दसैँ

बा–आमा बिनाको दसैँ, खै के दसैँ ?

person explore access_timeअसोज १७, २०७९ chat_bubble_outline0

यस वर्ष बडा दसैँ सबैको घर आँगनमा पाइला टेकिसकेको छ । चारैतिर गुन्जिएको मालश्रीको विशेष धुनले सुनमा सुगन्ध थपिदिएको छ । दसैँको लहडमा मनका आवेगहरू अभिव्यक्त गर्न लहडिएको यो लेखकलाई विगतका दसैँको ताजा क्षण स्मरण गराएको छ । पढ्ने बेला होस् या जागिर खाने क्रममा घर सँगको भौतिक दुरी बढे पनि २९ वर्षको उमेरसम्म आइपुग्दा परिवारबाट टाढिएर, घर नगएर दसैँ नमनाएको याद छैन । 


दसैँमा घर कहिले जाने सर ? जसले जहाँ देखे पनि सोधिरहेको प्रश्न । ‘जान्छु होला छिटै’ मेरो भनाई । तर अहँ मलाई घर जानै छैन । किन नजानु त्यो पनि थाहा छैन । वर्षको ठुलो चाड झन् त्यसमाथि सबैभन्दा धेरै दिन बिदा हुने समय । दसैँ मान्यजन ठुलाबडाबाट आशिष थाप्ने चाड न हो । जन्मदाता भन्नु या सृष्टिकर्ताकै रूपमा रहेका बा–आमा भन्दा ठुलाबडा अरू को हुन सक्छन् होला र ? 



बाल्यकालमै स्वर्गको यात्रा तय गर्नुभएकी आमाको मिट सम्झना सेलाएको छैन । भर्खरै वैशाखमा ब्रह्मलीन हुनुभएका बाको परमधामले नसोचेको बज्रपात खेप्नु परेका बेला यी चाडबाड यसै उराठ लाग्दा रहेछन् ।  जन्मदाताहरूको बिछोडको पीडालाई प्रकृतिको सार्वभौमिक नियम र संसारको रित सम्झिदा पनि चाडबाडमा सोधिने यस्ता सार्वजनिक प्रश्नहरूले आगोमा घिउ थपेजस्तै झस्काई दिँदो रहेछ ।  



बा–आमा बिनाको दसैँ यसै त खल्लो छ । बा–आमा बिनाको दसैँको गाढा टीका सायद बस्दैनथ्यो होला । र, त धर्मले पनि वर्षभरी नै चाडबाड बार्न बन्देज लगाएको । 

समयले हरेक कुरालाई यसरी कटु सत्य र यथार्थपरक बनाइदिन्छ कि बारबार हामी त्यही कुराको वरपर रुमल्लिन बाध्य हुन्छौ । जति पीडाको अनुभूति आमाले बाल्यकालमा छोड्दा पनि बुवाले रत्तिभर महसुस गर्न दिनुभएको थिएन, आज त्यही सृष्टिकर्ताको अभावमा जीवन कहीँ कतै टक्क अडिएको आभाष हुन्छ ।

हो ! यो खल्लो दसैँ भन्दा बरु स्वादिलो लाग्छ माकुराको जालोझैँ अल्झिएका बासँगका यादहरु ।   

बाको कोट अझै त्यै घरमा छ तर छैन त्यसमा जोडिएको न्यानो मखमली माया । बाको आँखाको चस्मा र शिरको टोपी त्यहीँ दराजमा छ तर छैन बालाई देख्ने चस्माको सङ्लो दृष्टि अनि शिरको टोपीको उचाइ । 

बा हुँदा लाग्थ्यो, यी आँखाका मूलमा बलियो बाँध छ । बा गएदेखि लागिरहेछ, बस्तीका तमाम धूलो धुँवा, सबै मेरै आँखामा आउँछन् र बिछट्टै बिझाउँछन् । यदि आँसुले स्वर्गको भर्‍याङ बन्दो हो त, म भेट्थेँ बालाई र भन्थेँ, ‘आऊ न बा, तिम्रा हातका औंला, मेरा निधारमा त्यही आशीर्वाद र जमरा फेरि लगाउन मन छ’ भनेर ।

जीवन हेर्दा सजिलो देखिन्छ तर त्यही सजिलोभित्र असजिला घटनाहरू सबैको जीवनमा कहीँ न कतै देखा परिरहन्छन् । अहिलेका लाऊँ लाऊँ र खाऊँ खाऊँ उमेरका केटाकेटीलाई चोखोमीठो खान, नयाँ कपडा फेर्न  पहिलेजस्तो दसैँ नै कुरिरहनु पर्ने बाध्यता छैन । दसैँको विशेष टीका,  जमरा लगाउने र मान्यजनको  आशिष थाप्नेबाहेक हुने खाने परिवारका लागि सधैँ दसैँ जस्तै नै हुन्छ ।

हामी केटाकेटी हुँदा बाको इच्छा अनुसारको एकनासै अलि राम्रै कपडा फेर्नलाई दसैँ नै  कहिले आउला भनेर कुरेको हिजै जस्तो लाग्छ । बाले किनिदिएको त्यही नयाँ कपडा लगाएर मान्यजनका हातबाट टीका ग्रहण गर्दै आर्शीवाद थाप्दाको आनन्द अर्कै हुन्थ्यो  । 

बाआमाको हात समाई मामा घर जाने भन्दा मन अझै फुरुङ हुने गरेको, मामाघरमा भान्जालई माया गर्दै दिएको दक्षिणाको बयान गरी साध्य नै छैन । तिनै दक्षिणा बटुलेर पुनः परिवार सँगै बसेर तास खेल्दै रमाइलो गर्नुको मजा अनुपम लाग्थ्यो । 

अहिले महिना भरिको कमाइले त्यो पैसा पाउँदा जस्तो खुसी कहाँ पाइन्छ र ? बाले असोज लाग्नु भन्दा अगाडि नै बैंकमा गई नयाँ नोट साटेर ल्याउनु भनेका पनि हिजो अस्ति जस्तै लाग्छ । खै यो पालि खसी खोज्ने हैन त बाबु ? भनेर झक्झकाएको पोहोरै जस्तो लाग्छ । 

त्यसमाथि घर रंगरोगन, दसैँको पूजा घर, दुर्गादेवीको सप्तशती पाठ पढ्नु लगाएको सम्झना अझै ताजै छ । रेडियो, टिभीका समाचार सुन्दै दसैँको दिनको मुख्य साईत भित्तेपात्रोमा देखिने गरी पोहोर साल लेख्न लगाएको सायद अझै मेटिएको छैन होला । दसैँ टीकाको दिन ठुलोबाट टीका लगाउदै सानो उमेर समूहमा जानुपर्ने नियमले घण्टौँ सम्मको दसैँको चहलपहल रहिरहन्थ्यो । 

दसैँको कपडा आफूलाई भन्दा पनि बालाई मन परेको हुन्थ्यो र लगाउनै पथ्र्याे । आफैले रोजी रोजी कपडा किन्नलाई  गोजी हेर्नुपर्ने अवस्था थियो । हिजो आज म इच्छा अनुसारको नयाँ कपडा फेरेर  प्रत्येक दिन दसैँ मनाउन सक्ने अवस्थामा छु  । आखिर त्यसले खुसी दिने भए त म आज खुसी हुनु पर्ने हो । 

बाले पठाएका पैसा लगेर बैंकमा पुगेर दक्षिणाको लागि नयाँ नोट साटेर लैजाने मान्छे आज आफ्नै कमाई साटेर लैजान सक्ने अवस्थामा छु  । यदि पैसाले, नयाँ नोटले या कपडाले खुसी दिने भए त म हर्षित नै हुनुपर्ने हो । तर मनमा हर्ष, उमंग र खुसीको महसुस अहँ पटक्कै भएको छैन । आज ती मीठा पल सम्झना मात्रै भएका छन् । समय कति छिट्टै गयो भन्या । परिस्थितिले कति खुसी खोस्यो कतै थपिदिए होला । दसैँ फर्कियो तर हिजोको मेरो परिस्थिति फर्केन ।

जब जब यस्तै नचाहँदा नचाहँदै पनि यस्तै सम्झिनै पर्ने क्षणहरू आउँछन्, म कठिन अवस्थामा पुगेको महसुस गर्दछु । कर्मयोगमा विश्वास राख्ने म आफै जीवनको दोबाटोमा उभिएको छु । दसैँ बिदा भनेपछि सबैकुरा बिर्सिएर दौडिने तर आज दसैंबाट भाग्ने गन्तव्य कहाँ होला भनेर खोजिरहेछु  । कुनै कुनै विगत पनि वर्तमान भएर मनमा बसिरहन्छन्, त्यो एउटा संयोग पनि होला । तर, वर्तमानको यथार्थ विगतका चित्रण नै हो जस्तो लाग्छ । 

दसैँको मुखैमा जन्मदाताहरूलाई मनले स्मरण गर्दा, आमालाई धर्ती मान्दा, बालाई आकाश सम्झिदा र सन्तानलाई क्षितिज बुझदा, आमाका प्रसव वेदना र स्तनपान गराउनेबाहेक सबै कर्ममा बा–आमाले बराबर त्याग गरेका हुन्छन् जस्तो लाग्छ । 

बाका संस्कृत श्लोकले भरिएका दसैँका आशिष नबुझेपनि सरल शब्दमा कर्मयोगी बन्नुपर्छ, धर्म र सत्यको बाटो समात्नुपर्छ भन्ने कुरा नै ठुलो आशिष लाग्थे । आफूले जति दुःख गरेर भए पनि छोराछोरीको खुसीमा आफूलाई हराउनु भएका बाका पनि कति रहर थिए होला तर छोराछोरीका अगाडि ती कुनै रहर अंकुराउन नै पाएनन् । 

बा रिसाउँदा, झर्किदा, फकाउँदा, घुम्दाका हरेक क्षण अहिले पनि स्मृतिमा घुमिरहन्छ ।  बाले दसैँका लागि जे जस्तो ल्याई दिनुभयो, कुनै दिन यस्तो उस्तो भन्ने शब्द उच्चारण गर्न यो सन्तानले सकेन । अहिले सम्झन्छु मायाले हो कि रहरले, बाध्यताले हो कि विवशताले ? सन्तानका  खुसी किन्न तयार भएका बाको त्याग, आमाको प्रसव पीडा भन्दा कम थिएन ।  

बाले सायद सबै छोराछोरी आफ्नो ठाउँमा स्थापित भइदिओस् भनेर हरेक दसैँमा दिने आशिष यो पाली पनि दिनुहुन्थ्यो होला ।  तर खै ! कसरी के गरी आशिष, आशा, अपेक्षा यसै त्यसै आधा अधुरो नै रहे । सन्तानको  खुसी हरक्षण किन्न तम्सिनुभएको  बाको लागि मेलै कुन कुन खुसी किन्न सक्थे होला, प्रश्न उत्तर दुवै अनिर्णीत भए ।  

जे चिज आफूसँग छैन, त्यसको महत्त्व बढी हुने रहेछ । आमा बिनाका विरक्त लाग्दा २२ साल बितिसके तर पनि बा बिनाका ६ महिना यो मनुस्मृतिमा दश मिनेटजस्तै लाग्छ ।  अझै पनि कताबाट बुवाले केही भन्नुहुन्छ कि भन्ने लागिरहन्छ । जब जब चाडबाड आउँदो रहेछ, तब तब घरमुलीको याद अझ धेरै मानसपटलमा घुम्दो रहेछ । 

मेरो अन्तरमनमा पनि बाका प्रत्येक कुराहरू क्यामेराको रिल जसरी एकपछि अर्को गरी घुमिरहेका छन् । बाका हरेक कुरा, उहाँका भोगाइ र अनुपम अनुभव साँच्चिकै विश्वविद्यालय हुन् भन्दा फरक पर्दैन । लाग्छ, सन्तानका  लागि यति धेरै समर्पण र त्याग गर्ने बाका लागि बेलैमा आफूले केही गर्न पो सकिएन कि ? 

वर्षकै सुरुमा दसैँको मुखैमा रातो टीका, पहेँलो जमरा र नयाँ नोट थालमा फिँजाएर दुई हातले मेरो शिरमाथि टीका छर्केर निधारमा टीका लगाई दिँदै अनुपम आशीर्वाद दिने आमा बिनाको बाल्यकालको पीडालाई बिर्साएका बालाई पनि हामीबाट खोसेर दैवले अन्याय गरेको छ । आशीर्वाद दिने मान्छे बिना आखिर दसैँ वरपर जति नै चहलपहल भए पनि केही पनि होइन रहेछ । 

आफ्ना बाआमा गुमाउने परिवारका सन्तानहरूको लागि दसैँ सधैँ निरस र उदासमय हुने रहेछ । चाडबाडका बिचमा मन भुलाउन साथीभाइले सम्झिने रमाइला  पार्टी र उत्सवहरूको निमन्त्रणा यसै त्यसै आइरहन्छन् । तर, खै किन मनले मान्दैन । मलाई रमाइलो माहौल बीचमा जान नपरोस् जस्तो लाग्छ ।  

बा बिनाको यो पहिलो दसैँ निधार खाली बनाएर जाँदैछ । सधैँ निधार भरिन भाग्यविधाताले भाग्य लेख्ने कलम जन्मदिने बा–आमाका हातमा सुम्पिदिएको भए सायद यस्तो हुँदैनथ्यो होला । 

लाग्छ, बासँगै मेरो जिन्दगीका सबै दसैँले अब बिदा लिए । दसैँको बढी चाख लाग्न छोडिसक्यो । खैर केही छैन, सबैको भाग्य र समय एकनास हुँदैन । अब त केही दिन फेसबुकका भित्ताहरू बासँगै उभिएका फोटोले भरिनेछन् । फोटो मात्र होइन, बाआमाका आशिषले सबैका जिन्दगी रंगिनेछन् । 

म मेरा आवेग अभिव्यक्त गरिरिहँदा निरश भए पनि निराशावादी कदापि छुइन । आमाको आशिष, बाको भरोसा र परिवारको विश्वासबाट केही न केही गर्ने हुटहुटी हिजो पनि थियो, आज पनि छ र जीवन रहुन्जेल रहिरहनेछ । यही आड भरोसाले जीवनमा  धेरै विश्वास बढ्दै गएको छ । 

बाले भनेझै म केही गर्न जन्मिएको हुँ जस्तो लाग्छ ।  हुन त, मैले मात्रै बा–आमा बिनाको जीवन मात्र भोगेको छुइन होला । तर मजस्ता सन्तानका अनुभव भोगाई, इच्छा, चाहनाले भरिएका भावहरु जसले हामी सबैलाई सान्त्वना मिलोस्, मन दरिलो बनोस् ।  दसैँको यही शुभकामना ।   

लेखक खास गरी वन तथा वातावरण विषयमा  कलम चलाउँछन् 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।