बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

४० वर्ष पुरानै संरचनाले धान्नेछ नवौँ राष्ट्रिय खेलकुद

शुक्रबार, १४ असोज २०७९, ०९ : ५९
शुक्रबार, १४ असोज २०७९

पोखरामा यही २८ गतेदेखि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिताको तयारी चलिरहे पनि भौतिक संरचनाहरूको स्तर भने निकै कमजोर देखिएको छ ।

खेलकुद प्रतियोगिता हुन केही दिन मात्र बाँकी हुँदा प्रतियोगिताका लागि आवश्यक भौतिक संरचनाले पूर्णता पाएका छैनन् । पार्टी प्यालेसदेखि लिएर होटलको स्वीमिङ पुलमा समेत प्रतियोगिता गर्ने योजना छ ।

त्यस्तै टेबल टेनिस, उसु, कबड्डीजस्ता खेलका लागि पनि संरचनाहरू कमजोर छन् । २०४० सालमा आयोजना भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रयोग भएका संरचनाहरू अहिलेको खेलकुद प्रतियोगितामा पनि प्रयोग भइरहेको तत्कालीन समयका आयोजक समितिका सदस्यको भनाइ छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भनेर राष्ट्रिय खेलकुद परिषद् (राखेप) या प्रदेश खेलकुद विकास परिषद्ले कुनै ठुलो भौतिक संरचना बनाएको छैन ।

हरेक राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेश संरचनामा जानुको एउटा मुख्य कारण भौतिक संरचना पनि हो । भौतिक संरचनाको विषयमा यसअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि चर्चा चलेको थियो । त्यतिबेला अन्तिम समयसम्म भीआईपी प्यारापिट नबन्दा राखेपको आलोचना भएको थियो ।

‘पहिलो पटक पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको थियो । प्रतियोगिताका लागि सबै खेलाडीहरू उत्साहित थिए । हामी पनि उत्साहित थियौँ,’ गुरुङले त्यतिबेलाको स्मरण गर्दै भने, ‘पोखरावासीका लागि नै उक्त प्रतियोगिता विशेष थियो । राजाको सहभागिता हुँदा झनै विशेष बनाइदियो ।’

अहिले पनि फुटबल र क्रिकेटका लागि तयार पारिएको संरचनाहरू पूर्ण रूपमा बनिसकेका छैनन् । महिला क्रिकेट आयोजना हुने ठाउँको आउट फिल्ड चिप्लिने अवस्थाको छ । त्यस्तै पिच मर्मतको काम केही हदसम्म पूरा भएको पिच अप्रेटरहरुले बताए ।

टेबल टेनिसका लागि तीन टेबल राखेर खेलाउने तयारी प्रदेश खेलकुद परिषद्ले गरेको छ । दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजक समितिका संयोजक खेमबहादुर गुरुङले त्यो समयमा रहेका भौतिक संरचनाले नै अहिले काम चलिरहेको बताए ।

उनले रंगशालामा खेलकुद प्रतियोगिता हुँदा अहिले पनि त्यही संरचनामा प्रतियोगिता हुन लागेको बताए । राखेप या प्रदेश खेलकुदले नवौँका लागि संरचनाहरू तयार नपारेको उनको भनाइ छ ।

‘दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा भएका संरचनाहरूमै अहिले ४० वर्षपछि प्रतियोगिताहरू हुँदैछन् । नवौँका लागि भनेर नयाँ भौतिक संरचनाहरू बनाएको मैले देखेको छैन,’ गुरुङले भने ।

पोखरामा आयोजना भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा साबिकका १४ अञ्चलका गरी २ हजार ५०७ खेलाडीको सहभागिता थियो, जसमा १९ वटा खेल खेलिएको थियो ।

उक्त प्रतियोगितामा बागमती अञ्चल प्रथम भएको थियो । ठुलो प्रतियोगिताका लागि पोखराले राम्रो तरिकाको आयोजना गरेको थियो ।

‘राजा नै आउने भन्ने भएपछि हामीले प्रतियोगिताका लागि रंगशालामा मञ्च पनि रातारात बनाएका हौँ । अहिलेको रंगशाला भएको स्थानमा हामीले उद्घाटन र समापनको मञ्च बनाएका थियौँ,’ गुरुङले भने ।

‘पहिलो पटक पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको थियो । प्रतियोगिताका लागि सबै खेलाडीहरू उत्साहित थिए । हामी पनि उत्साहित थियौँ,’ गुरुङले त्यतिबेलाको स्मरण गर्दै भने, ‘पोखरावासीका लागि नै उक्त प्रतियोगिता विशेष थियो । राजाको सहभागिता हुँदा झनै विशेष बनाइदियो ।’

खेलाडी व्यवस्थापन र भौतिक संरचनाको पाटो आफूलाई अझै ताजा रहेको गुरुङले बताए । १४ अञ्चलका खेलाडीहरू नै सहभागिता जनाउने भएपछि आफूहरूले खेलाडीलाई सहज होस् भनेर आवश्यक प्रबन्ध गरेको उनको भनाइ छ ।

उक्त प्रतियोगिताका लागि सबै स्वयंसेवक र संघहरुले पनि निःशुल्क सहयोग गर्न आएको उनले बताए ।

खेलाडीहरू धेरै भएको अवस्थामा व्यवस्थापनमा केही असहजता भए पनि आफूहरूले निकै मेहनत गरेर पूरा गरेको उनी बताउँछन् । त्यतिबेलाका सदस्य–सचिव स्व. शरदचन्द्र शाहले पनि निकै सहयोग गरेको उनले बताए ।

एक रातमा भलिबल कोर्ट बनाउँदा...

दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भलिबल कोर्ट आवश्यक थियो । पोखराको एक क्याम्पसमा भलिबल खेलाउने भन्ने निर्णय भयो । त्यसैको प्रक्रियामा आफूहरू लागेको गुरुङले बताए ।

‘राजा नै आउने भन्ने भएपछि हामीले प्रतियोगिताका लागि रंगशालामा मञ्च पनि रातारात बनाएका हौँ । अहिलेको रंगशाला भएको स्थानमा हामीले उद्घाटन र समापनको मञ्च बनाएका थियौँ,’ गुरुङले भने ।

अन्य खेलकुदका लागि भने प्रतियोगितामा केही समस्या नभएको उनले बताए । तर, पहिलो पटक आयोजना भएको प्रतियोगिताले पोखरामा खेलकुदको संरचनामा धेरै सुधार आएको उनको भनाइ छ ।

दोस्रो खेलकुदले पोखरामा पर्यटनलाई उत्साह जगायो

पोखरामा २०४० साल पहिले पर्यटनको विषयमा धेरै चर्चा भएको थिएन । दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितापछि भने पर्यटनमा धेरै सुधार आयो ।

‘आन्तरिक पर्यटक पोखरामा धेरै थिएनन् । तर, दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितापछि भने केही परिवर्तन आएको मानिन्छ । बाह्य पर्यटकमा पनि पोखराको विषयमा नयाँ ज्ञान आएको हामीलाई लाग्छ,’ गुरुङले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप