शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लघु बीमाको लाइसेन्स माग्दै ३१ कम्पनीले दिए निवेदन

बिहीबार, १३ असोज २०७९, १५ : ३६
बिहीबार, १३ असोज २०७९

३१ कम्पनीले लघु बीमा व्यवसाय गर्नको लागि इच्छा देखाएका छन् । समितिले लघु बीमाको लागि आवेदन माग गरेकोमा सो संख्याका कम्पनीले आवेदन दिएका हुन् । बीमा समितिका अनुसार तोकिएको म्याद (आज अपरान्ह) सम्ममा ३१ कम्पनीले निवेदन दिएका छन् । समितिले गत भदौ १० गते सार्वजनिक सुचना प्रकाशित गरी लघु बीमाको लाइसेन्स लिनको लागि ३५ दिनभित्र निवेदन दिनुपर्ने म्याद तोकेको थियो । समितिले तोकेको म्याद आज अपरान्ह १२ बजे सकिएको हो ।

यसरी निवेदन दिएकामध्ये जीवन बीमा व्यवसाय गर्ने कम्पनीको लागि १५ वटा र निर्जीवन बीमा व्यवसाय गर्नको लागि १६ कम्पनीको निवेदन परेको छ । यस्तो निवेदन पनि निवेदन दिने अन्तिम ३ दिनमा मात्रै परेको हो । समितिका अनुसार म्याद सकिन ३ दिन बाँकी हुँदा ७ वटा कम्पनीले निवेदन दिएका थिए भने म्याद सकिने अघिल्लो दिन थप ३ कम्पनीले निवेदन दिएका थिए । निवेदन दिन पाइने अन्तिम दिन थप २१ कम्पनीले आवेदन दिएका समितिले जानकारी दियो ।

निर्जीवन लघु बीमा कम्पनी
आवेदन दिने कम्पनीहरुमध्ये निर्जीवन बीमा व्यवसाय गर्नको लागि नेओ लाइट माइक्रो (जनरल) इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स, एभरेष्ट माइक्रो इन्स्योरेन्स, एक्प्रेस माइक्रो इन्स्योरेन्स, ट्रष्ट माइक्रो इन्स्योरेन्स, माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स, अल्फा माइक्रो इन्स्योरेन्स, उन्नति माइक्रो जनरल, मुक्तिनाथ जनरल, गरिमा माइक्रो जनरल, सिजी माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो, केयर माइक्रो जनरल र अभियान लघु बीमा कम्पनी गरी १६ वटा छन् ।

जीवन लघु बीमा कम्पनीहरु

जीवन लघु बीमा व्यवसायको अनुमति माग्दै १५ कम्पनीले निवेदन दिएका छन् । यसरी निवेदन दिने कम्पनीहरुमा स्वेदशी लघु जीवन बीमा, जानकी जीवन बीमा कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, उन्नति माइक्रो लाइफ इन्स्योरेन्स, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ लाइफ, गरिमा माइक्रो लाइफ, सिजी लाइफ इन्स्योर माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो लाइफ, क्रिष्ट माइक्रो लाइफ, लिवर्टी माइक्रो लाइफ, श्रीशक्ति लघुवित्त जीवन बीमा कम्पनी, हिमशिखर जीवन लघु बीमा, सुरक्षा लघु जीवन बीमा र स्वर्गद्वारी लघु जीवन बीमा कम्पनी रहेका छन् ।

बीमा समितिले ७ वटा कम्पनीलाई लाइसेन्स दिने गरी निवेदन मागेको थियो । जसमध्ये ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबीमा कम्पनीको लाइसेन्स समितिले दिनेछ । लघु बीमा कम्पनीहरुको चुक्ता पुँजी कम्तिमा पनि ७५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था समितिले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप