बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मधेसमा माओवादी विवाद : प्रचण्डले नै सबै जिल्लाबाट सिधै रिपोर्टिङ लिने

मातृका यादव र गिरिराजमणि पोखरेललाई साथ हिँड्न निर्देशन
शुक्रबार, १४ असोज २०७९, ११ : २३
शुक्रबार, १४ असोज २०७९

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको मधेस प्रदेशको अवस्थाबारे जिल्ला तहबाटै रिपोर्टिङ लिने भएका छन् । मधेस प्रदेश कमिटी बन्न नसकेपछि मधेसका ८ जिल्लाको चुनावी गतिविधि र पार्टीका अन्य काम कारबाही प्रचण्डले सिधै जिल्लाबाट लिने भएका हुन् ।

आगामी मङ्सिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा चुनावको अवधिभर प्रचण्डले मधेसका ८ जिल्लाको अवस्थाको सिधै केन्द्रबाट हेर्ने पार्टीका पोलिटब्यूरो सदस्य विश्वनाथ साहले बताए । ‘पार्टीले मधेस प्रदेश कमिटी बनाउन सकेन । प्रदेशसभा र प्रतिनिधिसभा चुनाव आइसक्यो । अब प्रदेश कमिटी बनाउन सक्ने अवस्था पनि छैन,’ साहले भने, ‘अब मधेसका ८ जिल्लाको रिपोर्टिङ प्रचण्डले सिधै हेर्नुहुने छ, ती जिल्लाको निर्वाचन अवस्था, उम्मेदवार फाइनल लगायत सबै गतिविधि हेर्नु हुनेछ ।’

जिल्ला कमिटी बनिसकेकाले त्यहीँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, पोलिटब्यूरो र स्थायी समितिसमेत सहभागी भएर पार्टीको काम गर्न निर्देशन दिइएको छ । ‘प्रदेश कमिटी नबने पनि जिल्ला कमिटी सबै जिल्लामा बनेका छन् । त्यो बैठकमा केन्द्रीय सदस्य, पोलिटब्युरो र स्थायी समिति तथा आवश्यक पर्दा पदाधिकारी पनि बस्न सक्नु हुने भयो । उहाँ सबै बसेर पार्टीको यथार्थ अवस्था सिधै केन्द्रमा रिपोर्टका साथ पुग्ने भयो,’ साहले भने, ‘अब प्रदेश कमिटी नबन्दा पनि पार्टीको चुनावी परिणाममा असर पर्दैन । सबै काम जिल्ला कमिटीले सक्रिय भई गर्नेछ ।’

मातृका यादव र गिरिराजमणि पोखरेललाई साथ हिँड्न निर्देशन

पार्टी अध्यक्ष प्रचण्डले मधेसबाट प्रतिनिधित्व गर्ने दुई हस्ती गिरिराजमणि पोखरेल र मातृका यादवलाई मधेसका हरेक कार्यक्रममा सँगसँगै हिँड्न निर्देशन दिएका थिए । यादव र पोखरेल बीचको अन्तरद्वन्द्वका कारण समग्र मधेसमै पार्टीलाई धक्का लागेको निष्कर्ष निकाल्दै मधेसका कार्यक्रममा सँगसँगै हिँड्न निर्देशन दिइएको हो ।

गत साउन २० गते स्थायी समिति सदस्यद्वय यादव र पोखरेललाई  खुमलटार बोलाएर छलफल गरेका प्रचण्डले दुवैलाई एक ढिक्का भएर हिँड्न आग्रह गरेका थिए । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई समेत सँगै राखेर छलफल गरेका प्रचण्डले यदि कुनै नेताको मन मस्तिष्कमा आग्रह पूर्वाग्रह भए त्यसलाई त्यागेर मधेसका ८ जिल्लाको संगठन परिचालनमा केन्द्रित हुन आग्रह गरेका थिए ।

प्रचण्डको निर्देशनपछि उनीहरूले मधेसका पर्सा र सर्लाही जिल्लामा पुगेर पार्टीका अगुवा नेता कार्यकर्तालाई चुनावमा केन्द्रित हुन निर्देशनसमेत दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप