गीतको कथा

‘आँखा छोपी नरोऊ भनी भन्नुपर्‍या’लाई पञ्चायतविरोधी ठानेर प्रतिबन्ध गरियो’

person explore access_timeअसोज १५, २०७९ chat_bubble_outline0

आँखा छोपी नपरोऊ भनी भन्नुपर्‍या छ ।
मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍या ।।
(शब्द : कालीप्रसाद रिजाल । स्वर तथा संगीत : नारायणगोपाल ।)


यो गीत मैले ०३१ सालतिर लेखेको हुँ । पछि यो गीत रेडियोबाट बज्न थालेपछि मैले धेरैबाट राम्रो प्रतिक्रिया पाएँ । सबैले आफ्नो जीवनसँग मिलेको कुरा सुनाउँथे । एकपटक मेरी श्रीमतीको फुपाजू गम्भीर बिरामी हुनुभयो । उहाँलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । म उहाँलाई भेट्न अस्पताल गएँ । सान्त्वना दिएर फर्कने क्रममा मेरी श्रीमतीकी फुपू मलाई छोड्न अस्पतालको बाहिरसम्म आउनुभयो, त्यतिबेला उहाँले रुँदै भन्नुभयो– हजुरले लेखेको मुटुमाथि ढुंगा राखी हाँस्नु पर्‍या छ भन्ने गीत मेरो जीवनसँग मेल खाएझैँ लाग्छ । यो गीतले भनेजस्तै भएको छ मेरो जीवनमा ।



उहाँले यसो भनेपछि मलाई लाग्यो– गीतलाई मान्छेले आ–आफ्नो पीडासँग मिलाएर बुझ्दा  रहेछन्, सुन्दा रहेछन् । ०३१ सालतिर म सूचना विभागको निर्देशक थिएँ । एक दिन, नारायणगोपाल मलाई भेट्न मेरो अफिसमा आउनुभयो । उहाँले मेरा लेख–रचना पढ्नु हुँदोरहेछ । उहाँको गायकीको म फ्यान थिएँ ।



अचानक उहाँलाई आफ्नै अफिसमा देखेपछि म अचम्ममा परेँ । बाटो बिराएर आउनुभयो कि भन्ने लागेको थियो । उहाँले भन्नुभयो, ‘मैले तपाईंका कविता पढेको छु । त्यसैले तपाईंसँग भेटौँ भनेर आएको ।’ त्यो दिन उहाँले मलाई ‘गीत लेख’ भनेर जानुभयो । उहाँलाई तीन–चार दिनमै गीत चाहिएको रहेछ । मैले गीत लेखेर राखेँ । त्यसको केही दिनमा उहाँ फेरि मेरो अफिस आउनुभयो । मैले उहाँलाई ‘आँखा छोपी नरोऊ भनी’ र ‘झरेको पातझैँ भयो’ बोलका दुई गीत दिएँ ।

त्यसको केही दिनमा यहाँ आएर मलाई एउटा क्यासेट दिनुभयो । ‘सुनेर कमेन्ट गर्नु है’ भन्नुभएको  थियो । त्यो क्यासेटमा मेरो गीत छ भन्ने मलाई लागेकै थिएन । तैपनि त्यति ठूलो गायकले ‘सुनेर कमेन्ट गर्नु’ भनेपछि म हतारिएँ । हतार–हतार घरमा आएर क्यासेट बजाएँ, मेरै दुई गीत पो बजे !

‘आँखा छोपी नरोऊ भनी’ बोलको गीत रेडियोमा खुब बज्न थाल्यो । गीतले चर्चा पाएसँगै मलाई अप्ठेरो  पार्न खोजियो । पञ्चायत कालमा को बढी राजभक्त भन्ने कम्पिटिसनजस्तै हुन्थ्यो ।

कसैले दरबारमा बिन्तीपत्र पठाएछ– सूचना विभागको डाइरेक्टर कालीप्रसाद रिजालले पञ्चायती व्यवस्थाविरोधी गीत लेखेको छ । ‘आँखा  छोपी नरोऊ भनी भन्नु पर्‍या छ, मुटुमाथि ढुंगा राखी हाँस्नु पर्‍या छ’ भन्नुको अर्थ ‘यो व्यवस्थाबाट जनता सन्तुष्ट छैनन्, तर पनि हाँसेर चुपचाप सहिरहेका छन्’ भन्ने हुन्छ ।

त्यसपछि यो गीतलाई रेडियो नेपालमा प्रतिबन्ध लगाइयो । पछि सञ्चार मन्त्रालयका सचिव तीर्थराज तुलाधारले मेरो गीत सुनेर भन्नुभएछ, यो गीतमा व्यवस्थाको कुनै विरोध गरिएको छैन । त्यसपछि मेरो गीत पुनः बज्न थाल्यो ।

मैले धेरैजसो पीडाका गीत लेख्ने गरेको छु । त्यसको कारण के हो भने, म बाल्यकाल त्यति सन्तुष्ट थिइनँ । मेरो बाबुआमा विराटनगरमा बस्ने, मलाई पढ्नका लागि धरान पठाइएको थियो । बुबाआमासँग त मेरो दशैँ–तिहारमा मात्र भेट हुन्थ्यो । खासगरी बुवाआमाको माया नपाएको भएरै मैले पीडाका गीत बढी लेखेँजस्तो लाग्छ ।

अहिले बजारमा मेरा गीत मन पराएर गाउने गायक निकै कम छन् । पहिले नारायणगोपाल हुनुहुथ्यो र मेरा गीत गाउनुहुन्थ्यो ।

अहिले म आफैँले पनि आफ्ना धेरै गीतको हत्या गरेको छु । गीत लेखेर केही समय त्यत्तिकै राख्छु । केही समयपछि पढ्दा आफैँलाई चित्त बुझेन भने च्यातिदिन्छु । गीतबाट पाउने भनेकै श्रोताको माया र आत्मसन्तुष्टि हो । अहिलेसम्म मेरा सयवटा जति मात्र गीत रेकर्ड भएका छन् । अहिले पनि म गीत लेखिरहेको छु, कसैले गाए पनि नगाए पनि ।

(वरिष्ठ गीतकार रिजालसँग प्रमिला भट्टले गरेको कुराकानीमा आधारित ।)

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।