बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको निर्यात सम्भावना वार्षिक १० खर्ब : विश्व बैंक

शुक्रबार, १४ असोज २०७९, २० : ०४
शुक्रबार, १४ असोज २०७९

नेपालले हालको भन्दा आठ गुणा बढी निर्यात गर्न सक्ने सम्भावनालाई गुमाइरहेको एक अध्ययनले देखाएको छ । विश्व बैंकले गतवर्ष सार्वजनिक गरेको एक प्रतिवेदनले अध्ययनमा समावेश भएका करिब ५० मुलुकमध्ये सबैभन्दा सम्भावना खेर फालिरहेको देश नेपाल रहेको देखाएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेलाले नेपालको लागि अभैm सम्भावना रहेको प्रस्तुति गरेका थिए । नेपालसँग ९.२ अर्ब डलर निर्यात गर्न सक्ने क्षमता रहेको उनको भनाई छ ।

नेपालको निर्यात क्षमतालाई गत आर्थिक बर्षको निर्यातसँग तुलना गर्ने हो भने आठ गुणा बढि सम्भावना देखिएको छ । व्यापार घाटा निरन्तर बढिरहेका बेला यो अध्ययनले सम्भावना देखाएको छ ।  नेपालको निर्यात सम्भाव्यता विषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अर्थशास्त्री भरेलाले नेपालसँग एकै दिन विश्व व्यापार संगठनको सदस्य भएको अति कम बिकसित मुलुक कम्बोडिया, लाओस जस्ता देशले निर्यात बढाउन सकेको हुँदा नेपालको सम्भावना रहेको बताए । 

एउटै खालकोे भौगोलिक अवस्था भएको लाओसको सन् १९९९ अगाडिसम्म निर्यातमा, लगभग आधा कृषि उत्पादनहरू, आधा कपडा र बाँकी थोरै अंश, केही खनिज र अन्य उत्पादनहरू थिए । तर सन् २०१९ कोभिड पूर्व ठूलो परिवर्तनका साथ निर्यातमा कृषि र कपडालाई जारी राख्दै इलेक्ट्रोनिक्स, रबर र रसायनमा आधारित वस्तुहरू, विद्युतीय ऊर्जा थप्न सफल भयो । जसले लाओको अर्थतन्त्रलाई निकै माथि लान सफलता मिलेको बताइएको छ ।

सोही समयमा नेपाललाई हेर्दा कपडा निर्यात पहिलो नम्बरमा थियो । त्यसपछि कृषि र अन्य रसायनमा आधारित वस्तुहरु थिए । त्यसको २० वर्ष पछिसम्म पनि नेपालको निर्यातयोग्य वस्तुहरु विविधिकरण हुन सकेनन् ।  महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र विप्रेषणरुपी एउटा मात्र इन्जिनबाट चलेकाले सावधानीपूर्वक समग्र निर्यात प्रवद्र्धनमा काम गर्नुपर्नेमा जोड दिए । अर्थतन्त्रको आधार मजबुत बनाउन नसके जतिबेला पनि इन्जिन फेल हुन सक्ने खतरा रहेको उनको भनाई छ ।

‘हामीले हाम्रै स्रोतमा आधारित वस्तुहरु निर्यात गर्ने क्षमता राख्नुपर्छ, यसमा सरकारले निजी क्षेत्रले दिएका सुुझावहरुको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा हाम्रो जोड छ,’ अध्यक्ष गोल्छाले भने । उद्योग सचिव डा.तोयानारायण ज्ञवालीले मुलुकभित्र भित्रिएको विप्रेषणलाई देशभित्रै बचाएर राख्न नसकेको यथार्थता राख्दै यसका लागि थुप्रै काम गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।

निजी क्षेत्रलाई प्रोत्साहित गर्ने कार्यमा मन्त्रालय निरन्तर लागिरहेको र महासंघले अर्थतन्त्रको विस्तार, रोजगारी सृजना, व्यापार घाटा न्यून गर्ने उद्देश्यले ल्याएको भिजन पेपरको कार्यान्वयनका लागि सहकार्य भएको सचिव ज्ञवालीले जानकारी दिए । 

योजना आयोगका सदस्य डा.रामकुमार फ्यालले उत्पादनशील उद्योगहरु मै लाग्ने नीति अनुरुप पूर्वाधारहरु पनि तयार भैरहेको भन्दै सरकारको नीति पनि आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन नै भएको आफूले पाएको र योजना आयोगले पनि सरकारलाई सोही अनुसार सल्लाह दिएको बताए ।

महासंघका उपाध्यक्षद्वय अन्जन श्रेष्ठ र रामचन्द्र संघईले विश्व बैंकका तर्फबाट प्रस्तुुत कार्यपत्र नेपालका लागि निकैनै उर्जा दिने खालका देखिएकाले उक्त सुझाव अनुसार निर्यात प्रवद्र्धनमा सरकार निजी क्षेत्र आजैदेखि लाग्नुपर्नेमा जोड दिए । 
महासंघको निर्यात प्रवद्र्धन समितिका सभापति मनिषलाल प्रधानले कार्यपत्र प्रस्तुत गर्दै नेपालबाट निर्यात हुने वस्तुहरूको थप पहिचान एवं प्रवर्द्धन गर्नुपर्ने, अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाको स्थापना यथाशीघ्र गरिनुपर्नेमा जोड दिए ।
निर्यात प्रोत्साहन सुविधा सहज रुपमा पाउने व्यवस्था हुनुुपर्ने, अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको निकासी बढाउनका साथै सहज र भरपर्दो रूपमा भुक्तानी प्राप्त गर्नको लागि अनलाइन भुक्तानीको व्यवस्था हुनपर्ने, नेपाली कृषि उत्पादनमा बंगलादेश सरकारले लिंदै आएको चर्को भन्सार महसुल हटाउनेतर्फ सरकारले अबिलम्ब पहल गर्नुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा सहभागी निर्यात व्यवसायसँग सम्बन्धित व्यवसायीले निर्यातमा नगद अनुदानको व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने, नगद अनुदान सम्बन्धी कार्यविधि तयार गर्दा निजी क्षेत्रसँग पर्याप्त छलफल गर्नुपर्ने, कपास खेतीमा जोड दिनुपर्ने लगायतका सुझाव दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप