शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रमा १७ सिट पाएको नेकपा समाजवादीले प्रदेशमा कति पाउँछ ?

शुक्रबार, १४ असोज २०७९, १६ : ५७
शुक्रबार, १४ असोज २०७९

सत्ता गठबन्धनमा प्रतिनिधिसभा र प्रदेशसभाको सिट भागबण्डा मिलाउने क्रम अन्तिम अवस्थामा पुगेको छ । केही दिनयता बालुवाटारमा गठबन्धनका शीर्ष नेतासहित कार्यदल सदस्यहरु बसेर भइरहेको सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादीको भागमा १७ सिट परेको छ । यद्यपि त्यसमा केही सिट थपिनेमा सो पार्टीका नेताहरु अझै आशावादी छन् ।  

सिट बाँडफाँटमा भएको छलफलमा कम्तिमा २५ सिट पाउनुपर्ने समाजवादीका नेताहरुको अडान रहँदै आएकोमा २२ सिटमा सहमति गर्ने मनस्थिति बनाएपनि अहिलेसम्मको स्थितिमा १७ सिट भन्दा नपरेको गठबन्धनका नेताहरुको भनाइ छ । 

‘हामीले प्रतिनिधिसभातर्फ पहिला ४० सिट भनेका हौ । सहमति गर्दा २५ सिटमा सहमत हुन तयार छौ । तर कुनै सहमति नहुँदै १७ सिट भनेर प्रचार गरियो, यसमा हाम्रो विमति छ’, समाजवादीका उपमहासचिव समेत रहेका गंगालाल तुलाधरले भने, ‘यही कारण गठबन्धन भत्कियोस् भन्ने चाहाना पनि हाम्रो होइन ।’

नेता तुलाधरले प्रतिनिधिसभामा १७ भन्दा बढी सिट आफ्नो पार्टीको भागमा नपरे प्रदेशसभामा त्यसको परिपूर्ति हुनेगरी बाँडफाँट गर्नुपर्ने बताए । उनले भने, ‘सातै प्रदेशमा हाम्रा सांसद नै ६० को हाराहारीमा थिए । अबको भागबण्डामा पनि त्यो भन्दा कम संख्यामा जित्नेगरी हामी सहमत हुँदैनौ ।’

यसैबीच गठबन्धनमा सिट बाँडफाँटका क्रममा समाजवादीले दावी गरेका दोलखा, उदयपुर र बैतडीका निर्वाचन क्षेत्रमा नपाएपछि ती जिल्लाका नेताहरुमा असन्तुष्टि बढेको छ । असन्तुष्ट नेता कार्यकर्ताको चित्त बुझाउन केन्द्रीय नेतृत्वलाई समस्या भएको बताइएको छ । गठबन्धनमा प्रतिनिधिसभातर्फका केही सिट बाहेक अधिकांश टुङ्ग्याएर प्रदेश तर्फको बाँडफाँटको गृहकार्य भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप