शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डेंगु संक्रमण भयावह हुने जोखिम, तीनै तहका सरकारको प्राथमिकतामा परेन

शुक्रबार, १४ असोज २०७९, १० : २६
शुक्रबार, १४ असोज २०७९

डेंगुको प्रकोप लगातार बढिरहँदासमेत यसको नियन्त्रण र रोकथामको विषय सरकारको प्राथमिकतामा परेको छैन । साउन महिना यता डेंगु संक्रमित संख्या साढे २७ हजार नाघ्दासमेत केन्द्र सरकारदेखि प्रदेश र स्थानीय सरकारले डेंगु नियन्त्रणमा गम्भीर चासो नदेखाएका हुन् ।

साउन महिना यतामात्रै डेंगुका कारण ३६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित दर घट्दै गएकोमा राहत महसुस गर्न नपाउँदै डेंगु संक्रमण दरले जनमानसमा त्रास सिर्जना गरिरहेको छ । डेंगु संक्रमण रोकथाम तथा  नियन्त्रणमा तीनै तहका सरकारले ध्यान नदिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनी बताउँछन् ।

पछिल्ला १० दिनको आंकडालाई केलाउँदा दैनिक डेंगु संक्रमितको दर दैनिक एक हजार जनाभन्दा बढी छ । दैनिक एक हजारको हाराहारीमा डेंगु संक्रमित हुँदा कोरोनाभाइरस कोभिड–१९ संक्रमित भने दैनिक ३८ देखि ९० जनासम्म पाइएको छ ।

सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणलाई जति प्राथमिकता दिएको छ, दैनिक हजारौँ जना डेंगु संक्रमित हुँदासमेत डेंगु नियन्त्रणलाई भने त्यति प्राथमिकता दिएको छैन । सरकारले अझै पनि डेंगुको तुलनामा कोरोनालाई प्राथमिकता दिएको जनस्वास्थ्य विज्ञहरु सुनाउँछन् । जबसम्म १५ डिग्री सेल्सियस तापक्रम हुँदैन, तबसम्म डेंगुका बिरामी देखिरहने विज्ञहरुको भनाइ छ ।

‘इपिडिमियोलोजीले के भन्छ भने रोग सुरु भएको केही समयै तत्काल इन्ट्रोभेन्सन गरौं भन्छ,’ मरासिनीले भने, ‘कुनै पनि सरुवारोग देखिएको सुरुवाती चरणमै कसैैको पनि ज्यान नगुमाइकन, थोरै पैसाले अत्यान्त प्रभावकारी ढङ्गबाट नियन्त्रणमा गर्न सकिन्छ तर, त्यस्तो भएन । रोग फैलिएको धेरै समयपछि इन्ट्रोभेन्सन गर्दा धेरै नोक्सान हुने, मानिस बिरामी पर्ने, धनजनको क्षति हुने गर्छ ।’

इडीसीडीले डेंगु संक्रमित देखिनेबित्तिकै सुरुवाती समयमा काम नगर्दा अहिले समस्या देखिएको उनले बताए ।

अब तीनै तहका सरकार सक्रिय रुपमा डेंगु नियन्त्रणका लागि लाग्नुपर्ने इपिडिमियालेजी तथा रोग नियन्त्रणका पूर्व निर्देशक डा. जीडी ठाकुरले पनि बताए । उनी भन्छन्, ‘सुरुवाती चरणमा डेंगु देखिएको स्थानमा नियन्त्रणमा नलाग्दा घरघरमा डेंगुको संक्रमण पुगेको छ ।’

डेंगु रोकथामका लागि दीर्घकालीन कार्यक्रम जरुरी

पूर्वनिर्देशक डा.मरासिनीले जाडो सुरु भएपछि क्रमशः डेंगुका बिरामी कम हुँदै जाने बताए । तर त्यसपछि टाउको हलुको भयो भनेर सम्बन्धित निकाय बस्न नहुने उनको भनाइ छ । दीर्घकालीन ठोस योजना नहुँदा वर्तमान स्थिति सिर्जना भएको उल्लेख गर्दै उनले नेपालमा डेंगु फैलन नदिन दीर्घकालीन योजना बनाएर प्राथमिकताका साथ अगाडि बढ्नुपर्ने बताए ।

‘रातिराति आवाज निकालेर टोक्ने लामखुट्टेले मलेरियामा मात्रै सार्छ । त्यो लामखुट्टे घरभित्र औषधि छर्किदियो भने मर्छ,’ उनले भने, ‘भित्तामा बस्ने बित्तिकै मर्छ तर एडिस जातको लामखुट्टेको व्यवहार फरक भएकाले समस्या सिर्जना भएको हो । घरबाहिर बाहिर डेंगु सार्ने लामखुट्टेले टोक्ने गर्छ । डेंगु सार्ने लामखुट्टेले बग्ने पानीमा फुल पार्दैन, जमेको पानीमा फुल पार्छ ।’

अहिले डेंगु संक्रमण यसरी ह्वात्तै बढ्नु भनेको अर्को वर्ष डेंगु संक्रमण झन् भयावह हुने संकेत भएको डा.मरासिनी बताउँछन् । तराईतिर अझै केही महिनासम्म लामखुट्टे देखिने र पहाडी तथा हिमाली क्षेत्रमा बिहान र साँझ सताउने उनले बताए ।                                   

सरकारले अझै एक महिना डेंगुलाई महामारीको रुपमा घोषणा गरेर विशेष प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । सक्रिय रुपमा डेंगु नियन्त्रणका लागि लाग्नुपर्ने उनको भनाइ छ ।

झाडीमा लामखुट्टे मार्दैमा नियन्त्रण हुँदैन

केही स्थानीय तहले झाडीझाडीमा बसेका लामखुट्टेलाई नष्ट गर्ने अभियान चलाएको तर त्यो प्रभावकारी नहुने चिकित्सकहरु बताउँछन् । भाले लामखुट्टेले झारको रस खाए पनि बाँच्छ । पोथी लामखुट्टेले अण्डा पार्नका लागि मानिस र जनावरको रगत खाएर बाँच्ने भएकाले केही ठाउँका झाडीका लामखुट्टेलाई नष्ट गरेर डेंगु नियन्त्रणमा नआउने डा. मरासिनीले बताए ।

यसरी झाडीमा औषधि राख्दा मौरी, गड्यौला तथा अन्य किरा– फट्याङ्ग्रा नष्ट हुँदा वातावरणीय असर गर्ने डा.मरासिनीले बताए । उनले भने, ‘लामखुट्टे एक महिनामात्रै बाच्छ । डेंगु सार्ने लामखुट्टेले फुल पार्ने ठाउँबाट बन्ने नयाँ लामखुट्टेलाई कसरी निष्क्रिय पार्ने भन्नेतर्फ लाग्नु पर्छ ।’

बजारमा डेंगु फैलाउने लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने किटनाषक औषधि भित्रिएकाले अब डेंगुको प्रकोपलाई कम गर्न सक्ने आशा जागेको पूर्व निर्देशक डा. ठाकुर सुनाउँछन् ।

बायोडाट एम नामक किटनाषक औषधिले डेंगु फैलाउने लामखुट्टेको लार्भा र प्युपालाई नष्ट गर्ने उनले बताए । यस्तै, इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखामा संकलन गरिएका लार्भामा प्रयोग गर्दा परीक्षण सफल भएको अजय बायोटेक भारतका नेपाल प्रतिनिधि रुनाल तामाङले बताए ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक अच्युत अधिकारीले लार्भा भएको पानीमा बायोडाट एम औषधि राख्दा लार्भाले खाने र पचाउन खोज्दा एक प्रकारको टक्सिड निस्किएर लार्भा मर्ने बताए ।

तीन तहका सरकारले चासो दिएनन्

संघीय सरकार, सात वटा प्रदेश सरकार, ७५३ स्थानीय तहले डेंगु प्रकोपको रुपमा फैलिँदा समेत यसको नियन्त्रणलाई प्राथमिकता नदिएका कारण अस्पताल र घरघरमा डेंगुका बिरामी बढेको डा. मरासिनी बताउँछन् ।

‘जनतालाई कसरी सहजता दिने भनेर सम्बन्धित निकाय गम्भीर भएको छैन । डेंगु परीक्षणका लागि मात्रै अस्पताल अनुसार एक हजार दुई हजारसम्म शुल्क जनताले तिरिरहेका छन् । पटकपटक डेंगु परीक्षण गर्नुपर्ने हुन्छ । परीक्षणमा पनि कुनै सहुलियत छैन,’ उनले भने, ‘भर्ना भएका बिरामीले ५ हजारदेखि एक लाखभन्दा बढी खर्च गरे पनि सरकारले ध्यान दिएको छैन ।’

केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा डेंगु सार्ने लामखुट्टे फैलिएको डा.मरासिनी सुनाउँछन् । ‘स्थानीयले प्रदेशको, प्रदेशले केन्द्रको मुख ताक्ने, केन्द्रले जनचेतना फैलाउने र लार्भा नष्ट गर्ने काम स्थानीय तहको भन्दै बसेकाले जटिल अवस्था सिर्जना भएको हो,’ उनले भने, ‘सरकारी निकायबीच कत्ति पनि समन्वय भएन, कोरोनालाई अझै पनि प्राथमिकता दिएको देखिन्छ तर, डेंगुलाई दिएनन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप