शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालस्थित रोमानियाको अस्थायी कन्सुलर कार्यालयमा कसरी हुँदैछ काम ?

आइतबार, १६ असोज २०७९, १४ : ४१
आइतबार, १६ असोज २०७९

सरकारले वैदेशिक रोजगारीका लागि रोमानिया जानेहरूको भिसा सहजीकरणका लागि अस्थायी कन्सुलर कार्यालय स्थापना गरेको छ । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा स्थापना गरिएको अस्थायी कन्सुलर कार्यालयले ३ महिनासम्म मात्र काम गर्नेछ । त्यसपछि बन्द हुने वा समय थप हुने भन्ने अहिले नै यकिन भइसकेको छैन । 

यसअघि वैदेशिक रोजगारीका लागि रोमानिया जाने नेपालीहरूले भिसा प्रक्रियाका लागि भारतको नयाँ दिल्लीस्थित भारतका लागि रोमानिया दूतावास धाउनुपर्ने बाध्यता थियो । रोमानियामा वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकहरूले त्यहाँबाट इम्पोईमेन्ट कन्ट्र्याक्ट प्राप्त गरिसकेपछि भिसा प्राप्तिका लागि आवेदन गर्न दिल्ली जानुपर्ने बाध्यता थियो । 

त्यसरी जाँदा अतिरिक्त समय र पैसा खर्च हुने समस्या थियो । उक्त समस्यालाई समाधान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भिसा प्रक्रियालाई सरल बनाउन ताहाचलमा अस्थायी रूपमा रोमानियन मिशन स्थापना गरेको थियो । 

१५ सेप्टेम्बर २०२२ मा स्थापना भएसँगै हालसम्म करिब २ हजार जनाको आवेदन सङ्कलन भइसकेको वैदेशिक रोजगार कार्यालयले ताहाचलले जनाएको छ । रोमानिया मिशनका फोकल पर्सन तथा कार्यालयका निर्देशक वसन्त बोहराले मिसन स्थापना भएपछि रोमानिया जान चाहने नेपालीहरूलाई एकदमै सहज भएको बताए । ​

कसरी हुन्छ काम ? 

म्यानपावर कम्पनी तथा व्यक्तिगत रूपमा आवेदन पेस भएपछि कार्यालयले सम्बन्धित व्यक्तिलाई बोलाउँछ । उनीहरूसँग भएको सक्कली कागजात हेरेर त्यही आधारमा स्क्यानिङ गरेर आफ्नो सिस्टममा अपलोड गर्छन् । 

‘सबै ठिक छ भने त्यो डकुमेन्टहरू ५ देखि ७ दिनभित्रमा एप्रुभ हुन्छ । निवेदन सङ्कलन गर्ने, अनि त्यता पठाउने, भिसा पेस गर्ने काम गर्छन् । यो सबै प्रक्रिया अनलाइन मार्फत हुन्छ ।’ निर्देशक बोहराले भने । 

आवेदन पेस गरेर डकुमेन्टहरू सबमिट भइसकेका सबैले भिसा पाउँछन् । भिसा नपाउने सम्भावना पहिला नै हुन्छ र त्यस्ता डकुमेन्टलाई पहिला नै रिजेक्ट गरिदिन्छन् । 

सबै कागजात सही भएको प्रमाणीकरण गरिसकेपछि आवश्यक दस्तुर बुझाउनुपर्छ । भिसा शुल्क १७ हजार ५०० रुपैयाँ तोकिएको छ । उक्त पैसा भिसा लागे पनि वा नलागे पनि फिर्ता हुँदैन । 

पछि पैसा फिर्ता नहुने हुँदा मिसनका कर्मचारीहरूले कागजात एकदमै राम्रो तरिकाले हेर्छन् । त्यो हेरेर सबै फाइनल भएपछि मात्रै कार्यालय नजिकै रहेको लक्ष्मी बैंकमा रहेको रोमानियाको खाता नम्बरमा उक्त पैसा जम्मा गर्नुपर्ने हुन्छ । 

मिसन स्थापना भएदेखि हालसम्म कसैको पनि भिसा जारी भइनसकेको निर्देशक बोहराले बताए । 

‘अहिलेसम्म निवेदन सङ्कलन भइरहेका छन् । सङ्कलन भएका निवेदन जाँच गरेर आफ्नो सर्भर मार्फत भिसा जारी गर्ने निकायसमक्ष पठाउँछन् । अनि उताबाट भिसा जारी भएर आउँछ ।’ निर्देशक बोहराले भने । 

अस्थायी नियोगमा रोमानियाले ५ जना कर्मचारी खटाएको छ । उनीहरू सबै रोमानियाबाटै आएका हुन् । अस्थायी नियोग १३ नोभेम्बर २०२२ सम्म मात्र खुल्ला रहनेछ । भने ३ नोभेम्बर सम्म मात्र निवेदन सङ्कलन गर्नेछन् । 

त्यसपछि थप समय राख्ने वा नराख्ने भन्ने हालसम्म कुनै निर्णय रोमानिया सरकारले गरिसकेको छैन । 

‘कार्यालय थप गर्ने विषयमा दुवै सरकारबीचको आपसी समझदारीमा पनि हुन्छ होला । अहिले तीन महिनाको प्रगति कस्तो रह्यो त्यो आधारमा रोमानियाले थप पनि गर्न सक्छ । तर, अहिलेका कर्मचारी भने तीन महिनाभन्दा बढी बस्दैनन् । त्यसपछि थप गरियो भने नयाँ आउलान् ।’ निर्देशक बोहराले भने । 

हाल दैनिक १५० देखि २०० जनाको आवेदन सङ्कलन गर्ने गरिएको अस्थायी मिसनका अधिकारीहरूले जनाएका छन् ।   

अहिलेसम्म करिब ६ हजारको हाराहारीमा निवेदन ‘क्यू’ मा छन् । ती कार्यालय स्थापना हुनुभन्दा अगाडि देखिकै हुन् । कार्यालय स्थापना भइसकेपछि २ हजारको हाराहारीमा आवेदन पेस भएका छन् ।  

तीन महिनाको लागि मात्र किन ? 

वैदेशिक रोजगारीमा जाने नेपालीहरूका लागि रोमानिया एक राम्रो गन्तव्य मानिन्छ । युरोपेली मुलुक भएकाले मध्यम स्तरका नेपालीहरूले आफ्नो श्रम गन्तव्य रोमानियालाई लिन्छन् । 

त्यसका लागि म्यानपावर व्यवसायीहरूले ५ देखि ७ लाख रुपैयाँसम्म शुल्क लिने गरेका छन् । र भिसा प्रक्रियाका लागि दिल्ली जानुपर्ने बाध्यता थियो । 

गत वर्ष मात्र २ हजार भन्दा बढी नेपालीहरू रोमानिया गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ । 

यो सङ्ख्या क्रमिक रूपमा बढ्दै गएपछि सरकारले नेपालमै रोमानियाको दूतावास स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको थियो । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले रोमानिया सरकारसँग छलफल अगाडि बढाएका थिए । सोही आधारमा तत्काललाई अस्थायी नियोग खोल्न रोमानिया सरकार तयार भएको थियो । 

अहिले तत्काललाई अस्थायी कार्यालय खोलिएको र निकट भविष्य स्थायी कार्यालय खोल्नको लागि पहल भइरहेको मन्त्रालयले जनाएको छ । 

भिसाका लागि दिल्ली जानुपर्ने बाध्यता अन्त्य गर्दै परीक्षणको लागि भए पनि नेपालमा अस्थायी कार्यालय खोल्न रोमानिया सरकार तयार भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप