शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : गठबन्धनमा सिट बाँडफाँटमा सहमति, डलर महँगीको चेपुवामा अर्थतन्त्र

बिहीबार, १३ असोज २०७९, २० : ४९
बिहीबार, १३ असोज २०७९

आज २०७९ साउन असोज १३ गते बिहीबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

सिट बाँडफाँटमा सहमति

सत्ता गठबन्धनमा सहभागी दलहरुबीच प्रतिनिधि सभा सिट बाँडफाँटमा लगभग सहमति भएको छ । बुधबार रातिसम्म भएको छलफलले एकाध सिटबाहेक सबै क्षेत्र टुंगाएको हो । हालसम्म नेपाली कांग्रेसले ८३ सिट, नेकपा माओवादी केन्द्रले ३६ सिट, नेकपा एकीकृत समाजवादीले १४ सिट, जनता समाजवादी पार्टीले १३ सिट र राष्ट्रिय जनमोर्चाले २ सिट लिने सहमति भएको कार्यदलका एक सदस्यले रातोपाटीलाई बताए । केही क्षेत्रमा नेता व्यवस्थापन गर्नुपर्ने भएकाले सहमति हुन सकेको छैन । अहिले १७ क्षेत्रमा दोहोरो तेहरो दाबी कायमै छ । ती क्षेत्रमासमेत सहमति नजिक भएको ती नेताको दाबी छ । 

डलर महँगीको चेपुवा

गत वैशाख १ गते नेपाल राष्ट्र बैंकमा एक डलर साट्नको लागि १२२ रुपैयाँ १९ पैसा तिर्नुपर्थ्यो  । असोज १३ गते (आज) एक डलर साट्न राष्ट्र बैंक जानुभयो भने १३१ रुपैयाँ ४१ पैसा तिर्नुपर्छ । यो ५ महिना १३ दिनको अवधिमा अमेरिकी डलरको मूल्य प्रतिडलर ९ रुपैयाँ २२ पैसाले बढेको छ ।

लघु बीमाको लाइसेन्स

३१ कम्पनीले लघु बीमा व्यवसाय गर्नको लागि इच्छा देखाएका छन् । समितिले लघु बीमाको लागि आवेदन माग गरेकोमा सो संख्याका कम्पनीले आवेदन दिएका हुन् । बीमा समितिका अनुसार तोकिएको म्याद (आज अपरान्ह) सम्ममा ३१ कम्पनीले निवेदन दिएका छन् । समितिले गत भदौ १० गते सार्वजनिक सुचना प्रकाशित गरी लघु बीमाको लाइसेन्स लिनको लागि ३५ दिनभित्र निवेदन दिनुपर्ने म्याद तोकेको थियो । समितिले तोकेको म्याद आज अपरान्ह १२ बजे सकिएको हो ।

५४० जना डेंगुका नयाँ बिरामी थपिए

पछिल्लो चौबिस घण्टामा देशभर ५४० जना डेंगुका नयाँ बिरामी थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगु बिरामीको संख्या २८ हजार १०९ पुगेको छ ।  बितेको चौबिस घण्टामा डेंगुका कारण थप दुई जनाको मृत्यु भएको छ । योसँगै यसवर्ष डेंगुका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । 

कार्यालयमै दसैँ 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारीका काममा जुट्नुपर्ने भएकाले यो वर्ष निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीले ढुक्कले दसैँ मान्न नपाउने भएका छन् । दसैँको टीकाको दिन समेत कार्यालय खुला रहनेछ भने कर्मचारीलाई टिका लगाएर पालैपालो कार्यालयमा हाजिर हुन भनिएको छ ।   

टीका लगाइदिने

राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने भएकी छन् । उच्च पदस्थदेखि सर्वसाधारण व्यक्तिलाई राष्ट्रपति भण्डारीले बडा दसैंको टीका लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । 

भ्रम सृजना गरियो

स्वतन्त्र उम्मेदवारहरूले विभिन्न दल गठन गरेर स्वतन्त्र अभियानविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् । उनीहरूले वास्तविक स्वतन्त्र अभियानकर्ताहरूले देशमा असफल भइसकेका संघीयता र समानुपातिक निर्वाचन प्रणाली खारेजीको एजेन्डा बोकेपछि आत्तिएकाहरूले स्वतन्त्र नाम लिनेदेखि विगतमा स्वतन्त्रको चिन्ह योजनाबद्ध तरिकाले हडप्ने गतिविधि गरेको भन्दै आपत्ति जनाए । 


नापी कार्यालय धाउनु नपर्ने

बैंक तथा वित्तीय संस्थाहरुले एमोनिया नक्सा सिट वा कम्प्युटर प्रिन्ट नक्सा लिनको लागि नापी कार्यालय धाउनु नपर्ने भएको छ । नापी कार्यालयले डिजिटल प्रणाली मार्फत जग्गाको नापनक्सा तथा जगगा प्रशासन सम्बन्धी सेवा प्रवाह निर्देशिका कार्यान्वयनमा ल्याएपछि यस्तो सम्भव भएको हो ।

कोरोनाभाइरस

हाल देशभर कोरोनाभाइरसका सक्रिय संक्रमित १०७७ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमण निको हुनेको संख्या ७० जना थपिएपछि सक्रिय संक्रमितको संख्या १ हजार ७७ मा सीमित भएको हो । 

चियापान कार्यक्रममा नेताहरुको आक्रोश

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको दाबी गरेका छन् । बिहीवार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप