बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड चितवनबाट लड्लान् कि गोरखा ?

शुक्रबार, १४ असोज २०७९, १९ : ५९
शुक्रबार, १४ असोज २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्रलाई लिएर बारम्बार चर्चा भइरहेको छ ।  प्रचण्ड चितवन, गोरखा, बागलुङसहित आधा दर्जन जिल्लाबाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस भएका छन् । तीमध्ये माओवादीको पकड भएको गोरखाबाटै चुनाव लड्ने आकलन छ । 

चितवन ३ बाट प्रतिनिधित्व गर्ने प्रचण्डलाई पुनः निर्वाचित हुन कठिन हुने देखिएपछि अन्तिममा गोरखाबाट लड्न सक्ने बताइएको छ । प्रचण्डले गोरखाको आरु घाटमा तीन वर्षसम्म शिक्षण पेशा गरेको र माओवादीको राम्रो प्रभाव भएकोले उनी उतै जानसक्ने आकलन गरिएको छ । चितवनमा माओवादीभन्दा कांग्रेस र एमाले बलियो छ । कांग्रेसले प्रचण्डलाई  दरो साथ दिएपनि एमालेसहित राप्रपा मिलेर गाह्रो पार्न सक्ने विश्लेषण छ ।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत सोही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेपछि प्रचण्डविरुद्ध ठुलो माहोल बन्नसक्ने आकलन छ । चितवनको सबै परिस्थितिलाई विश्लेषण गर्दा प्रचण्ड सुरक्षित नहुने भएकाले गोरखा जान सक्ने टिकाटिप्पणी हुन थालेको छ । तर, प्रचण्डले बारम्बार आफू चितवनबाटै चुनाव लड्ने प्रष्टिकरण दिने गरेका छन् ।

उनले चितवनबाटै चुनाव लड्ने भन्दै शिवनगरमा आफ्नै घर समेत बनाएका छन् । केही दिनअघि गृह प्रवेशका बेला उनले आफू ४० वर्षपछि आफ्नै गृहजिल्ला आएको भन्दै जनताको काखमा रमाउने समेत बताएका थिए ।

माओवादी चितवन जिल्ला अध्यक्ष आरसी अधिकारीले प्रचण्ड सतप्रतिशत चितवनबाटै चुनाव लड्ने जिकिर गरे । ‘अध्यक्ष प्रचण्ड चितवनबाटै चुनाव लड्नुहुन्छ । चितवनबाट छोडेर अन्त जाने कल्पना समेत गर्न सकिँदैन । सिएम चितवनमा हार्ने र निर्वाचन क्षेत्र छोडेर जाने विरोधीले चलाएको हल्ला मात्रै हो’ रातोपाटीसँग कुरा गर्दै अधिकारीले भने, ‘अरुले उहाँको क्षेत्रमा उम्मेदवार तय गर्न नसकेको अवस्थमा सिएमले हार्नुहुन्छ भन्नु मूर्खता हो । सिएम चितवनबाटै चुनाव लड्नहुन्छ र चुनाव जितेर देखाउनुहुन्छ ।’ प्रचण्डले चितवनबाटै चुनाव लड्ने बारम्बार प्रष्टिकरण दिइरहेकाले थप चर्चा गर्नु अर्थ नभएको अधिकारीले बताए ।

‘अस्तिको भिजिटमा सिएमले यहीँबाट चुनाव लड्ने भन्नुभएको छ । त्यसै अनुसार पार्टी कमिटीलाई परिचालन गरेका छौ । पार्टीले त्यसैअनुसार आफ्नो गतिविधि बढाएको छ ’ अधिकारीले भने । यस्तै प्रचण्डको सचिवालयका एक सदस्यले प्रचण्ड चितवनबाटै चुनाव लड्ने बताए ।

सिएमको निर्वाचन क्षेत्रका विषयमा धेरै टिकाटिप्पणी हुने गरेको छ’ ती सदस्यले भने, ‘उहाँ चिनवबाटै चुनाव लड्नुहुन्छ । त्यहीँबाट निर्वाचित हुनु हुनेछ । त्यसमा ढुक्क हुनुहोस् ।’ उता, माओवादी गोरखा जिल्ला अध्यक्ष विष्णु भट्टले अध्यक्ष प्रचण्ड गोरखाबाट चुनाव लड्न लागेको विषयमा केही जानकारी नभएको प्रतिक्रिया दिए ।

‘सिएम गोरखाबाट चुनाव लड्न लागेको विषयमा मलाई थाहा छैन ।  हामीलाई थाहा हुने कुरा भएन ’ भट्टले भने, ‘उहाँ आउने भएमा हामीले पार्टीको निर्णय कार्यन्वयन गरेर नजाने भन्ने हुँदैन ।’ प्रचण्डले उम्मेदवारी दर्ता नगर्दासम्म उनको निर्वाचन क्षेत्रलाई लिएर निरन्तर टिकाटिप्पणी हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप