बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दसैँ अर्थतन्त्रः ३४ अर्बको मासु, साढे २ अर्बको लुगा, गाडीभाडामा ६ अर्ब

शनिबार, १५ असोज २०७९, ०६ : १०
शनिबार, १५ असोज २०७९

नेपाली अर्थतन्त्र सबैभन्दा धेरै चलायमान बन्ने समयका रूपमा दसैँ र तिहारलाई लिइन्छ । प्रत्येक वर्ष चलायमान बन्ने कूल अर्थतन्त्रको २० प्रतिशत कारोबार दसैंमा मात्रै खर्च हुने गरेको छ । विश्व बैंकले गरेको पछिल्लो सर्वेक्षण अनुसार पनि सन् २०२१ मा एउटा नेपाली परिवारले वर्षमा औसत ३ लाख ८० हजार रुपैयाँ खर्च गर्ने गर्छन् । जसको २० प्रतिशत खर्च दसैंको समयमा मात्रै खर्च हुने गरेको विश्व बैंकको तथ्यांक छ ।

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सह–प्राध्यापक डा. रमेश पौडेल दसैंको समयमा वर्षभरी हुने कूल खर्चको २० प्रतिशत रकम खर्च हुने बताउँछन् । विश्व बैंकको पछिल्लो तथ्यांकले पनि यस्तै आँकलन देखाउने उनको भनाइ छ । दसैंको समयमा नेपालीहरूले माछामासु, लत्ताकपडा, भ्रमण र खानपिनमा बढी खर्च गर्ने गरेका छन् । यसैगरी, सर्वसाधारणले दसैंको समयमा खाद्यान्नमा समेत ठूलो रकम खर्च गर्ने गरेका छन् ।

लत्ताकपडामा साढे २ अर्ब खर्च

नेपालमा वर्षमा ६ अर्ब ५० करोड रुपैयाँ हाराहारीको लत्ताकपडा खपत हुने गरेको नेपाल स्थानीय गार्मेन्ट उत्पादक संघको तथ्यांक छ । जसको ४० प्रतिशत खपत दसैं र तिहारमा हुने गरेको छ । यो भनेको २ अर्ब ४० करोड रुपैयाँ भन्दा बढीको लत्ताकपडाको कारोबार दसैंमा हुने गरेको संघको भनाइ छ । यसैगरी, वार्षिक ५ देखि ६ करोड जोर जुत्ताको माग नेपाली बजारमा देखिन्छ । जसमध्ये दसैंको समयमा मात्रै २ करोड जोर जुत्ताचप्पल बिक्ने गरेको फूटवेयर म्यानूफ्याक्चर्स एसोसिएशन अफ नेपालले जनाएको छ ।

घर जाँदा ६ अर्ब खर्च

दसैंको समयमा रोजगारी, उद्यम व्यवसाय र अध्ययनका लागि घरपरिवारभन्दा टाढा रहेका सर्वसाधारण घर फर्कने गर्छन् । सोही प्रचलन अनुसार उच्च शिक्षा अध्ययन र रोजगारीका लागि काठमाडौं पसेकामध्ये २२ लाख मानिस घर फर्कने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अनुमानित तथ्यांक छ । तर, यी सबै मानिस सार्वजनिक यातायातमार्फत भने घर फर्कँदैनन् ।

‘दसैंको समयमा यात्रा गर्नेमध्ये केही प्रतिशत आफ्नै सवारी साधनमा जान्छन्, एउटा मानिस दसैंमा घर जाँदा सरदरमा २ हजार रुपैयाँ खर्च हुने गरेको देखिन्छ,’ महासंघका अध्यक्ष विजयबहादुर सुवाँरले भने ।

सार्वजनिक यातायातमा टिकट काटेर वा आफ्नै साधनमा घर जाँदा पनि सरदर २ हजार रुपैयाँ खर्च हुने उनले बताए । महासंघका अनुसार नेपालको सबैभन्दा लामो दूरीमा यात्रा गर्दा ४ हजार रुपैयाँसम्म र छोटो दूरीमा १ हजारदेखि १५ सय रुपैयाँसम्म खर्च हुन्छ । यसलाई मिलाउँदा सरदर २ हजार हुन आउँछ ।

सार्वजनिक यातायातको भाडा, बाटोमा खाना र खाजा खर्च र आफ्नै गाडीमा गएमा पेट्रोल÷डिजेल र खाना÷खाजा खर्च हुन्छ । जसले दसैंमा यातायात क्षेत्र पनि चलायमान बन्छ । प्रतिव्यक्ति २ हजार रुपैयाँ सरदर खर्च राख्दा दसैंमा हुने २२ लाख मानिसको यात्राबाट ४ अर्ब ४० करोड रुपैयाँ खर्च हुन आउँछ । यस्तै, ती मानिस पुनः शहर फर्कँदा समेत सोही बराबरको रकम खर्च हुन आउने व्यवसायीको भनाइ छ ।

यसबाहेक देशका विभिन्न स्थानमा बसोबास गर्ने मानिस समेत दसैंमा घर फर्कन्छन् । जसबाट समेत यात्राको खर्च जोडिन्छ । दसैंको समयमा काठमाडौंसहित देशभरबाट हुने यात्राको संख्या कुल ३० लाख हाराहारी हुने र सबैको खर्च रकम कूल ६ अर्ब रुपैयाँ हुन आउँछ ।

खसीको मासुमै सकिन्छ ३३ अर्ब ६० करोड

दसैंको समयमा काठमाडौं उपत्यकामा मात्रै ५० देखि ६० हजार वटा खसी÷बोका बिक्री हुन्छ । सरदर प्रतिखसी २० किलोग्रामको हुने पशु सेवा विभागको आँकलन छ । जिउँदो खसीको मूल्य प्रतिकिलो सरदर ७ सय रुपैयाँ रहेको छ । यसरी हेर्दा एउटा खसी वा बोकाको औसत मूल्य १४ हजार रुपैयाँ पर्न आउँछ ।

नेपालमा प्रतिवर्ष औसतमा ४८ लाख वटा खसीबोका बिक्ने विभागको भनाइ छ । विभागका प्रवक्ता डा. चन्द्र ढकालका अनुसार त्यसमध्ये ५० प्रतिशत अर्थात करिब २४ लाख खसीबोका दसैंमा खपत हुन्छ । जसको मूल्य सरदरमा ३३ अर्ब ६० करोड रुपैयाँ हुन आउँछ । यसमा कुखुरा, रागा, हाँस लगायत अन्य मासुजन्य जनावरको खर्च जोड्दा मासुमा हुने दसैं खर्च रकम अझै बढ्न आउँछ ।

काठमाडौं चौपाया खरिद बिक्री संघका अध्यक्ष जनकराज खड्का दसैंको समयमा काठमाडौं उपत्यकामा प्रतिवर्ष ६० हजार वटासम्म खसीबोका बिक्ने बताउँछन् । जसमध्ये २५ देखि ३० हजार वटा खसीबोका कलंकी खसी बजारबाट बिक्ने खड्काको भनाइ छ । यस्तै, बागबजारको खसी बजारबाट १५ देखि २० हजार वटा बिक्ने उनको भनाइ छ । यसबाहेक, अन्य खसी बोका गाउँबाट सिधै काठमाडौंमा बस्ने उपभोक्ताले ल्याउने गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप