शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

के छन् चुनाव जित्न रवीन्द्र मिश्रका एजेण्डा ?

शुक्रबार, १४ असोज २०७९, २१ : १८
शुक्रबार, १४ असोज २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी प्रवेशको दुई दिनमै काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने औपचारिक घोषणा गरे । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो चुनावी एजेण्डासहित उम्मेदवारी घोषणा गरेका हुन् ।  

उनले ५ वटा राजनीतिक–सामाजिक र ७ वटा अर्थ–राजनीतिक एजेण्डाका साथ उम्मेदवारी घोषणा गरेका हुन् । यस्तै जनतासँग जोडिएका समसामयिक विषय पनि एजेण्डामा समेटेका छन् । मिश्रले सांसदको हैसियतमा देशको दूरगामी हित, सार्वभौमिकता, स्वाधीनता, सुशासन, सेवा प्रवाह र समृद्धिसँग सम्बन्धित विषयहरु संसदमा बुलन्द पार्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै प्रतिनिधिसभामा सांसदको प्रमुख जिम्मेवारी नियम कानुन तथा नीति निर्माण गर्ने भएकाले तिनको तयारी र लेखनमा देशलाई शिरमा राखेर काम गर्ने पनि बताएका छन् ।  काठमाडौं महानगरपालिका र सम्बन्धित वडाहरूसँग मिलेर क्षेत्र नम्बर १ को खुला क्षेत्र संरक्षण, पार्कको निर्माण, जेष्ठ नागरिकका लागि टहलिने ठाउँ निर्माण, फोहोर मैला व्यवस्थापन, सुकुम्बासी समस्या समाधान जस्ता कार्यमा लाग्ने पनि उनले आफ्नो एजेण्डामा समेटेका छन् । 

मिश्र अघिल्लो निर्वाचनमा तत्कालीन साझा पार्टीबाट चुनाव लडेका थिए । त्यतिबेला ८०० मतान्तरले पराजित भएकामा यसपटक जित्ने उद्देश्यका साथ मैदानमा होमिएको उनले बताए । पत्रकारिता पृष्ठभूमिबाट मिश्र राजनीतिमा होमिएका हुन् । उनले १५ वर्ष बीबीसीमा काम गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप