शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालका कुन विश्वविद्यालयले कस्ता जनशक्ति उत्पादन गर्छन् ?

आइतबार, १६ असोज २०७९, ०९ : ३७
आइतबार, १६ असोज २०७९

नेपालमा ११ वटा विश्वविद्यालय छन् । ती ११ वटै विश्वविद्यालयमा हरेक वर्ष साढे लाख भन्दा बढी विद्यार्थी पढ्छन् । तीमध्ये सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयमा पढ्छन् । 

त्रिभुवन विश्वविद्यालयमा मात्रै ३ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । गत वर्ष नेपालका विश्वविद्यालयमा ४ लाख ४१ हजार ८१९ विद्यार्थीले अध्ययन गरेका थिए । ती मध्ये सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयबाट ३ लाख ३५ हजार ५४३ विद्यार्थीले अध्ययन गरेका थिए । 

विश्वविद्यालय अनुदान आयोगको वार्षिक प्रतिवेदन अनुसार काठमाडौँ विश्वविद्यालयबाट १८ हजार ३५६, पूर्वाञ्चल विश्वविद्यालयबाट २७ हजार ५२७, नेपाल संस्कृत विश्वविद्यालयबाट ३ हजार ७४९, पोखरा विश्वविद्यालयबाट ३० हजार ५४२, लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ६९५, कृषि तथा वन विश्वविद्यालयबाट ३ हजार ८७१, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबाट १० हजार ११३, मध्यपश्चिम विश्वविद्यालयबाट ७ हजार ३५३, नेपाल खुल्ला विश्वविद्यालयबाट ९५५, राजर्षि जनक विश्वविद्यालयबाट १५३ जना विद्यार्थीले अध्ययन गरेका थिए । 

यसरी अध्ययन गर्नेमा सबैभन्दा बढी म्यानेजमेन्टतर्फ देखिएका छन् । उक्त विषय अध्ययन गर्नेमा ४६.३७ प्रतिशत रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै एजुकेशन पढ्ने १७.१९ प्रतिशत, मानविकी पढ्ने १०.९६ प्रतिशत, साइन्स एण्ड टेक्नोलोजी पढ्ने ८.३८ प्रतिशत, हेल्थ साइन्स ६.३९ प्रतिशत र इन्जिनियरिङ विषय पढ्ने ६.५७ प्रतिशत रहेका छन् । त्यस्तै संस्कृत, कृषि र वन, आयुर्वेदिक, बौद्ध धर्म र कानून विषय पढ्ने ४.१३ प्रतिशत विद्यार्थी रहेका छन् ।  

सन् २०२० मा राष्ट्रिय प्राथमिकताका विषयहरूको लक्ष्यमा स्नातक तहमा १७ प्रतिशत र स्नातकोत्तर तहमा २३ प्रतिशत थियो । तर, स्नातक तहमा ३३.८५ प्रतिशत स्नातकोत्तर तहमा २२.५१ प्रतिशत रहेको आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

गत वर्ष स्नातक तहमा ३ लाख ९४ हजार ८८९ विद्यार्थीले अध्ययन गरेका थिए । भने स्नातकोत्तर तहमा ४३ हजार ६१२ जना विद्यार्थीले अध्ययन गरेका थिए । त्यस्तै पोष्ट ग्रेजुएट (पीजीडी) तर्फ २ हजार १९, एमफिल तर्फ १ हजार ७५, पीएचडी तर्फ २२४ जना विद्यार्थीले अध्ययन गरेका थिए । 

१) त्रिभुवन विश्वविद्यालय :

सन् २०१६ मा स्थापना भएको नेपालकै जेठो त्रिभुवन विश्वविद्यालय अन्तर्गत ६० आंगिक र १ हजार ६२ सम्बन्ध प्राप्त समेत गरेर १ हजार १२३ क्याम्पस छन् । विश्वविद्यालयमा १२९ निकाय सञ्चालनमा छन् । 

नेपालमा उच्च शिक्षा अध्ययन गर्नेमध्ये सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयमै अध्ययन गर्छन् । त्रिविमा ४० केन्द्रीय विभाग, ६२ आंगिक क्याम्पस र १ हजार ६२ वटा सम्बन्धन प्राप्त कलेज छन् । त्रिविले विश्वभरका १७० भन्दा बढी विश्वविद्यालयसँग सम्बन्ध स्थापित गरेको छ । 

त्रिविले हरेक वर्ष ५० वटा प्राविधिक शीर्षकमा प्रमाण–पत्र तहको शिक्षा प्रदान गर्दै आएको छ । त्यस्तै १ हजार भन्दा बढी शिर्षकमा स्नातक र लगभग १ हजार शीर्षकमा स्नातकोत्तर शीर्षकमा शिक्षा प्रदान गर्दै आएको छ । 

त्रिविमा इन्जिनियरिङ अध्ययन संस्थान, चिकित्साशास्त्र अध्ययन संस्थान, वनविज्ञान तथा पशुविज्ञान अध्ययन संस्थान, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, कानुन सङ्काय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र शिक्षाशास्त्र सङ्काय गरी ८ वटा संस्थान तथा सङ्काय छन् । त्रिविले त्यही संस्थान तथा संकायमार्फत नै विद्यालय अध्यापन गराउँदै आएको हो । 

२) काठमाडौँ विश्वविद्यालय : 

२०४८ सालमा स्थापना भएको काठमाडौँ विश्वविद्यालयमा १८ हजार ३५६ विद्यार्थी अध्ययनरत छन् । सन् २०२२ मा स्नातक तहदेखि पीएचडीसम्म ३८९ हजार ३३९ विद्यार्थी उत्पादन गरेको विश्वविद्यालयले जनाएको छ । 

विश्वविद्यालयमा सात वटा सङ्काय छन् । जसमा स्कूल अफ आर्ट, स्कूल अफ एजुकेशन, स्कूल अफ इन्जिनियरिङ, स्कुल अफ ल, स्कूल अफ म्यानेजमेन्ट, स्कूल अफ मेडिकल साइन्स र स्कूल अफ साइन्स रहेका छन् । विश्वविद्यालयमा हाल २०० भन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । 

काठमाडौँ विश्वविद्यालयले बिजनेश एडमिनिस्ट्रेशन, फार्मेसी, इन्भाइरोमेन्ट साइन्स, बायोटेक्नोलोजी, ह्युमन वायोलोजी, मेकानिकल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, मिडिया स्टडीज, सिभिल इन्जिनियरिङ, जियोमेटिक्स इन्जिनियरिङ, डेभ्लपमेन्ट स्टडीज, सोसियल वर्क, टेक्निकल एजुकेशन, सिभिल इन्जिनियरिङ विथ स्पेसियलाइज इन हाइड्रोपावर, ल्याण्डस्केप म्यानेजमेन्ट एण्ड हेरिटिज स्टडीज, डक्टर अफ मेडिसिजन (एमडी) इन ग्यास्ट्रोएन्टेरोलोजी, एमडी इन न्यूरोलोजी जस्ता शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । काठमाडौँ विश्वविद्यालयले कतिपय शैक्षिक कार्यक्रमहरू पहिलो पटक नेपाल भित्र्याएको थियो । 

३) पोखरा विश्वविद्यालय : 

२०५४ सालमा स्थापना भएको पोखरा विश्वविद्यालयमा (पियू) ३० हजार ५४२ अध्ययनरत छन् । पोखरा विश्वविद्यालयमा साइन्स एण्ड टेक्नोलोजी, हेल्थ साइन्स, म्यानेजमेन्ट स्टडीज र ह्युमनिटिज एण्ड सोसल साइन्स गरी ४ वटा सङ्काय रहेका छन् । 

पियूले चारवटै संकायमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । २७ वटा कार्यक्रममध्ये १४ वटा शैक्षिक कार्यक्रम स्नातक तहमा, ११ वटा स्नातकोत्तर तहमा र २ वटा शैक्षिक कार्यक्रम पीएचडी तहमा सञ्चालित छन् । 

४) पूर्वाञ्चल विश्वविद्यालय :

२०५२ सालमा स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालयमा २७ हजार ५२७ विद्यार्थी अध्ययनरत छन् । पूर्वाञ्चल विश्वविद्यालयले इन्जिनियरिङ एण्ड टेक्नोलोजी, स्कूल अफ म्यानेजमेन्ट (बिबिए, एमबीए), बिसिए (बेचुलअर अफ कम्प्युटर एप्लिकेशन), बीआईटी (ब्याचलर अफ इन्फरमेशन टेक्नोलोजी), बीई (बेचुलर अफ इन्जिनियरिङ इन कम्प्युटर इन्जिनियरिङ), एमसीए (मास्टर अफ कम्प्युटर एप्लिकेशन), एमस्सी पीआरडी (मास्टर अफ साइन्स इन पपुलेशन एण्ड रूलर डेभ्लोपमेन्ट) लगायतका विषयमा अध्यापन गराउँदै आएको छ । 

५) नेपाल संस्कृत विश्वविद्यालय : 

२०४३ सालमा स्थापना भएको नेपाल संस्कृत विश्वविद्यालयले नेपालमा संस्कृत शिक्षालाई सर्वसुलभ बनाई संस्कृत वाङ्मयभित्रका आध्यात्मिक मूल्य–मान्यता, तथा उदात्तभावलाई समयको माग अनुरूप प्रवाहित गराउने उद्देश्य थियो । 

दाङको बेलझुन्डीमा रहेको यो विश्वविद्यालयमा हरेक वर्ष १ हजार ५०० भन्दा बढी विद्यार्थी उत्पादन गर्दै आएको छ । 

नेपाल संस्कृत विश्वविद्यालयले उत्तरमध्यमा (प्रमाणपत्र) तह, शास्त्री (बेचुअलर) लेभल, मास्टर (आचार्य) लेभल, पीएचडी र नन–डिग्री सर्ट टर्म ट्रेनिङ विषयको शिक्षा प्रदान गर्दै आएको छ । उक्त विश्वविद्यालय अन्तर्गत १२ वटा आंगिक क्याम्पस छन् । त्यस्तै १४ वटा विद्यापीठ र २ वटा संस्कृत माध्यमिक विद्यालय छन् । गत वर्ष यो विश्वविद्यालयमा १ हजार ६८२ विद्यार्थीले अध्ययन गरेका थिए । 

६) लुम्बिनी बौद्ध विश्वविद्यालय :  

२०६० सालमा स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालयमा ६९५ विद्यार्थी अध्ययनरत छन् । बुद्ध दर्शनको अध्ययन हुने नेपालको पहिलो र एकमात्र विश्वविद्यालय हो । 

यो विश्वविद्यालयले ४ वर्षे स्नातक तहमा बुद्धिज्म र २ वर्षे स्नातकोत्तर बुद्धिज्म तथा पीएचडीका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

७) मध्यपश्चिम विश्वविद्यालय : 

२०६७ सालमा स्थापना भएको मध्यपश्चिम विश्वविद्यालयमा ७ हजार ३५३ विद्यार्थी अध्ययनरत छन् । 

मध्यपश्चिम विश्वविद्यालयमा मानविकी र सामाजिक अध्ययन (एफएचएसएस), व्यवस्थापन, शिक्षाशास्त्र, विज्ञान र टेक्नोलोजी र इन्जिनियरिङ गरेर ५ सङ्काय छन् । १६ वटा आंगिक क्याम्पस रहेको उक्त विश्वविद्यालयमा १ मात्र सम्बन्धप्राप्त कलेज छ । 

८) सुदूरपश्चिम विश्वविद्यालय : 

२०६७ सालमा स्थापना भएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा १० हजार ११३ विद्यार्थी अध्ययनरत छन् । उक्त विश्वविद्यालयले कला, विज्ञान, चिकित्साशास्त्र, कानून, व्यवस्थापन, शिक्षा, प्राविधिक तथा अन्य व्यवसायिक विषयमा अध्ययन, अध्यापन गराउनुका साथै अनुसन्धान समेत गर्दै आएको छ ।  

विश्वविद्यालयले ग्रेजुएट र अन्डर ग्रेजुएट अन्तर्गतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

९) कृषि तथा वन विज्ञान विश्वविद्यालय : 

२०६७ सालमा स्थापना भएको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ३ विषयगत सङ्काय र १ क्याम्पस गरेर ७ निकाय छन् । उक्त विश्वविद्यालयमा हाल १ हजार ८८३ विद्यार्थी अध्ययनरत छन् । 

विश्वविद्यालयले ४ वर्षे बिएस्सी एजी, एमएस्सी एजी, बिएस्सी फिसेरिज, एमस्सी इन बायोटेक्नोलोजी, एमएस्सी इन वीड साइन्स, एमएस्सी सीड टेक्नोलोजी, एमएस्सी एग्रिविजनेश म्यानेजमेन्ट र पिएचडी प्रोगाम इन डेभल्पमेन्टल स्टडीजका कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

१०) नेपाल खुल्ला विश्वविद्यालय : 

२०७३ सालमा स्थापना भएको नेपाल खुल्ला विश्वविद्यालयमा ९५५ विद्यार्थी अध्ययनरत छन् । खुला शिक्षा प्रणालीद्वारा विभिन्न विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने, गराउने उद्देश्यका साथ यो विश्वविद्यालयको स्थापना भएको थियो । 

औपचारिक शिक्षामा नसमेटिएका विद्यार्थीहरूलाई शिक्षा क्षेत्रमा समेट्न बेलायतबाट खुल्ला विश्वविद्यालयको अवधारणा सुरू भएको थियो । सोही आधारमा नेपालमा खुल्ला र दूर सिकाईको विधिमार्फत अध्ययन–अध्यापन गराउन यो विश्वविद्यालयको स्थापना भएको हो । 

यो विश्वविद्यालयमा हाल तीन वटा संकायमार्फत खुल्ला रूपमा अध्ययन–अध्यापन हुँदै आएको छ । जसमा व्यवस्थापन तथा कानून सङ्काय, मानविकी तथा शिक्षा सङ्काय र विज्ञान, स्वास्थ्य तथा प्रविधि सङ्काय रहेका छन् । 

विश्वविद्यालयले प्राज्ञिक, अनुसन्धानमुलक तथा पेशागत विकास सम्बन्धी २२ वटा विभिन्न तह र विषयका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

विश्वविद्यालयमा पशागत डिप्लोमा, स्नताक, स्नातकोत्तर एमफिर र विद्यखवारिध तहका कार्यक्रमा सञ्चालन छन् । 

विश्वविद्यालयले आफ्नै डाटा सेन्टरको स्थापना गरी सबै विद्युतीय तथ्यांकको आधारमा अध्यापन गराउँदै आएको छ । 

११) राजर्षि जनक विश्वविद्यालय : 

२०७४ सालमा स्थापना भएको राजर्षि जनक विश्वविद्यालयमा १५३ जना विद्यार्थी अध्ययनरत छन् । उक्त विश्वविद्यालयमा कृषि, कला, आयुर्वेद, दर्शन, वन, कानून, व्यवस्थापन, चिकित्सा र पर्यटन लगायतका विषयमा अध्ययन अध्यापन हुँदै आएको छ । प्रारम्भिक चरणमा विश्वविद्यालयले सार्वजनिक स्वास्थ्य र कानूनमा स्नातक पठनपाठन सुरू गरेको थियो । 

साइन्स एण्ड टेक्नोलोजी, म्यानेजमेन्ट र ह्युमनिटिज एण्ड सोसियल साइन्सेस गरेर तीन वटा सङ्काय रहेका छन् । जसमा स्नातक तह अन्तर्गत तीनै संकायका शैक्षिक कार्यक्रम सञ्चालनमा छन् भने स्नातकोत्तर तहमा म्यानेजमेन्टको शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप