये ४ क्षेत्र कांग्रेसलाई, २ क्षेत्र माओवादीलाई दिने सहमति’
बिहीबार, १३ असोज २०७९, १२ : २३
बिहीबार, १३ असोज २०७९

सत्ता गठबन्धनका प्रमुख चार दलबीच मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ वटा कांग्रेसलाई र २ वटा माओवादीलाई दिनेगरी लगभग सहमति जुटेको नेताहरुले बताएका छन् । आसन्न प्रतिनिधिसभाका लागि सत्तारुढ गठबन्धनबीच भागबण्डाका क्रममा मोरङको ६ वटै क्षेत्रबारे सहमति भइसकेको कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले बताए ।

०७४ सालको निर्वाचनमा जसले जितेको क्षेत्र हो, उसैलाई दिने सैद्धान्तिक सहमति भएअनुसार नै मोरङमा सहज रुपमा भागडण्डा टुङ्गिएको लिम्बूले बताए । ‘यसअघि माओवादीले जितेको क्षेत्र नम्बर ४ र ५ उसैले पाउने लगभग सहमति भएको छ,’ लिम्बूले भने, ‘बाँकी ४ वटा निर्वाचन क्षेत्र कांग्रेसको भागमा पर्छ ।’

अझै सकेसम्म थप एउटा सिट आफूहरुले लिने प्रयासमा भने रहेको लिम्बूले बताए ।

माओवादीका पोलिटब्यूरो सदस्य तथा मोरङ इन्चार्ज गोपी बहादुर अछामीले पनि मोरङमा सोही अनुसार बाँडफाँटको टुङ्गो लागेको बताए । ‘अन्तिम रुप दिन भने बाँकी छ, हाम्रो पार्टीले यसअघि जितेको निर्वाचन क्षेत्र नछोड्ने भनेको छ,’ अछामीले भने, ‘कांग्रेसले ४ र माओवादीले २ निर्वाचन क्षेत्र पाउने गरी सहमतिको अन्तिम चरणमा हामी छौं । आज दिनभरिमा सहमति भइसक्छ ।’

यता, जनता समाजवादी पार्टीका नेता तथा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले पनि मोरङको ४ वटा निर्वाचन क्षेत्रमा सहमति भइसकेको र क्षेत्र नम्बर ४ र ५ मा आफूहरुको पनि दाबी रहेको कारण माओवादी र जसपाबीच सहमति हुन बाँकी रहेको बताए ।

‘मोरङको क्षेत्र नम्बर ४ र ५ मा हाम्रो पनि दाबी छ,’ यादवले भने, ‘हामी र माओवादीबीच विवाद मिलेको खण्डमा मोरङमा मिल्छ, कांग्रेसले ४ र ५ नम्बर क्षेत्रमा दाबी छोडिसकेको मैले अनुमान गरेको छु ।’

सहमति भएको खण्डमा मोरङको क्षेत्र नम्बर १ बाट कांग्रेसका डिकबहादुर लिम्बू, २ नम्बर क्षेत्रमा कांग्रेसका डा.मिनेन्द्र रिजाल र सुजाता कोइरालामध्ये एक जना, ३ बाट कांग्रेसका सुनिल शर्मा, ४ बाट माओवादीका अमनलाल मोदी, ५ बाट माओवादीकै शिवकुमार मण्डल र मोरङ क्षेत्र नम्बर ६ बाट कांग्रेस नेता डा. शेखर कोइरालाले एमालेसँग प्रतिस्पर्धा गर्नेछन् ।

एमालेले भने १ नम्बर क्षेत्रमा घनश्याम खतिवडा र शिवमाया तुम्वाहाम्फेमध्ये एक जना, २ बाट ऋषिकेश पोखरेल, ३ बाट भानुभक्त ढकाल, ४ बाट विनोद ढकाल, ५ बाट गयानन्द मण्डल र ६ नम्बरबाट लालबाबु पण्डित र टिकाराम पुरीमध्ये एक जनालाई उम्मेदवार बनाउने सम्भावना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप