शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोसपासँग चुनावी तालमेल गर्न ओली किन अनिच्छुक ?

शुक्रबार, १४ असोज २०७९, २३ : ०१
शुक्रबार, १४ असोज २०७९

नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच चुनावी तालमेलको विषयमा तीनदेखि वार्ता भइरहे पनि कुनै निष्कर्ष निस्किन सकेको छैन । पहिलो दिन सामान्य छलफल भयो । कसरी कुन मोडेलमा गठबन्धन गर्ने भन्नेमै पहिलो दिनको बैठक सकिएको थियो । दोस्रो दिन एमालेको सचिवालयको बैठक बसेका कारणले सो पार्टीका उपाध्यक्ष विष्णु पौडेल बैठकमा आएर नेताहरुलाई ‘हेलो–हाइ’ गरेरमात्र फर्केका थिए ।

शुक्रबार पुनः बैठक बस्न गइरहेको छ । आज पनि गम्भीररुपमा छलफल नहुने छाँटकाँट देखिएको छ । लोसपाका एक नेताले भने, ‘एमालेको व्यवहार हेर्दा गठबन्धनका लागि त्यति रुची देखाएको छैन, पहिला जसरी हामीलाई बोलाईबोलाई गठबन्धनका लागि आग्रह गरिन्थ्यो, अहिले त्यस्तो मतलब राखेको छैन ।’

एमाले र लोसपाबीच खासगरी मधेस प्रदेशमा चुनावी गठबन्धनका लागि छलफल भइरहेको हो । अरु ठाउँमा लोसपालाई एक दुई सिट दिए हुन्छ । तर मधेस प्रदेशमै एमालेप्रति आकर्षण बढेपछि एमालेले लोसपासँगको गठबन्धनलाई त्यति महत्त्व दिएको छैन ।

सुरुमा एमालेले राजेन्द्र महतोका लागि धनुषा–३ छाड्ने प्रतिवद्धता जनाएको थियो । तर धनुषामै जनाधार भएका लोसपा नेताहरु एमालेमा प्रवेश गर्न थालेपछि अब एमालेले सो क्षेत्र नछाड्ने भएको छ । मधेसमा यस्ता थुप्रै नेतालाई एमालेले पार्टी प्रवेश गराएको छ, जसलाई टिकटको दिने प्रतिवद्धता पनि जनाएको छ । एमालेले नवप्रवेशीलाई टिकट नदिएर लोसपासँग गठबन्धन गरेमा उनीहरु फेरि अर्को पार्टीमा जान सक्ने आशंकाका साथ पनि लोसपासँगको गठबन्धनलाई चासो नदिएको स्रोत बताउँछ ।

मधेसमा एमाले प्रवेशको लहरका कारण एक्लै चुनाव लडे पनि लोसपा र जसपाभन्दा बढी सिट ल्याउन सकिने आकलन एमाले नेताहरुको छ । त्यसैले लोसपासँगको गठबन्धनलाई एमालेले खासै महत्त्व दिएको छैन । छलफलमा एमालेले लोसपालाई पहिला आफ्नो दाबी प्रस्तुत गर्न भनिरहेको छ भने लोसपाले एमालेलाई आफ्नो दाबी प्रस्तुत गर्न भनिरहेको छ । अहिलेसम्म कसैले लिखित दाबी गरेका छैनन् ।

यसअघि भएको अनौपचारिक वार्तामा लोसपाका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले एमालेलाई २०७४ को चुनावमा तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) र राजपा (हाल लोसपा) गठबन्धनले मधेस प्रदेशमा जति सिट जितेको थियो, त्यो लोसपाले पाउनुपर्ने दाबी गरेर लिखित रुपमै बुझाएका थिए ।

तर एमालेले सो प्रस्ताव स्वीकार गरेको छैन । एमालेले जसपाले जितेको सिट आफूलाई दिन त्यतिबेला नै प्रस्ताव गरेको थियो । अहिलेको वार्तामा कुनै दलले आफ्नो लिखित प्रस्ताव प्रस्तुत गरेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप