बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लाल मोहम्मद प्रकरण : वीरगञ्जमा भारतीयले दिए पेस्तोल, दुई युवकले काठमाडौं ल्याए

पक्राउ परेका एकजनालाई काठमाडौं ल्याइँदै
शुक्रबार, १४ असोज २०७९, १५ : ०८
शुक्रबार, १४ असोज २०७९

मोहम्मद दर्जी उर्फ लाल मोहम्मद हत्यामा संलग्न आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ भिस्वा घर भएका रेहान खान, मेहरन मियाँ र आफुलाई सुमी भनेर चिनाउने सुमित्रा छिन् ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । पक्राउ पर्नेहरूले लाल मोहम्मदलाई हत्या गर्नुअघि हतियार व्यवस्थापन गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पर्साबाट पक्राउ परेका रेहान खानलाई प्रहरीले काठमाडौं ल्याउँदैछ ।

मेहरन र रेहानलाई एकजना भारतीय नागरिकले वीरगञ्जमा दुई थान पेस्तोल दिएका थिए । सो पेस्तोल काठमाडौं ल्याएर ‘सुटर’ लाई दिएको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । दुईजना सुटरले गोली हानेर गोठाटारमा असोज ३ मा लाल मोहम्मदलाई  हत्या गरे ।

मोहम्मदको हत्या भएको अघिल्लो दिन (२ असोज) मा दुई युवक काठमाडौंबाट बस चढेर तराई फर्केको अनुसन्धानबाट थाहा भएको छ । काठमाडौंमै रहेकी सुमित्रा नाम गरेकी युवतीले मोहम्मदको निगरानी गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् । सुमित्रा लागुऔषध प्रयोगकर्ता पनि हुन् ।

कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ २ जनाले गोली हानेर भागेका थिए । हत्याको योजना भारतीय नागरिक नितेन मदनले बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । नितेन फरार छन् ।

प्रहरीका एकजना उच्च अधिकारीकाअनुसार  भारतीय अन्डरवर्ल्ड डन बब्लु श्रीवास्तवको निर्देशनमा नितेनले हत्या योजना बनाएको खुलेको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप