बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

न्यून मात्रामा सवारी चल्दा पनि १५ सयलाई कारबाही, २० वटा सवारी दुर्घटना

सोमबार, १७ असोज २०७९, १४ : ५०
सोमबार, १७ असोज २०७९

दसैँ बिदाका कारण न्यून मात्रामा सवारीसाधन चले पनि ट्राफिक प्रहरीले एकै दिन १ हजार पाँच सय सवारीसाधनलाई कारबाही गरेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी एकै दिन १ हजार पाँच सयलाई कारबाही गरिएको ट्राफिक प्रहरीले बताएको हो । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह प्रवक्ता एसपी अवदेश विष्ट क्षेत्रीका अनुसार आइतबार एकै दिन एक हजार पाँच सय सवारीसाधनलाई कारबाही गरिएको हो । न्यून मात्रामा सवारीसाधन चलेको भए पनि मादक पदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन कायम नगर्ने, लापरबाहीपूर्वक सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने सवारी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो । 

एसपी विष्टका अनुसार आइतबार मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने २ सय १० सवारीसाधन र चालकलाई कारबाही गरिएको छ । आइतबार उपत्यकामा साना ठुला गरी २० वटा सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ । जसमा २१ जना सामान्य घाइते र एक जना गम्भीर घाइते भएका थिए । 

मोटरसाइकल दुर्घटनाका गम्भीर घाइतेको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । खुला सडक हुँदा लापरबाहीपूर्वक सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने र लेन अनुशासन पालना नगर्दा न्यून सवारीसाधन चल्दा पनि दुर्घटनाको सङ्ख्या धेरै भएको ट्राफिक प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप