शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेत उपत्यकामा खानेपानीका लागि पहिरोको चुनौती

शुक्रबार, १४ असोज २०७९, १२ : २७
शुक्रबार, १४ असोज २०७९

सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा खानेपानीको सङ्कट गहिरिँदो छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले अहिले एक दिनको अन्तरमा उपभोक्ताको धारामा पानी उपलब्ध गराउँदै आएको छ । वीरेन्द्रनगरमा वर्षातको समयमा ‘छेलोखेलो’ गरेर उपभोक्ताका धारामा पानी आउनुपर्ने थियो । 

कर्णाली प्रदेशको राजधानीसमेत रहेको उपत्यकाले खानेपानीको उच्च सङ्कट व्यहोरिरहेको छ । बर्सेनि पहिरोले खानेपानीको मुख्य प्रसारण लाइन बगाउँदा उपत्यकामा खानेपानीको उच्च सङ्कट हुने गरेको हो । अन्य समयमा समेत खानेपानीको हाहाकार हुने उपत्यकाको खोनपानीका लागि पहिरो थप चुनौती बनेको छ । 

पहिरोका कारण हरेक वर्ष पाइप लाइनसँगै खानेपानीका अन्य संरचनामा क्षति पुर्याउँदा सेवा प्रवाहमा चुनौती भइरहेको उक्त संस्थाका अध्यक्ष कूलमणि देवकोटाले बताए । उनले यस वर्ष पनि पहिरोले मुख्य पाइप लाइनमा ठूलो क्षति पुर्याएको जानकारी दिए। 

“पहिरोले खानेपानीका संरचना बिग्रिँदा बर्सेनि ठूलो क्षतिसँगै सेवा प्रवाहमा समस्या हुन्छ”, अध्यक्ष देवकोटाले  भने, ‘‘झुप्रा खोलाबाट ल्याएको मुख्य प्रसारण लाइनमा पहिरोले क्षति पुर्याएपछि केही दिनयता उपत्यकाको खानेपानी वितरणमा कठिनाइ भइरहेको छ । यही असोज २ गते राति गएको पहिरोले वीरेन्द्रनगर–१३ स्थित भञ्ज्झ्याङमा १६ मिटर पाइप लाइन बगाएको थियो ।” 

पहिरोले उक्त स्थानमा तीन सय एमएमको डिआइ पाइप र अन्य संरचना भत्काएको थियो । उक्त ठाउँमा अहिले एचडिपिइ पाइप जडान गरेर पानी ल्याउने प्रयास भइरहेको छ । मुख्य पाइप लाइन नै पहिरोले बगाएपछि १० दिनयता विकल्पका रूपमा संस्थाले खुर्सानीबारी खोलाबाट सुर्खेत उपत्यकामा पानी आपूर्तिको व्यवस्था मिलाएको छ । 

“मुख्य प्रशारण लाइन मर्मत भइरहेको छ, मुख्य पाइप लाइन सञ्चालन नभएसम्मका लागि वैकल्पिक व्यवस्था गरेका छौँ । उपभोक्तालाई खानेपानी पुर्याउन वैकल्पिक उपायका रुपमा केही दिनका लागि खुर्सानीबारी खोलाबाट पाइप लाइनमा पानी हालिएको छ”, उनले भने, “त्यसबाट प्रतिसेकेन्ड ५० लिटर पानी आइरहेको छ ।” 

प्रतिसेकेन्ड ८६ लिटर पानी आपूर्ति भइरहेको पाइपलाइन पहिरोले फाल्दा मर्मतमा मात्रै झन्डै पाँच लाख खर्च हुने देखिएको अध्यक्ष देवकोटाले बताए । भिरालो भू–बनोटबाट खानेपानीको लाइन ल्याइएकाले पहिरोले फालेका संरचना निर्माणमा प्रत्येक वर्ष रु पाँच÷सात लाख खर्च हुने गरेको छ

भिरालो जमिनका कारण बर्सेनि पहिरोले संरचनामा क्षति गर्दै आएको संस्थाका संस्थाका इञ्जिनीयर बालाराम तिवारीको भनाइ थियो । उनका अनुसार हाल क्षति भएको मुख्य प्रसारण लाइनको मर्मत सकिए पनि त्यसमा पानी सञ्चालन गर्न भने अझै केही दिन लाग्ने छ । मुहानमा समेत पहिरोले क्षति पुर्याएको छ । 

त्यहाँसम्म मर्मतका लागि पुग्न र सामग्री ओसार्न पहुँच मार्गमा पनि ठाउँठाउँमा गएको पहिरो पन्छाउने काम भइरहेको इञ्जिनीयर तिवारीले जानकारी दिए । “ती सबै अवरोध हटाएर आगामी शुक्रबारसम्म मुख्य लाइनमा पानी हाल्ने तयारी छ”, उनले भने, “खानेपानीको सङ्कट रहेकैबेला पहिरोले संरचनामा क्षति गर्दा सेवा प्रवाहमा चुनौती भएको छ ।”

अन्य समयमा पनि सुर्खेत उपत्यकामा पर्याप्त खानेपानी छैन । यहाँ बढ्दो जनसङ्ख्यासँगै खानेपानीको सङ्कट चुलिँदै गएको छ । हिउँदमै पानीको हाहाकार हुन्छ । झन्डै तीन लाख जनसङ्ख्या रहेको उपत्यकामा मागअनुसार पानी पुग्दैन । पहिले सुक्खा समयमा मात्रै खानेपानीको समस्या हुने उपत्यकामा अहिले बर्सातमै हाहाकार मच्चिन्छ ।

सुर्खेत उपत्यका खानेपानी संस्थाका अनुसार औसतमा प्रतिव्यक्तिले एक सय २० लिटर दैनिक पानी खपत गर्ने हिसाबले उपत्यकामा दैनिक तीन करोड ३६ लाख लिटर पानी आपूर्ति हुनुपर्छ । बर्सातका समयमा दैनिक एक करोड २७ लाख लिटर पानी आपूर्ति गर्नसक्ने क्षमताका मात्रै संरचना छन् । बर्सातमा औसत ४९ लाख लिटर पानी आपूर्ति हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप