शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँमा साहसिक खेलका लागि रोज्न सकिन्छ यी आकर्षक गन्तव्य

शनिबार, १५ असोज २०७९, ०५ : ५४
शनिबार, १५ असोज २०७९

यसपालिको दसैं विशेष अनि एड्भेञ्चर बन्नेवाला छ । किनकि यसपटक हामी तपाईंहरुलाई यस्तो एड्भेञ्चर गन्तव्यहरुको जानकारी दिँदैछौं, जसले तपाईंहरुलाई अवश्य आकर्षित गर्नेछ । अनि अहिल्यै जाउँ जाउँ लाग्ने छ ।उसै पनि दसैं रमाइलो चाड । त्यसमाथि साथी भाइ, इष्ट मित्रसँगै परिवारजनसँग कुनै रमणीय गन्तव्यमा घुमघाम गर्न पाउनु निकै रोमाञ्चक हुने गर्छ । यसमा थप पछिल्लो समय एड्भेञ्चर अर्थात् साहसिक खेलले रोमाञ्चकताको थप परिभाषा नै बदलिदिएको छ ।

पछिल्लो समय साहसिक खेलमा भएको तीब्रतर विकासले र त्यसको बहुआयामिक पक्षले हामीलाई दर्जनौं विकल्पसमेत प्रदान गरेको छ । जस्तो पछिल्लो समय काठमाडौं उपत्यका वरपर नै बढ्दो जीपलाइन खेलको ट्रेन्ड, साहसिक र्‍याफ्टिङ्गसँगै बन्जीको विकासले एड्भेञ्चरलाई थप परिस्कृत गरेको छ ।

यसै परिदृष्यमा आज हामी तपाईंहरुलाई छोटो समयमा नै सामान्य खर्चमा पनि एड्भेञ्चर खेलको मञ्जा लिन सकिने आठ आकर्षक गन्तव्यको जानकारी दिँदैछौं ।

भोटेकोशी बन्जी, एड्भेन्चर र्‍याफ्टिङ्ग

एड्भेञ्चर बन्जीका लागि पहिलो र निकै लोकप्रिय गन्तव्य हो भोटेकोशी बन्जी । काठमाडौंबाट करिब तीन घण्टामा पुग्न सकिने भोटेकोशीमा बन्जी जम्पिङ गरेर, तिब्बतको सिमानामा रहेको तातोपानीमा नुहाएर एकै दिनमा काठमाडौं फर्कन सकिन्छ ।

बिहान सबेरै काठमाडौंबाट हिँडियो भने करिब डेढ घण्टामा दोलालघाट पुग्न सकिन्छ । दोलालघाटबाट अरू डेढ घण्टामा बाह्रबीसे हुँदै भोटेकोशी बन्जी जम्पमा पुग्न सकिन्छ । यहाँ सम्पूर्ण व्यवस्था मिलाएको छ, द लास्ट रिसोर्टले ।

नेपालमा बन्जी जम्पिङको सुरूवात गर्ने उद्देश्यले यो रिसोर्टले सर्वप्रथम २०५८ सालमा उक्त नदीमा झोलुङ्गे पुलको निर्माण गरेको थियो । करिब ४८ लाखको लागतमा निर्माण गरिएको भनिएको उक्त पुलले बन्जी जम्पिङ खेललाई नेपाल प्रवेश गराउन मद्दत मात्र गरेन, स्थानीय बासिन्दाको जीवनस्तर उकास्न पनि महत्त्वपूर्ण काम गर्‍यो ।

करिब ६ घण्टा लाग्ने बाटोलाई १५ मिनेटमा छोट्याइदियो यो पुलले । पुलबाट करिब एक सय ६० मिटर तल बगिरहेको भोटेकोशीमा एक सय मिटरसम्म जम्प गराइन्छ ।

सोही बाटो हुँदै भोटेकोशी, सुनकोशीमा र्‍याफ्टिङ्गको मज्जासमेत लिन सकिन्छ । काठमाडौंबाट करिब ७० किलोमिटरको दुरीमा रहेको सुकुटे बिचमा यस्ता र्‍याफ्टिङ्ग गराउने धेरै कम्पनी सञ्चालनमा छन् ।

धुलीखेल जीपलाइन

काठमाडौंबाट छोटो दुरीमा रहेको अर्को एड्भेञ्जर स्पोर्ट हो काभ्रेपलाञ्चोको धुलिखेल । जहाँ वर्ड वाइड एड्भेञ्चर प्रालिले सञ्चालनमा ल्याएको जिपलाई पछिल्लो समय निकै लोकप्रिय छ ।

धुलिखेलको थाक्लेडाँडादेखि खावासम्म एक हजार एक सय मिटर (१.१ किलोमिटर) मा सञ्चालित जिप लाइनमा ३ किसिमको एड्भेञ्चर खेल खेल्न पाइन्छ ।

क्लासिक, स्पाइडरम्यान र टेण्डम गरी तीन खेलका लागि लोकप्रिय धुलिखेल जीपलाइन पछिल्लो समय युवा पुस्ताका लागि मात्र नभएर बालबालिकादेखि प्रौढ (पाका उमेर) सम्मका लागि समेत उत्तिकै आकर्षणको केन्द्र बनिरहेको छ ।

यो जीपलाइन समुन्द्री सतहदेखि एक हजार ३ सय मिटरको उचाईबाट सुरु भएर एक हजार २ सय मिटरको सतहमा गएर ल्यान्डिङ (अवतरण) हुन्छ ।

११ सय मिटरको दुरीमा प्रतिघण्टा ६० देखि ९५ किलोमिटरको गतिमा जीपलाइनको मज्जा लिन पाउँदा साँच्चै एड्भेञ्चरको फिल हुन्छ ।

कम्पनीले जीपलाइनको ल्यान्डिङ स्टेसनमा नै खान बस्न मिल्ने गरी रिसोर्टको समेत व्यवस्था गरेको छ । काभ्रेको केही भागसँगै सिन्धुपाल्चोक र रामेछापको समेत केही पहाडी दृश्य हेर्दै रिसोर्टमा रम्न सकिन्छ ।

साथै कम्पनीले तयार गरेको विविध जंगल एड्भेञ्चर खेलहरुमा समेत रम्न सकिन्छ । काठमाडौं नजिकै रहेको यस जीपलाइनमा खान बस्नसँगै एड्भेञ्जरको मज्जा लिन त्यति महँगो छैन ।

नुवाकोट जीपलाइन

ऐतिहासिक तथा पर्यटकीय क्षेत्र नुवाकोटमा पनि जीपलाइन सञ्चालमा छ । काठमाडौंदेखि ७० किलोमिटरको मात्र दुरीमा रहेको नुवाकोटको प्राचीन नुवाकोटको साततले दरबार नजिकिदै दरबार एड्भेञ्चर प्रालिले आकर्षक रिसोर्टसहितको जीपलाइन सञ्चालनमा ल्याएको छ ।

पृथ्वी नारायण शाहको पालाको दरबार, भैरवी मन्दिरसँगै अन्य ऐतिहासिक तथा प्राचीन सभ्यताको अवलोकन पनि गर्न पाइने र एड्भेञ्चरको मज्जा समेत लिने पाइने यस क्षेत्रमा पछिल्लो समय स्वदेशीसँगै विदेशी पर्यटकहरुको आकर्षण बढ्दो छ ।

जिल्लाको सदरमुकाम विदुरदेखि २.५ किलोमिटर मात्र माथि रहेको  यस क्षेत्रबाट १.३ किलोमिटरको जीपलाइनबाट तल झर्न सकिन्छ । जीपलाइनको टप स्पीड १२० किलोमिटर प्रतिघन्टा रहेको छ ।

घ्याम्पेडाँडा जीपलाइन

काठमाडौंको दक्षिणपूर्वी क्षेत्रमा पर्ने भक्तपुरको रानीकोट घ्याम्पे डाँडामा सञ्चालित एड्भेञ्चर जीपलाइनको साथमा स्काई साइक्लिङ्ग, क्यापी साइक्लिङ्ग र स्वीइङको समेत मज्जा लिन सकिन्छ ।

काठमाडौंबाट १५ किलोमिटरको मात्र दुरीमा रहेको यस स्थानमा नेपाल क्यामिलोन होलिडेज प्रालिले यो एड्भेञ्चर स्पोर्ट सञ्चालनमा ल्याएको हो ।

रिसोर्टसहितको ए्भेञ्चर खेलको सुरुवात गरेको कम्पनीले जीपलाइनमा तीन किसिमको सुविधा प्रदान गरेको छ । १.२ किलोमिटरमा लङ जीपलाइन चलाएको कम्पनीले ४५० मिटरमा सर्ट जीपलाइन, ३५० मिटरमा स्काई साइक्लिङ्ग, ३५० मिटरमा क्यानपी साइक्लिङ्ग र स्वीइङ सञ्चालन गरिरहेको छ ।

काठमाडौंबाट नजिक भएकाले पनि पछिल्लो समय यस एड्भेञ्चर स्पोर्टमा पारखीहरुको निकै भीडभाड लाग्ने गरेको छ । दसैंको छुट्टीका समयमा केही समय एड्भेञ्चरमा रम्न यो स्थान उपयुक्त विकल्प बन्न सक्छ ।

त्रिशुली रिभरसाइट जीपलाइन वीथ र्‍याफ्टिङ्ग

र्‍याफ्टिङ्गका लागि भोटेकोशीसँगै त्रिशुली नदी पनि निकै प्रसिद्ध रहेको छ । नेपालका करिब डेढ दर्जन खोला तथा नदीमा सञ्चालन हुने र्‍याफ्टिङ्ग मध्येको एक त्रिशुली नदी काठमाडौंबाट नजिकै रहेको छ ।

करिब ६० किलोमिटरको दुरीमा नै भेटिने धादिङको चरौंदीबाट सुरु हुने र्‍याफ्टिङ्ग मलेखुकुरिनटारसम्म सञ्चालन हुने गर्छ । यसका लागि धेरै एड्भेञ्चर कम्पनी क्रियाशील छन् । छोटो दुरीमा थोरै पैसाले पनि वाटर एड्भेञ्चर अर्थात् र्‍याफ्टिङ्गको मज्जा लिन सकिन्छ ।

काठमाडौं उपत्यका भन्दा केही पर, केही दिनको भ्रमणसहितको एड्भेञ्चर खेल खेल्न निस्कने हो भने, पोखरा, कुश्मा, बाग्लुङ्गसम्म पुग्न सकिन्छ । जहाँ पछिल्लो समय खुलेका दर्जनौं एड्भेञ्चर स्पोर्ट तथा खेलले खास गरी युवालाई तानिरहेको छ ।

द क्लिफ, कुश्माः विश्वकै अग्लो बन्जी

पछिल्लो समय पर्वतको सदरमुकाम कुश्मामा सञ्चालित द क्लिफ बन्जी निकै चर्चामा छ । कालीगण्डकी नदीको खोँचमा ५२५ मिटर लामो गहिराइमा हानिने फ्रि फल (बन्जी) बारे नसुन्ने सायदै कोही होलान् ।

यस एड्भेञ्चर बन्जीलाई सञ्चालनमा ल्याएको हो द क्लिफ प्रालिले । कुल २८ करोड रुपैयाँ लागतमा एड्भेञ्चर हबकै रुपमा विकास गरेको कम्पनीले बन्जीको साथमा पछिल्लो समय यस्ता धेरै एड्भेञ्चर खेलको विकास गरेको छ ।

पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङ्गको बलेवा जोड्ने कालीगण्डकीको खोँचमा ५ सय मिटर लामो पुल हालेर बन्जीको सुरुवात गरेको कम्पनीले गुलेली पिङ, स्विङका साथै स्काई साइक्लिङ्ग समेत सञ्चालन गरिरहेको छ ।

द क्लिफ कुश्मा बन्जी विश्वकै अग्लो बन्जी हो भने सोही स्थानमा सञ्चालित स्काई साइक्लिङ्ग नेपालकै पहिलो हो । पछिल्लो समय यो एड्भेञ्चर स्पोर्टमा पुग्न जोकोही लालायित हुने गरेका छन् ।

सराङकोट जीपलाइन, टावर बन्जी

एड्भेञ्चर पारखीहरुका लागि पोखराको सराङकोटहेम्जा झर्ने विश्वकै भिरालो जीपलाइन अर्को विकल्प बन्न सक्छ । सराङकोटको भ्यू टावर नजिकैबाट तल हेम्जाको खोँचसम्मको १.८ किलोमिटर लामो तर निकै भिरालो जीपलाइनमा दुई किसिमको एड्भेञ्जरको मज्जा लिन सकिन्छ ।

समुद्री सतहदेखि १५ सय ५० मिटरको उचाइमा रहेको सराङकोटदेखि भर्टिकल्ली (भिरालो) मा त्यो पनि क्लासिक र सुपरम्यान फ्लाइ गर्न पाउनु यो जीपलाइनको मुख्य विशेषता हो ।

यो जीपलाइन सन् २०१२ मा पहिलो पटक हाइग्राउण्ड एड्भेञ्चरले प्रालिले सञ्चालनमा ल्याएको हो । त्यसो त कम्पनीले एड्भेञ्चर जीपलाइनसँगै नेपालकै पहिलो टावर बन्जीसमेत सञ्चालनमा ल्याएको छ ।

जीपलाइनको ल्याण्डिङ स्टेसनमा नै टावर बन्जी सञ्चालन गरेको कम्पनीले सिंगलसँगै टेण्डम (जोडीमा) पनि बन्जीको मज्जा लिने सुविधा प्रदान गरेको छ ।

हालसम्म हाइग्राण्ड टावर बन्जीमा १० लाख बढीले एड्भेञ्चरको मज्जा लिइसकेको कम्पनीले बताएको छ । पोखराबाट नजिकै रहेको यो एड्भेञ्चरमा दसैंको विदाको राम्रो सदुपयोग गर्न सकिन्छ ।

हट बेलुन

एड्भेञ्जरमा अर्को विकल्प थपिएको छ, हट बेलुन । हालै मात्र बेलुन नेपालले पहिलो पटक नेपालमा हट बेलुनको सुरुवात गरेको हो ।

पोखराको चामेको माथिल्लो भागबाट उडान भर्ने हट बेलुनमा ५ हजारसम्मको उचाईमा उड्न सकिन्छ । ल्याण्डिङ स्टेसन भने पोखराको फेवातालको किनारा रहेको कम्पनीले जनाएको छ ।

दुईदेखि तीन वटा बेलुन उडान हुनेमा मागको चापअनुसार दैनिक उडान संख्या तय हुने बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए ।

एड्भेञ्चरमा रम्नेहरुका लागि यो थप अर्को विकल्प थपिएको छ । प्याराग्लाइडिङ्ग भन्दा अझ भिन्न र एड्भान्स हुने हुँदा यसमा थप आकर्षण हुन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप