शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँकै मुखमा अस्थायी पुलले ल्याएको खुसी

आइतबार, १६ असोज २०७९, १५ : २६
आइतबार, १६ असोज २०७९

“यो वर्ष त दसैँंले भन्दा पनि नदीमा ह्युम पाइप राखेर यातायात सञ्चालन हुँदा बढी खुसी लाग्यो । अब त मेलम्चीवासीलाई  हिँदमा मात्रै भएपनि आउजाउ गर्न पनि सहज भयो । ”, मेलम्ची ९ का राजु पुरीले भने । 

बिरामी पर्दा र छिटो पुगेर आउनुपर्ने अवस्थामा वर्षायाममा धेरै धेरै सकस भएको थियो,  गाउँमा दैनिक एक सय २० लिटर दूध सङ्कलन गरेर मेलम्ची बजारसम्म ल्याउने गर्दै उनले बताए । अस्थायी पुल बनेपछि मेलम्ची पारी रामपुर बेँशीबाट बोक्नुपर्ने समस्या केही समय भए पनि हटेको छ ।  गाडी प्रयोग गर्दा बाहुनेपाटी घुमेर आउनुपर्दा समय पनि बढी लाग्ने पुरीले बताए । 

जम्माजम्मी नौ महिनामात्र यातायात आवतजावतमा सहज हुने  अस्थायी पुल (ह्युम पाइप) बनाउँदा नागरिकमा राहतको महसुस भएको छ । दैनिकजसो बजार आउजाउ गर्नुपर्नेका लागि सहज भएको छ । मेलम्ची नगरपालिका–९ र १० मा उत्पादन भएको तरकारी, फलफूल, दूध र मासुका लागि पशुपन्छी बजारसम्म ल्याउन सहज भएको छ ।

यस्तै पाँचपोखरी थाङपाल गाउँपालिका र ईन्द्रावती गाउँपालिकाका नागरिकलाई त्यहाँबाट बजारसम्म आउजाउ गर्न  सहज भएको छ । घुमेर बाहुनेपाटीको बाटो प्रयोग गर्नुपर्ने समस्या हटेपछि मेलम्ची बजारमा पनि चहलपहल बढेको छ । 

“गाउँमा सानो किराना पसल छ । वर्षायाममा त जसोतसो गरेर मात्र चलाइयो । यो बीचको समय त धेरै कष्ठ गरेर सामान ल्याइयो बोकेर पुल तार्नुपर्ने, नबोकौँ भने बाहुनेपाटी घुमेर आउनुपथ्र्यो तर अहिले त दसैँ आएको भन्दा पनि बढी खुसी लागेको छ मलाई त” पाँचपोखरी थाङपाल गाउँपालिका रवीन थापाको भनाइ थियो । उहाँजस्ता गाउँमा किराना पसल चलाउने, दूध सङ्कलन गरेर बजारमा ल्याउने, तरकारी उत्पादन गर्ने सबैलाई बजारसम्मको पहुँच सहज भएको छ । 

खोलामा पानीको सतह बढेपछि असार महिनामा अस्थायीरुपमा बनाइएको पुल बगाएपछि साना गाडी प्नि मारमा परेका थिए । तीन महिनाजती गाडी नै घरमा लगेर राख्नु परेको  मेलम्ची– ९ का रामकृष्ण धितालले बताए । दसैँको मुखैमा खोलामा ह्युम पाइप राखेर अस्थायी रुपमा बनाइएको पुलले खुसी दिएको र तीन महिनासम्म थन्क्याइएको गाडी बल्ल गुड्न पाएको  उनले बताए । गाउँमा सङ्कलन हुने दूध, तरकारी तथा खसीबोका बोकेर दैनिक बजार आउने गाडी वर्षायामको तीन महिनामा त गाउँमा कोही बिरामी परे अस्पतालसम्म लैजाने र कहीकाहीँ अत्यावश्यक काम परे मात्र घुमेर बजारसम्म गएको चालक धितालको भनाइ थियोे । उनीजस्ता साना ट्रक चलाउनेहरुले पनि असार, साउन र भदौ महिनासम्मा आफ्ना सवारी साधन थन्क्याएर राखेका थिए  । 

गत वर्षको बाढीले पक्की पुल बगाएकाले  मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ । विसं २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात पक्की पुल र ११ झोलुङ्गे पुल बगाएको थियो ।

यातायात सञ्चालन नहुँदा पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा ङेमा तामाङले वर्षाको तीन महिनासम्म जोहो गरेको सामानले छाक टार्नुभएकामा अहिले अस्थायी पुल बने पछि सहजै सामान लैजान सकिनेमा उनी ढुक्क छन् । 
 
मेलम्ची नगरपालिकाले दसैँलाई लक्ष्य गरेर मेलम्ची र इन्द्रावती नदीमा ह्युमपाइप राखेपछि आवतजावतमा सहज भएको छ । नगरपालिकाले वडा नं ११ फट्टेस्थित मेलम्ची खोलामा पुरानो मोटरेबेल पुल भएको ठाउँमा अस्थायी पुल बनाएको हो ।

ईन्द्रावती खोलामा पाँचपोखरी र इन्द्रावती जाने ठाउँमा पनि अस्थायी पुल सञ्चालनमा ल्याइएको छ । फट्टेस्थित मेलम्ची खोलामा बनेको पुलले हेलम्बु, मेलम्ची र पाँचपोखरीका नागरिकलाई यातायातको पहुँचमा सहज तुल्याएको छ भने ईन्द्रावती खोलामा बनेको अस्थायी पुलबाट पाँचपोखरी, ईन्द्रावती र मेलम्चीका वासिन्दालाई सुविधा पुगेको छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप