शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसमा विद्रोहको चेतावनी : देउवाले कसरी गर्लान् कोइराला पक्षको माग सम्बोधन ?

शुक्रबार, १४ असोज २०७९, १६ : ३४
शुक्रबार, १४ असोज २०७९

सत्तारुढ दल नेपाली कांग्रेसमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची हेरफेरबारे तीन दिनदेखि छलफल चलिरहेको छ । असोज ३ गते बुझाइएको बन्दसूचीलाई लिएर कांग्रेसको शेखर कोइराला–गगन थापा पक्षको विरोधपछि बालुवाटारमा त्यसलाई सच्याउन छलफल जारी रहेको हो ।

पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने आश्वासन दिएका थिए । त्यसपछि सभापति बाहेका पदाधिकारी बसेर बन्दसूची हेरफेरको गृहकार्य चलिरहेको छ । कोइराला पक्ष निकट एक जना पदाधिकारी अनुसार ठोस सहमति भने भइसकेको छैन । उनले भने, ‘सभापतिले बन्दसूची सच्चिन्छ भनेपछि छलफल भइरहेको छ । तर अहिलेसम्म ठोस कुरा केही हुन सकेको छैन ।’

कम्तिमा १२ जना समानुपातिक सांसद बन्ने गरी बन्दसूचीमा आफू पक्षीय नेताको नाम राख्नुपर्ने कोइराला पक्षको अडान छ । ती पदाधिकारीले भने, ‘४० जना समानुपातिक सांसद हुँदा १२ जना हाम्रो साथीहरु रहने गरी कुरा राखिरहेका छौं । तर सभापतिसँग नबसेर यो कुरा टुंगिन्छ जस्तो लागेको छैन ।’

११० समानुपातिक उम्मेदवारको सूचीमा आफूहरुले प्रस्ताव गरेका ३५ जनाको नाम समावेश गरिनुपर्ने ती पदाधिकारीले रातोपाटीलाई बताए । बुधबार र बिहीबार प्रतिनिधिसभाबारे कुराकानी भएको थियो । आज प्रदेशसभा सदस्यका समानुपातिक उम्मेदवारका सन्दर्भमा प्रदेशगत रुपमा कुराकानी भइरहेको छ । तर अहिलेसम्मको छलफल हेर्दा उपलब्धिपूर्ण हुनेमा कोइराला पक्ष विश्वस्त छैन । त्यसको संकेत शुक्रबार विहान चाबहिलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महामन्त्री गगन थापाले राखेको अभिव्यक्तिबाट पनि देखिन्छ ।

उनले थापाले पार्टीभित्र ठूलो विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन्। ‘कांग्रेस पार्टीभित्र ठूलो असन्तुष्टि रहेको छ। यसका लागि नयाँ विद्रोह आवश्यक रहेको छ’, उनले भने । कांग्रेसभित्र ठूलो शुद्धीकरण गर्ने बेला आएको भन्दै ठूलो विद्रोह गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । त्यो कुन प्रकारको विद्रोह हो भन्नेबारे पनि महामन्त्री थापाबाट प्रस्ट भएको छैन ।

समान अवसर र न्यायका लागि खबरदारी अभियान गरिरहेका दोस्रो तहका नेताहरु आफ्ना माग सम्बोधन नभए निर्वाचन वहिस्कारसम्मको परिस्थिति आउने बताउँछन् । नेता गुरुराज घिमिरेले समानुपातिक उम्मेदवारको बन्दसूची नसच्चिए आफूहरुसामु दुई वटा मात्र विकल्प रहेको बताए ।

उनले भने, ‘निर्वाचन आयोगले दिएको समय सीमाभित्र  समानुपातिकको सूची सच्चिएन भने हामीसँग दुई विकल्प हुन्छन् । निर्णय चुपचाप सहने वा विद्रोह गर्ने भन्ने हो । यी दुई विकल्पमा के गर्ने १४ गतेपछि निर्णय हुन्छ ।’ समानुपातिकसँगै कोइराला पक्षले प्रत्यक्षतर्फ पनि न्यायोचित ढंगले टिकट वितरण गर्नुपर्ने माग राखेको छ ।

असन्तुष्ट समूहले नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, भुपेन्द्रजंग शाही लगायतको व्यवस्थापनलाई पनि मुख्य मुद्दा बनाएको छ । पार्टीभित्रकै र गठबन्धनको सिट बाँडफाँटका कारण कोइराला पक्षका प्रभावशाली नेताहरु उम्मेदवार हुनबाट विमुख हुने खतरा देखिन्छ ।

नुवाकोट – २ मा अर्जुननरसिंहलाई संस्थापन पक्ष निकट केन्द्रीय सदस्य बहादुरसिंह लामा चुनौती बनेका छन् भने बल बहादुरका लागि गठबन्धन बाधक बनेको छ । बल बहादुरले चुनाव लड्दै आएको सोलुखुम्बु गठबन्धनमा माओवादीको भागमा पर्ने देखिएको छ । यस्तै नेता रिजाललाई टिकट दिन नसक्ने सभापति देउवाले जवाफ दिएका छन् ।

मोरङ २ मा नेतृ सुजाता कोइरालालाई उम्मेदवार बनाउने देउवाको जवाफपछि रिजाल विद्रोहको तयारीमा रहेको चर्चा छ । यस्तै घिमिरे यसपटक मोरङ ४ बाट कुनै हालतमा टिकट पाउने पर्ने अडानमा छन् । गठबन्धनको सिट बाँडफाँटमा उक्त क्षेत्रपनि माओवादीको मागमा परेको छ । शाहीले चुनाव लड्दै आएको कालिकोट माओवादीको भागमा पर्ने देखिएको छ । उनीहरुको व्यवस्थापनलाई कोइराला पक्षले बटमलाइन बनाएको छ ।

यसमा पनि रिजाल र घिमिरे कुनै हालतमा उम्मेदवार बन्ने रणनीतिमा छन् । पार्टीबाट टिकट नपाए रिजाल एमालेको सहयोगमा बागी उम्मेदवार बन्ने कांग्रेस वृत्तमा चर्चा छ । उनी एमालेका नेताहरुसँगको नियमित सम्पर्कमा रहेका छन् ।  

रिजालले आफ्ना लागि यो निर्वाचन अन्तिम भएकाले कुनै हालतमा सांसद बन्ने तयारीमा रहेको सुनाएको कोइराला पक्षका एक नेताले रातोपाटीलाई बताए । ‘मेरा लागि यो निर्वाचन सम्भवतः अन्तिम हो । ६५ वर्षको भइसकेँ । त्यसपछि मेरो उमेरले पनि चुनाव लड्न साथ नदिन सक्छ,’ रिजालको भनाइ उद्धत गर्दै ती नेताले भने, ‘यस पटक संसदमा जानै पर्ने बाध्यात्मक अवस्थामा छु । हेरौँ शेखर डाक्टरसाहेब र गगनजीहरुले कस्तो भूमिका खेल्नुहुन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप