शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : शुल्क तिरेर बाबुआमालाई केयर होम

शनिबार, १५ असोज २०७९, १८ : ४७
शनिबार, १५ असोज २०७९

काठमाडौँ, डल्लुका ७७ वर्षीय राजबहादुर मानन्धर ललितपुरको सानेपास्थित ‘हेल्थ होम केयर नेपाल’ बस्न थालेको १० वर्ष भयो । बाथरोग पीडित उनकी श्रीमती शान्तादेवी मानन्धरलाई सुरुमा यहाँ ल्याइएको थियो । श्रीमतीलाई कुर्न राजबहादुर पनि सँगै आएका थिए । उनकी श्रीमतीको ०७४ सालमा निधन  भयो, त्यसपछि राजबहादुर स्वयंलाई स्याहार–सुसारको खाँचो पर्न थाल्यो, उनी हिँडडुल गर्न नसक्ने भए र स्याहारसुसारका लागि उनी यहाँ बस्दै आएका छन् ।

राजबहादुरले जीवनका साढे ३७ वर्ष अङ्ग्रेजी शिक्षक भएर बिताए, कन्या मन्दिर विद्यालयमा । उनका दुई सन्तानमध्ये अहिले छोरी अस्ट्रेलिया र छोरा अमेरिकामा छन् । ‘अहिले म निद्रा नलाग्ने, खान मन नलाग्ने र दिसा नहुने रोगले ग्रस्त छु ।  यहाँको स्याहारसुसार राम्रै छ,’ ह्विलचेयरमा बसिरहेका राजबहादुर केही निराशावादी कुरा गर्छन्, ‘मेरो त बेला आइसक्यो, बाँच्न पनि नसक्ने मर्न पनि  नसक्ने अवस्थामा पो छु ।’

यस होम केयरमा राजबहादुरजस्तै ४० वृद्धवृद्धाले सेवा लिइरहेका छन् । शनिबार परेको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (१ अक्टुबर)लाई यस होम केयरले वृद्धवृद्धालाई खेलहरू खेलाएर, खानपान गराएर मनायो । शनिबार दिउँसो यहाँ सेवा लिइरहेका ४० वृद्धवृद्धा विभिन्न खेलमा रमाइरहेका थिए । ह्विल चेयरमा बसेका वृद्धवृद्धालाई युवतीहरूले खेल खेलाइरहेका थिए । 

६० वर्षभन्दा माथिका रोगी र अशक्त वृद्धवृद्धा, जसलाई हर क्षण हेरचाहको खाँचो हुन्छ, जसले खानपानदेखि दिसापिसाब गर्न अर्काको सहयोग आवश्यक हुन्छ, जसलाई नियमित औषधोपचारको आवश्यकता हुन्छ, उनीहरूलाई निश्चित शुक्ल लिएर सेवा दिने कम्पनी हो, हेल्थ होम केयर नेपाल । कोही हस्पिटलबाट डिस्चार्ज भएका वृद्धवृद्धा छन्, तर रोगका कारण उनीहरूलाई निरन्तर सेवा वा सहयोगीको खाँचो हुन्छ, त्यस्ता वृद्धवृद्धालाई परिवारले यहाँ सेवाका लागि ल्याएका हुन्छन् । यस होम केयरकी कार्यकारी निर्देशक प्रा. डा. लोचना श्रेष्ठका अनुसार, यहाँ सेवा लिन मासिक ३३ हजार रुपैयाँदेखि ३६ हजारसम्म तिर्नुपर्छ । 

सन् २०१२ मा स्थापना भएको यस होम केयरले आजसम्म दुई हजारको हाराहारीमा वृद्धवृद्धाले सेवा लिइसकेका छन् । ‘हिँडडुल गर्न नसक्ने, श्वासप्रश्वासको समस्या भएका, अल्जाइमरको समस्या भएका वृद्धवृद्धालाई आफन्तले यहाँ ल्याउनुहुन्छ, हामीले यहाँबाट स्वास्थ्य उपचारसहित हेरचाहको  सेवा दिन्छौँ,’ कार्यकारी निर्देशक प्रा.डा. श्रेष्ठले भनिन्, ‘यहाँ श्वासप्रश्वासको समस्या भएका र अल्जाइमरका रोगी बढी छन् ।’ 

काठमाडौँको नघलमा जन्मेकी प्रा.डा. श्रेष्ठले बंगलादेशबाट एमबीबीएस, भारतबाट एमडी र जेरियाट्रिक स्पेसलिस्ट, अस्ट्रेलियाबाट एमआइपिएच गरेकी छन् । 

होम केयरको सोच

लोचनाकी सासु बाथरोगबाट पीडित थिइन् । सासुको मृत्युपछि लोचनाले यो होम केयर खोलेकी हुन् । 

लोचना श्रेष्ठ र उनका श्रीमान् सुनिल श्रेष्ठ दुवै डाक्टर हुन् । सुनिल सर्जन र नेपाल मेडिकल कलेजको प्रोफेसर हुन् भने लोचना आर्मी मेडिकल कलेज सानो भर्‍याङमा प्रोफेसर छन् । १० वर्षअघि यो दम्पती आ–आफ्नो पेसामा व्यस्त थियो । त्यहीबेला लोचनाकी सासुलाई रोगले गलाउँदै लगेको थियो । उनको हेरचाह गर्दा आफ्नो पेसामा समय दिन यो दम्पतीलाई निकै कठिन भएको थियो । त्यतिबेला लोचनाले महसुस गरिन्– रोगी र अशक्त वृद्धवृद्धालाई भरपर्दो सेवा दिने एउटा संस्थाको । सासुआमा बितेको ४५ दिनपछि उनले यो होम केयर सुरु गरेकी हुन् ।  

अस्ट्रेलियामा पढ्दा उनले एल्डर्ली केयर (वृद्धवृद्धाको स्याहार) विषयमा थेसिस गरेकी थिइन् । थेसिस तयार गर्दागर्दै उनले वृद्धवृद्धालाई स्याहार गर्ने एउटा कम्पनी चलाउने सम्बन्धमा सोचेकी पनि थिइन् । उनलाई उनको सीप र शिक्षाले होम केयर चलाउन सहज बनाएको छ । 

उनका अनुसार, विकसित मुलुकमा होम केयरमा वृद्धवृद्धालाई राख्ने प्रचलन  बढेको छ । अविकसित देशमा अहिले सुरु हुन थालेको छ । छोराछोरीहरूले आमाबुवालाई माया नगर्ने होइन, जमाना अनुसार अहिले बाहिर पढ्नुपर्छ,  कमाउन जानुपर्छ । किनभने यहाँ अवसरको कमी छ । त्यसैले बाहिर बस्नेहरूले होम केयरमा बाबुआमालाई राख्छन् । ‘कोही काम गर्ने मान्छे राखेर घरमै राख्दाभन्दा यहाँ औषधि उपचारमा पनि उहाँहरू ढुक्क हुन सक्नुहुन्छ, त्यसैले धेरैले अहिले घरबाहिर रहनेहरूले  होम केयर खोज्न थालेका छन्,’ उनले भनिन्, ‘परिवार छ भने, घरमै राख्नुस्, उहाँहरूलाई परिवारकै माया महत्त्वपूर्ण हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप