शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्सामा भागबण्डा : कांग्रेस खुसी हुँदा जसपामा असन्तुष्टि

चारमध्ये दुई सिटमा कांग्रेस र दुई सिटमा जसपा
बिहीबार, १३ असोज २०७९, २० : २५
बिहीबार, १३ असोज २०७९

आसन्न प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन घटक दलहरुबीच भएको सिट बाँडफाँड करिबकरिब टुङ्गो लागेको छ । जसअनुसार पर्सामा प्रतिनिधिसभा तर्फका चार सिटमध्ये दुई सिटमा कांग्रेस र दुई सिटमा जसपाले उम्मेदवारी दिने भएको छ ।

पर्साको ४ संघीय निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ र २ मा जनता समाजवादी पार्टी (जसपा) ले पाएको छ भने ३ र ४ कांग्रेसको भागमा परेको छ । यसअघि पर्साको क्षेत्र नम्बर १, २ र ३ आफूले पाउनुपर्ने दावी गरेको जसपाले २०७४ मा निर्वाचन जितेको क्षेत्र अहिले छोड्नुपरेको भन्दै गुनासो गरेको छ । तर गठबन्धनकै अर्को घटक कांग्रेस भने भागबण्डाप्रति खुसी देखिएको छ ।

२०७४ को निर्वाचनमा क्षेत्र नं १ मा तत्कालीन संघीय समाजवादी फोरम (हाल को जसपा)को तर्फबाट प्रदीप यादव, क्षेत्र नं २ मा पनि संघीय समाजवादी फोरम नेपालकै तर्फबाट बिमल श्रीवास्तव, क्षेत्र नं ३ मा संघीय समाजवादी फोरम नेपालका तर्फबाट हरिनारायण रौनियार विजयी भएका थिए । क्षेत्र नं ४ मा भने राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट लक्ष्मणलाल कर्ण निर्वाचित भएका थिए ।

जसपाका मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले पर्सामा २०७४ को निर्वाचनमा ३ वटा क्षेत्र जितेकाले आफ्नो पार्टीले पुरानै तीन सिटमा दाबी गरेको स्मरण गराउँदै गठबन्धन हुँदा एउटा सिट घटेको गुनासो गरे ।

‘हामीले जितेको क्षेत्र छोड्नुपर्दा कार्यकर्ता र जनता पूरै आक्रोशित छन्,’ यादवले भने ।

पर्सा क्षेत्र नं ३ मा हरिनारायण रौनियार भ्रष्टाचार मुद्दामा निलम्बित भएपछि सो क्षेत्रमा रौनियारकी छोरीको एकल नाम सिफारिस भएको थियो । मधेस प्रदेश अध्यक्ष   यादवले मधेसको ८ जिल्लामा जसपाले १८ सिट मागेकोमा १३ सिटमात्रै भागमा परेको गुनासो गरे ।

‘हामीलाई संघीय सिटमा भएको क्षति प्रदेशको सिट बाँडफाँटमा पाउनुपर्छ,’ उनले भने ।

२०७४ को निर्वाचनमा मधेसमा संघतर्फ कांग्रेसले ६ सिट मात्रै जितेको थियो । तर, यसपटकको सिट बाँडफाँटमा १२ सिट कांग्रेसको भागमा परेको छ ।

२०७४ को निर्वाचनमा पर्साको ४ वटै क्षेत्रमा दोस्रो स्थानमा रहेको कांग्रेसले यसपटक जसपाकै हाराहारी सिट पाएको छ । जसले गर्दा कांग्रेस भने सन्तुष्ट देखिएको छ ।

नेपाली कांग्रेस पर्सा जिल्ला अध्यक्ष जनार्दन सिंह क्षेत्रीले सञ्चार माध्यममा आएजस्तै पर्साको ४ वटा निर्वाचन क्षेत्रमा जसपा र कांग्रेसबिच ५०/५० प्रतिशतको भागबण्डा हो भने गुनासो गर्ने ठाउँ नभएको बताउँछन् ।

‘पर्साको क्षेत्र नं ३ र ४ कांग्रेसको भागमा परेको हो भने हामी सन्तुष्ट नै छौं तर यो अन्तिम निर्णय हो वा होइन भन्ने जानकारी हामीलाई आएको छैन,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप