बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मेरो घर विश्वविद्यालय

शनिबार, १५ असोज २०७९, ११ : ४९
शनिबार, १५ असोज २०७९

हुन त एली गउल्डीङले भनेजस्तै विश्वविद्यालय जाने मेरो घरको म पहिलो सदस्य हुँ । मैले अध्ययनको क्रममा तीन वर्षे स्नातक, चार वर्ष स्नातकोत्तर (दुई ओटा), दुई वर्ष जति एमफिल र हाल दुई वर्षदेखि विद्यावारिधिको विद्यार्थी भएर करिब बाह्र वर्ष विश्वविद्यालयमा बिताएछु ।

त्यसको अलावा चौध वर्षदेखि एक वर्षे अध्ययनसहित विश्वविद्यालय तहको अध्यापनमा रमिरहेको छु । तर पनि नढाँटी भन्ने हो भने विश्वविद्यालयको व्याख्या गर्न सङ्कोच लाग्छ । ज्ञानको अभाव हो वा विषयवस्तुमा गम्भीर नभएर हो, थाहा छैन । सङ्कोचको बाबजुद आज यही विषयवस्तुलाई मेरो परिवारसँग जोड्दै छु ।

हेन्रिक रोडोन्स्कीले भनेका छन्, सबैभन्दा उत्कृष्ट विश्वविद्यालय जीवनको विश्वविद्यालय हो । हो म यो भनाई मेरो सिङ्गो परिवारको सदस्यहरूमा भेट्छु । मेरो पिताजी नब्बेको दशकमा हुनुहुन्छ । श्रवण शक्ति कमजोर छ । दृष्टि पनि क्षीण छ । धर्मराएर हिँडडुल गर्नुहुन्छ । तर सहारा लिनुहुन्न । सकेको  आफ्नो काम गर्नुहुन्छ ।

हुन त आफ्नो पितालाई कुन सन्तानले प्रशंसा नगर्ला र ? म मेरो पिताजीको प्रशंसक अवश्य नै हुँ । तर उहाँलाई नजिकबाट चिन्ने जो कोहीले उहाँको बारेमा बयान गर्यो भने मैले भन्दा बढी गुणगान गाउँछ भन्नेमा म विश्वस्त छु । न लोभ, न घृणा, न घमण्ड, न मादकता, न उन्माद, न तिकडम, न क्षोभ, न ग्लानी, न द्वेष, न मोह । यी मेरा पिताजीका जीवनकालका विशेषता हुन् । यी विशेषता मैले चार दशकदेखि समीपमा रहेर अनुभूत गरेको तथ्य हुन् ।

साँवा अक्षर लेख्न र पढ्न नजान्ने । न्याय के हो ? निसाफ के हो ? धर्म के हो ? जीवन के हो ? मृत्यु के हो ? यावत् पक्षमा दरिलो चेष्टा राख्न सक्ने क्षमता बोकेको एक लामो यात्राको निर्भिक यात्री हुनुहुन्छ पिताजी ।

१९ वर्षको उमेरमा पिताजी गुमाएको एक ठेट्नाले दुई भाइ र एक बहिनीलाई पितृत्व दिएर भाइबहिनीभन्दा पनि छोराछोरी सरह हुर्काएर आजसम्म एक भाइ र एक बहिनीसँग एकै भान्सामा रमाएर भोजन ग्रहण गर्दै हुनुहुन्छ । उहाँको माहिला भाइ मलाई अत्यन्तै माया दिने माईलो बा आज हाम्रो माझ हुनुहुन्न ।

पिताजीको स्मरण शक्ति तीक्ष्ण थियो । यौवनकालमा मैले उहाँसँग पटक पटक हाम्रो पारिवारिक पृष्ठभूमिको बारेमा धेरै जिज्ञासा राखेको थिएँ । पिताजीले तिथिमितिसहित रोचक ढङ्गले मलाई धेरै तितामीठा किस्सा सुनाउनु भएको थियो । घरमा अन्न नहुँदा कोदोको फुल्दै गरेको बाला हाँडीमा उसिनेर भोक मेटी साहुको घरमा दिनभरि काम गरी बेलुका एक पाथी पुरानो कोदो ल्याएर सबैलाई पेटभरी ढिँडो खुवाएको किस्सा भने म कहिल्यै बिर्सन्नँ ।

घरको प्रत्येक सदस्यसँग कुनै रिस नसाँध्ने, ठूलो स्वरले न कुर्लिने, केही घोचपेच नगर्ने, केही तलमाथि भए पनि क्षणभरमै सम्हालिने । घरका सबै सदस्य हाल ११ जना र तीन छोरीपटिका सबै सन्तानलाई हरेक दिन उस्तै उस्तै माया ममता दर्शाउने । कुनै भेदभाव नगर्ने उहाँको आचरण छ । शुद्ध मन, शुद्ध भोजन, शुद्ध वचन, शुद्ध कर्म, शुद्ध आचरण पनि उहाँका विशेषता हुन्् । पाँच सन्तान र तीन भाइबहिनीलाई बराबर पितृत्व दिन सक्ने अद्भूत क्षमता जो कोहीमा नहोला ।

उहाँको कान्छो भाइ अर्थात् हाम्रो कान्छो बा । सतहत्तर वर्षमा हिँड्दै हुनुहुन्छ । न श्रीमती, न सन्तान, न आफ्नो नाममा कुनै सम्पत्ति । उहाँको नाममा एउटा नागरिकता र फगत वृद्धभत्ता कार्ड छ । तर पनि जीवनभरि दाजुको छहारीमा शीतलता ताप्दै दाजुका सन्तान हुर्काउन, पढाउन, छ दशकसम्म थाप्लोमा नाम्लो बोकेर काठमाडौं, पोखराका गल्लीगल्ली चहार्ने मान्छे । तालुको रौँ मेटेर, कट्टीको छाला रगडेर भारी बोकी कमाएको एक एक रूपैयाँ दाजुको हातमा थमाइदिने भाइ । आफूलाई एक रूपैयाँ नराख्ने ।

मैले कमाएको मेरो नाममा केही हुनुपर्छ भनेर कहिल्यै केही नभन्ने कान्छो बा । यहाँसम्म कि सहर फर्किने दिन दाजुसँगै भाडा मागेर जाने मान्छे । दाजुका सन्तान हामीहरूलाई बाबुले गर्नुपर्ने सम्पूर्ण माया, ममता, प्यार, सहयोग गर्ने एक अद्भुत काका “कान्छो बा” । साठी वर्ष हुँदासम्म भारी बोकर दाजुको सन्तान पालनपोषण शिक्षादीक्षामा व्यतीत गरी आज मासिक आउने वृद्धभत्ता पनि दाजुलाई सुम्पिने भाइ अरू पनि मैले भेट्न त सकुँला । तर, देखेको चाहिँ छैन ।

साठीको दशक नाघेकी पिताजीकी कान्छी बहिनी अर्थात् हाम्री ठूली दिदी । गाउँलेको फुपू । पाँच वर्षको नाबालिका, आमाको दूध चुसेर डोलीमा अन्मिएको सन्तानको कान्छी छोरी केही वर्षमा बालविधवा हुनुपर्याे । परदेशमा पतिको दुर्घटनामा मृत्यु भयो । त्यसपछि एघार वर्षको उमेरमा परिवारले छुट्याएर वनको छेउमा रहेको बेंसी गोठमा राखिदिए । बेसहारा भएकी मेरी ठूलीदिदीको जीवनका रङहरू एक एक गरी उड्दै गए ।

दिदीको अतीत सम्झदा आज पनि मन भक्कानिन्छ । काल्पनिक चलचित्रले त भक्कानिने मन वास्तविक, त्यो पनि आफ्नै घरको किन नभक्कानियोस् । दिदीको त्यो अवस्था देख्न नसकेर पिताजीले उहाँलाई आफ्नै घरमा ल्याउनुभयो । घरमा दुई छोरा, एक छोरी, आमा र पिताजी स्वयम् गरी पाँच जना पालिने जमिन थिएन ।

उहाँले बताएअनुसार ६ सालमा, हजुरबा, उहाँको पिताजीले राणा समर्थक कुनै जिम्वाललाई अटेरी गरेबापत सर्वस्व हरण गरी खरानीसमेत चालेर सुकुम्बासी बनाइ दिएको परिवार हो हाम्रो । सायद अभावकै कारणले होला मुटुमा ढुङ्गा राखेर कान्छी बहिनीलाई कोही आफन्तीमार्फत् राजधानीमा कुनै महाजनको घरमा भान्से बन्न ढोका खोलिदिनु भयो । केही वर्ष एक धनाढ्य नेवार परिवारको भान्से बज्यै भएर बस्नुभयो र पछि हामीलाई हुर्काउन घर फर्किनुभयो । हामी पाँच सन्तान वा दाजुका छोरा छोरीहरूलाई आमाले दिनुपर्ने माया, ममता मात्र हो, स्याहार सुसार गरेर हुर्काउनुभयो । आजको दिनसम्म पनि हामीलाई उहाँले पकाएको खान नपाए खाएको स्वादै लाग्दैन ।

व्यापारिक घरानामा घुलमिल भएर होला, उहाँमा व्यापारसम्बन्धि चेतना घुसेको रहेछ । लगानीको अभावमा एक प्याकेट चुरोटबाट व्यापार सुरु गर्नुभएको दिदीले कुनै बेला गाउँको चल्तीको ठूलै पसल चलाउनुभयो । त्यसको एक एक आम्दानी दाजुको परिवारको पालन, पोषण र शिक्षामा खर्च गर्नुभयो । आफ्नो कमाइले केही रोपनी जग्गा खरिद गर्नुभयो । उक्त जग्गा पनि आज हामी दाजुभाइको नाममा सारिदिनुभयो ।

ठूलीदिदीको वृद्धभत्ताको अधिकांश रकम हाम्रै घर खर्च चलाउनुहुन्छ । केही जम्मा गरेको रकम तिमीहरूकै लागि हो भन्नुहुन्छ । आफूले भन्दा अरूलाई मीठो खुवाउन पाउँदा आनन्द मान्ने । सधैँ भान्छे बन्न रूचाउने । सबैलाई सम्झी सम्झी बाँडीचुँडी खुवाउने उहाँको रुचि एवं कला हो । दाजु, भाउजूसँग कहिल्यै रिस, आरेस नगर्ने उहाँको विशेषता हो ।

हाम्री आमा अर्थात् धेरैको डिल्लीमञ्जरी दिदी वा हजुरआमा हुनेखाने परिवारबाट गरिब परिवारमा नाता जोड्न बाध्य भएकी उच्च आकांक्षा र माइतीमा सर्वप्रिय भएकी चेली । माइतीको खानपान, रहनसहन, रवाफ, तामझाममा रमेकी एक सुन्दर वयस्क नारीलाई त्यो घर केही वर्षका लागि निकै असहज भयो होला । जो उहाँको बेलाबेलाको कहानीबाट बुझेको हुँ मैले । जे जस्तो भएता पनि तत्कालिक समयमा विवाहित नारीको के चल्थ्यो र ? स्वीकार्नु सिवाय । रम्दै बस्दै जाँदा पाँच सन्तान भए ।

पन्ध्र वर्ष जेठो पतिलाई पारिवारिक रथ चलाउन साथ दिएकी मेरी आमा पनि अनपढ नै हुनुहुन्छ । हाम्रा कहरले आफ्नो किरिमिरी हस्ताक्षर गर्न सक्ने मान्छे समाजमा घुलमिल हुँदै जाँदा प्रतिष्ठित सहकारीका बोर्डमेम्बर, सल्लाहकार, वन संरक्षक समिति, कृषि फारम आदिको अध्यक्ष भएर आफ्ना नातिनी पुस्ताको पनि नेतृत्व गर्दै हुनुहुन्छ ।

७३ वर्ष पार गर्दै गर्दा लगभग नेपालको धेरै जिल्ला चहार्नुभएको एक निडर, साहसी वृद्धा हुनुहुन्छ उहाँ । स्पष्ट बोल्ने । अन्याय सहन नसक्ने । अन्याय नगर्ने । सबैलाई समभाव राख्ने । अत्यन्तै सहयोगी । गाउँले र समकक्षीको आँखामा नबिझाउने । नयाँ पुस्तालाई पनि नेतृत्व गर्न सक्ने क्षमता उहाँमा छ । सन्तान र परिवारको विशेष हेरचाह खानपिनमा खासै ध्यान दिन नपर्ने । हाम्री दिदी अर्थात् उहाँको नन्दको कारणले उहाँ निरक्षर भए पनि बाहिरी संसारमा चाहार्ने र रमाउन सक्ने विशेष क्षमता छ ।

माइलो बा अर्थात् पिताजीको भाइ । उहाँको पनि सन्तान निकै ढिलो भयो । दाजुका सन्तान अर्थात् हामीलाई असाध्यै माया र हेरचाह गर्ने, पढ्न उत्पे्ररणा दिने, निडर बन्न सिकाउने तथा दुःख बुझाउने उहाँको विशेषता थियो । उहाँले अल्पायुमा नै हामीलाई छाडेर जानुभयो । उहाँको एउटा छोरो हामीलाई आज निकै प्यारो लाग्छ । उसले पनि हामीलाई निकै नजिक ठान्छ । आदर गर्छ ।

अब दोस्रो पुस्ताको बारेमा थोरै कहन्छु । हामी छ सन्तान एक दाजु जीवित हुनुहुन्न । म तेस्रो सन्तान, कान्छो छोरो । दाइ म भन्दा दुई वर्षले जेठो । पिताजी चवालिस वर्ष हँुदा जन्मेको । उहाँ पढाइ लेखाइमा उति रुचि नराख्ने तर समसामयिक विषय र राजनीतिमा गहन छलफल गर्न सक्ने क्षमता भएको । पिताजीको जस्तो स्वभाव लोभ, रिस, राग, द्वेष नभएको ।

भए आफू र अरूका लागि उत्तिकै खर्चिने । भविष्यको चिन्ता कम, पारिवारिक जिम्मेवारी ढिलै भए पनि बुझेको । कसैलाई मारेर कमाउँ भन्ने सोच पटक्कै नभएको ब्यापारी । परिवारमा जेठो भए पनि अरुको सल्लाह, सुझाव मान्ने । सबैसँग मिल्न सक्ने ।

उहाँकी श्रीमती अर्थात् भाउजू झन्डै उस्तै पारिवारिक पृष्ठभूमिबाट हाम्रो घरमा जोडिएकी, पढाइ लेखाइमा दाजुकै पदचापमा पर्ने, जुझारू महिला । दुःख गरेकी, दुःख बुझेकी । छिटो छरितो जुनसुकै काममा अभ्यस्त हुन सक्ने । छिटै घुलमिल हुन सक्ने वयस्क महिला हुनुहन्छ । एक सन्तानकी आमा भए पनि (देवरको) अर्थात् मेरा छोराहरूलाई पनि उत्तिकै स्नेह गर्ने । घरको सरसल्लाहमा चल्ने । परिवारमा रमाउने एक असल सदस्य हुनुहुन्छ ।

घरकी कान्छी बुहारी मेरी श्रीमती, माइतीमा कल्पना नामले परिचित, गाउँघरमा सुपरिचित सम्भ्रान्त परिवारबाट जोडिएकी एक शिक्षित, सुसूचित नारी हुन् । समाज, राजनीति, र विश्व परिवेश बुझेकी, अनेकौँ सम्भावना बोकेकी, सामाजिक चेत भएकी नारी हुन् । दुई सन्तानकी आमा भएर सन्तानलाई मातृत्वले लछप्पै भिजाउने अति प्रिय परिवारकी सेतु हुन् । झर्किन र ठूलो आवाज गर्न नजान्ने सबैसँग प्रियभाव राख्ने । आफू नखाएर पनि अरूलाई बाँड्न रमाउने । माइतीपट्टी सबैका अति प्रिय चेली हुन् । विगतको ग्लानी नभएकी, ठूलो सपना नदेख्ने र वर्तमानमा रमाउने असल नारी हुन् ।

अब पालो बहिनीहरूको । मेरा तीन बहिनीहरू छन् । तीनैजना अत्यन्तै मिल्ने असल साथी जस्ता । माइतीको सधँै भलो चाहने । दाजु, भाउजू भनेर भेदभाव नगर्ने । बुवा, आमा, फुपू र काकाबुवा सबैलाई समान व्यवहार र माया गर्ने ।

आफ्नो कुरा त मैले माथि नै उल्लेख गरिसकेँ । चार दशक लामो अवधिमा झण्डै २३ वर्ष अघिदेखि आजसम्म महिना नबिराइ विश्वविद्यालयसँग जोडिएको व्यक्ति समाजले आकलन गर्ने उच्चतम निकायमा अध्यापन र उच्चतम तहमा अध्ययन गर्दै गरेको व्यक्ति म स्वयंले जिन्दगी के हो बुझिरहेको छैन ।

अरूको खातिर सजिलै उपयोग हुन सक्ने । मान्छे चिनेर पनि व्यवहारमा छुट्याउन नसक्ने । आम मान्छेलाई समभावले हेर्ने । माताले जस्तै अन्याय सहन नसक्ने । भष्टाचार सहन नसक्ने । अन्याय गर्न हुँदैन भन्ने भावना राख्ने । चुप बस्न नसक्ने आदि विशेषता चाहिँ ममा छ । जे जे भएता पनि परिवारलाई सर्वोपरि ठान्ने । समाजलाई केही दिनुपर्छ भन्ने भावनाले ओतप्रोत छु ।

तर योभन्दा बढी मेरो बारेमा भन्ने, लेख्ने क्षमता नभएको महसुस गरेर अव जीवनको अर्थ खोज्नकै लागि आफूमा ठूलो परिवर्तन आवश्यक छ भन्ने बुझेर आउँदा दिनहरूमा स्वरूपान्तरणको घोषणा गरेको छु । थाहा छैन, समयले योगी बनाउँछ कि सेवक ?

मेरो परिवारको बारेमा पढ्दै हुनुहुन्छ । आजसम्म हामी एघार जनाको एउटा संयुक्त परिवारमा छाँै । पहिलो पुस्ताको चार माता, पिता, काका र फुपू, अनि हाम्रो पुस्ताका चार दाजु, भाउजू, म र श्रीमती । अनि तल्लो पुस्ताका मेरा दुई र दाजुको एक गरी तीन छोराहरू छन् ।

हामीबीच पारिवरिक विषयमा आजको दिनसम्म मनमुटाव भएको छैन । हाँसीखुसी बिहान बेलुका एउटै टेबलमा बसेर खान्छौँ । घर नहुँदा, घरभित्र नअटाउँदा आँगनमा एउटै ओछ्यानमा झरी, बादल, चिसो तातो झेल्यौँ । नहुँदा सबैले आधा पेट खायौँ । अहिले भने पेटभरी खान पाएका छौँ । एउटै छानामुनि निदाउन पाएका छौँ । गर्व छ, मलाई हाम्रो परिवारप्रति ।

मैले मेरो परिवारलाई विश्वविद्यालयजस्तो गरिमामय संस्थासँग दाँज्न खोजेजस्तो भान तपाईंलाई भयो होला । माफ गर्नुस् । त्यसो गर्न खोजेको हैन । मैले त दार्शनिक माल्कोम वाट्सले भने जस्तै “मैले विश्वविद्यालयबाट यो बुझेँ कि मैले कति थोरैमात्र जानेको रहेछु” । भने जस्तै आज मैले जीवनको चार दशकको भोगाइमा यो जानें कि विश्वविद्यालयमा मैले २३ वर्ष सिकेको भन्दा मेरो परिवारले सिकाएको कुरा अथाह रहेछ ।

लेखक त्रिविका उप–प्राध्यापक हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

देवीप्रसाद अधिकारी
देवीप्रसाद अधिकारी
लेखकबाट थप