बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण, १५ दिनमा डेढ करोडको व्यापार

शनिबार, १५ असोज २०७९, १६ : ३६
शनिबार, १५ असोज २०७९

चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको ‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको छ । 

दैनिक उपभोग्य वस्तुमा दिइएको छुटका कारण यस्ता पसलमा उपभोक्ताको आकर्षण बढेको हो । सरकारको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यही असोज १ गतेदेखि ४१ जिल्लाका ४५ स्थानमा सुपथ मूल्य पसल सञ्चालमा ल्याएको छ । काठमाडौँमा मात्रै चार स्थानमा सुपथ मूल्य पसल सञ्चालित छन् । ती पसल आगामी कात्तिक १५ गतेसम्म चल्नेछन् । 

अन्य बजारको तुलनामा खाद्य व्यापार कम्पनीको सुपथ मूल्य पसलमा दैनिक उपभोग्य वस्तुको मूल्य कम रहेकाले उपभोक्ताको भीड बढेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । “काठमाडौंसहित अन्य जिल्लामा रहेका कम्पनीको ‘आउटलेट’मा उपभोक्ताको भीड छ”, उनले भने, “सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण छ, देशभर उत्साहजनक रुपमा उपभोग्य वस्तु बिक्री भइरहेको छ । 

कम्पनीले एक महिनाको अवधिमा रु पाँच करोड ४० लाखको दैनिक उपभोग्य वस्तु बिक्री गर्ने लक्ष्य लिएको छ । पन्ध्र दिनका अवधिमा रु एक करोड ५० लाखको सामान बिक्री भएको  र एक हजार क्विन्टल बढी खाद्य सामग्री बिक्री भइसकेको कम्पनीले जनाएको छ । 

आउटलेटबाहेक कम्पनीले अनलाइनबाट पनि खाद्य वस्तुको अर्डर लिने र निःशुल्क होम डेलिभरी गर्ने गरिरहेको छ । कम्पनीले गोगो २०, दराजलगायत अनलाइन सेवा प्रदायक संस्थाबाट घरघरमै निःशुल्करूपमा खाद्य वस्तु पुर्याइरहेको नायब महाप्रबन्धक खनालले बताए । काठमाडौँ, पोखरा र सुर्खेतमा होम डेलिभरी सेवा सञ्चालनमा छ । 

सुपथ मूल्य पसलमा दाल, चामल, तेल, नुन, गेडागुडीलगायत खाद्य वस्तु उपलब्ध छन् । कम्पनीसँगै दुग्ध विकास संस्थान र नेशनल ट्रेडिङले पनि सुपथ मूल्यमा उपभोग्य वस्तु बिक्री गरिरहेका छन् । 

बोका–च्याङ्ग्राको बिक्री नवमीसम्म

सुपथ मूल्य पसल फूलपातीको दिनसम्म खुला रहनेछ । यद्यपि, खसी, बोका तथा च्याङ्‍ग्राको बिक्री भने नवमीसम्म चल्नेछ । कम्पनीले दसैंका अवसरमा खसी, बोका तथा च्याङ्‍ग्राको मूल्य नियन्त्रण गर्न एक हजार आठ सय खसी बोका तथा पाँच सय बढी च्याङ्‍ग्रा काठमाडौँ भित्र्याएको छ । “केही खसी, बोका तथा च्याङ्‍ग्रा काठमाडौँ आइसकेका छन्”, उनले भने, “केही आउँदैछन्, दसैँसम्म लक्ष्य अनुसारको खसी, बोका तथा च्याङ्‍ग्रा बिक्री गर्छौं ।”

कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकेजी रु छ सय ८० र च्याङ्‍ग्राको मूल्य जिउँदो प्रतिकेजी रु एक हजार दुई सय ६० तोकेको छ । यसमा प्रतिकेजी रु १० छुट दिइएको छ । कम्पनीले धादिङ, मकवानपुर र दाङबाट खसी बोका तथा दार्चुलाको अपि क्षेत्रबाट च्याङ्‍ग्रा ल्याएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप