शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दसैंमा मासु : पशुपंक्षी स्वस्थ भए नभएको कसरी थाहा पाउने ?

मासु काट्दा पनि ध्यान दिनुपर्ने
शुक्रबार, १४ असोज २०७९, १५ : ०१
शुक्रबार, १४ असोज २०७९

दसैं र मासु एकअर्काको पर्यायझैं लाग्छ । किनकि अन्य चाडपर्वमा भन्दा दसैंमा मासुको खपत दोब्बर हुन्छ । बडादसैं नजिकिएसँगै मासुका लागि जिउँदो पशुपन्छी खरिद गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने पशु सेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकाल बताउँछन् ।

रोग लागेका पशुपन्छीको नजिकै जाँदा विभिन्न किसिमका रोग सर्ने पशु चिकित्सक ढकालको भनाइ छ । त्यस्तै, राम्रोसँग मासु नपकाइ खाँदा पनि विभिन्न किसिमका रोग लाग्ने डा. ढकाल बताउँछन् ।

जस्तो कि कुनै पशुमा टीबी लागेको छ भने त्यसको मासु सही तरिकाले नपकाइ खाँदा सो रोग मानिसमा समेत सर्न सक्छ । कुनै बाख्रामा तुहिने समस्या छ भने त्यसको मासु राम्रोसँग नपकाइ खाएमा मानिसमा पनि बाँझोपन, गर्भपतनको समस्या देखिन सक्ने डा ढकालको तर्क छ ।  

त्यसोत बजारमा मासुका लागि आउने खसीबोका, राँगोभैँसीको अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गर्ने गरेको पशु सेवा विभागको दाबी छ । तथापि मासुका लागि किनिने पशुपक्षी स्वस्थ छन् कि छैनन् भनेर खरिदकर्ताले पनि ध्यान दिनुपर्ने हुन्छ ।

पशुपन्छी अस्वस्थ भएको कसरी थाहा पाउने ? 

अस्वस्थ पशुपंक्षी झोक्राउँछन् । जाडोमा झैँ लत्रक्क परेर बस्छन् । रौँ जिङरिङ परेर लाटो भएर बस्छन् । आँखाबाट आँसु बगिरहेको हुन्छ वा कचेरा निस्केको वा आँखा रातो भएको हुन्छ । पशुको शरीर छाम्दा तातो अर्थात् ज्वरो आएको हुन्छ  । खसीबोकाको नाक सुख्खा भएको हुन्छ ।

खसीबोकामा यस्ता समस्या देखिएमा यसलाई सामान्य रूपमा लिनु हुँदैन । राँगो भैंसी, खसीबोका आदिमा पीपीआर रोग लाग्नु भनेको पशुहरुमा हैजा लाग्नु जस्तै हो । बाख्रामा खोरेत, पीपीआर भएको छ भने नाकबाट सिँगान आउने, आँखाबाट आँसु धेरै आउने र छेर्ने समस्या हुन्छ । कुखुरा, हाँस भए कुक्रुक्क पर्ने, डल्लो परेर बस्ने, भुत्ला ठड्याउने, एकोहोरो पातलो दिसा भएमा बिरामी भनेर चिन्नुपर्छ ।

पशुपन्छी स्वस्थ भएको कसरी थाहा पाउने ? 

स्वास्थ्य परीक्षण गरिएका पशु मात्रै खरिद गर्नुपर्छ । यदि खसीबोकाको सिङमा हरियो रङ लगाइएको छ भने स्वस्थ, रातो रङ लगाएको भए अस्वस्थ भनेर थाहा पाउनुपर्छ ।

नाकमा चिसो पसिना आइरहेको खसीबोकालाई सामान्य नै मान्नुपर्छ । खसीबोकालाई झट्ट हेर्दा चनाखोपन देखाए नदेखाएको ख्याल गर्नुपर्छ । जस्तै खसीबोकाको अगाडि मान्छे जाँदा चनाखो हुन्छ । आँखा टाठो बनाउँछ, कान ठाडो पार्छ र पुच्छर हल्लाउँछ । यस्तो खसीबोका स्वास्थ हुन्छ ।

मासु काट्दा पनि ध्यान दिनुपर्ने

पोषणविद् प्राडा उमा कोइराला अनुसार मासुका लागि खरिद गरिने पशुमा मात्रै ध्यान दिएर पुग्दैन, खरिद गरिएको पशु काट्ने बेलामा पनि धेरै कुरा विचार पुर्याउनुपर्ने हुन्छ ।

खसीबोका काट्नुभन्दा २४ घण्टा पहिला दानापानी घाँस नदिएर प्रशस्त मात्रामा पानीमात्रै खुवाएर राख्दा पेटमा भएका किटाणु, विकारहरू केही मात्रामा बग्न सक्ने पशु चिकित्सकको सुझाव छ ।

परीक्षण गरिएका पशुमा खासै रोग देखिँदैन । यद्यपि खसीबोका, राँगोभैँसी काट्नेवित्तिकै शरीरमा गिर्खागिर्खी, पानीको फोका बढी देखिएको, पेटभित्र कुहिएको भाग भएको, गाँठागुँठी आदि भेटियो भने त्यो भागलाई हटाउनु उपयुक्त हुन्छ ।

किनकि विकार मिसिएको खण्डमा मासु खाइसकेपछि पेट दुख्ने, बान्ता हुने, वाकवाकी लाग्ने आदि हुन सक्छ ।

मासु तयार गर्दा यी कुरामा ध्यान दिऊँ

पशुपन्छी काट्दा सफासुग्घर ठाउँमा राखेर काट्नुपर्छ ।

सम्भव भएसम्म नजिकैको बधस्थलमै काट्नुपर्छ ।

यदि घरैमा खसीबोका काट्दै हुनुहुन्छ भने खुट्टाले टेकिने ठाउँमा मासु राख्नु हुँदैन ।

जुन ठाउँमा मासु तयार गर्ने हो, त्यस ठाउँमा दुई तीन पटक साबुनपानीले सफा गरेर काट्नुपर्छ ।

काटिसकेपछि आन्द्राभुँडी, छाला, टाउको र मासु छुट्टाछुट्टै भाँडामा राख्नुपर्छ ।

काट्ने बित्तिकै मासु प्लाष्टिकले मोडेर फ्रिजमा राख्दा ४८ घण्टासम्म खान मिल्छ ।

छिट्टै बिग्रिने आन्द्राभुँडी, टाउको, खुट्टा तत्काल खाँदा उपयुक्त हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप