बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो ऐतिहासिक कथामा बनेको ‘नालापानी’

बिहीबार, १३ असोज २०७९, १७ : ५०
बिहीबार, १३ असोज २०७९

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज र नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईँमा आधारित भएर निर्माण भएको फिल्म ‘नालापानी’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरले सोही युद्ध सम्झाउँछ । 

तिहारको छेको पारेर ४ कात्तिकबाट प्रदर्शनमा आउन लागेको फिल्म रिमेश अधिकारीले निर्देशन गरेका हुन् । कार्यक्रममा निर्देशक अधिकारीले लामो समय अध्ययन र अनुसन्धान गरेर ९ वर्ष लगाएर फिल्म निर्माण गरेको बताए । उनले फिल्मले नेपाली वीरताको गाथा बोकेकाले सोलो रिलिजको अवसर मिलाइदिन सबैसँग आग्रह समेत गरेका छन् । 

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले ट्रेलर हेर्दा आफ्नो रगत उम्लिएको बताए । ट्रेलरका दृश्यहरु हेर्दा आफू पनि त्यो युद्धमा सिपाहीको रुपमा कतै लडाई लडिरहेको महसुस भएको उनले सुनाए । त्यस्तै नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले ‘नालापानी’ ले चलचित्र विकास बोर्डबाट विशेष सम्मान पाएकाले सोलो रिलिजको अवसर प्रदान गर्नु सबैको दायित्व रहेको बताए । उनले भने, ‘यस्तो खालको फिल्म भविष्यमा बन्द नै होला । इतिहासको विषयमा बनेको यो फिल्म बनाउने आँट गर्नु नै ठूलो कुरा हो । त्यसैले यो फिल्मलाई विशेष प्रदर्शनको व्यवस्था मिलाउनुपर्छ ।’

चलचित्र विकास बोर्डले दुई वर्ष अगाडि विशेष चलचित्र घोषित गरेको ‘नालापानी’ को रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मीनाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, शहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्मस, गंगा नारायण फिल्म प्रोडक्सन र बिजी बी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण फिल्ममा भिएफएक्स अच्युत गजुरेल, छायांकन रामशरण उप्रेती, सम्पादन विपिन मल्ल, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशन कविराज गहतराज, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको छ । फिल्मका एशोसियट निर्माता सपनकुमार थापा, सह–निर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप