दसैँ

दसैँ बिदाको सदुपयोग : पुस्तक पढ्ने कि घुम्ने ?

person explore access_timeअसोज १७, २०७९ chat_bubble_outline0

बडा दसैँको बिदामा धेरैजसो व्यक्तिहरू आआफ्नो गाउँघर जान्छन्, सहरमा बस्नेहरू यतै रमाइलो गर्छन् । यो बिदामा कोही भने स्वदेशका विभिन्न ठाउँ घुम्न जान्छन् । कोही आफन्त भेट्न विदेश समेत जाने गरेका छन् । 


तर धेरैजसो बुक लभरहरु भने दसैँमा पुस्तक अध्ययन गर्छन् । दसैँमा यी पुस्तक अध्ययन गर्ने भन्दै सामाजिक सञ्जालमा पुस्तक प्रदर्शन पनि गर्छन् । अध्ययन गर्ने, आफन्तजनसँग भेटघाट गर्ने, खानपिन गरेर रमाइलो मात्र गर्ने, प्रसिद्ध स्थलहरूको भ्रमणमा जाने कुरा मानिसका आआफ्ना रुचिका विषय हुन् ।



दसैँ रमाइलो गर्नका लागि हो । यो समय जति सकिन्छ रमाइलो गर्ने हो भन्छन् त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. नेत्र एटम । उनी सबैलाई रमाइलो गरेर दसैँ मनाउन सुझाउँछन् । 



यस्तै मत छ उपप्राध्यापक डा. धनप्रसाद सुवेदीको पनि । दसैँमा रमाइलो गर्ने या कुनै पुस्तक पढ्ने भन्ने चाहिँ मान्छेको आआफ्नो चाखको विषय हो भन्छन् उनी । तर कतिपय मान्छे पुस्तक अध्ययन गरेरै रमाउने पनि हुन्छन् । तर धेरै मानिस भेटघाट, रमाइलो गर्न, घुमघाम गर्ने गरेको नै देखिन्छ । 

घुमघाम गरेर आरामको समयमा पनि अध्ययन गर्ने बानी परेकाहरूलाई यो दसैँमा कस्ता पुस्तक पढ्न सिफारिस गर्नुहुन्छ भनेर पाटन संयुक्त क्याम्पसका उपप्राध्यापक धनप्रसाद सुवेदीसँग शिखरमोहनले गरेको छोटो कुराकानी:

अध्ययनमा रमाउनेहरूलाई यो दसैँमा कस्ता पुस्तक सिफारिस गर्नुहुन्छ ? 

यो विषयगत रुचिमा पनि भरपर्छ । यो पुस्तक अध्ययन गर भनेर सुझाव दिने कुरा जटिल हो । किनभने कुन मान्छेलाई कस्तो खालको विषयमा रुचि हुन्छ भन्ने छुट्याउन अलिक समस्या हुन्छ । 

लामो बिदा हुने हुँदा विद्यार्थी अथवा अरू फुर्सदिलाहरूले अध्ययन गरौँ न भन्ने हिसाबले पुस्तक छनोट गर्नु स्वाभाविक हो । तर जसलाई जे विषयमा रुचि रहन्छ, सो विषयको पुस्तक अध्ययन गर्दा राम्रो हुन्छ । 

तपाईंको अध्ययनको रुचि कस्तो विषयमा छ ?

मलाई सांस्कृतिक विषयमा रुचि छ । नेपालको संस्कृति, नेपाली जनजीवन, नेपाली समाज, नेपालीहरूको मौलिकताका विषयमा केन्द्रित भएर अध्ययन गर्न रुचाउँछु ।

यो समय चाडपर्वको समय हो । अरू बेला आआफ्नो कोर्सको पढिएला, आआफ्नो विषय सन्दर्भका पढिएला । नेपालमा चाहिँ बोक्रे पढाइ, बाहिर बाहिर मात्र बुझ्ने खालको छ । आफूतिर नफर्किने खालको छ । त्यसैले यो समय सांस्कृतिक चाडपर्वसँग सम्बन्धित भएको हुनाले त्यही विषयमा अलिकति आफ्नैतिर फर्किने, आफ्नो मौलिकतातर्फ फर्किने खालका पुस्तक अध्ययन गर्दा राम्रो हुन्छ ।  

यो बेला मान्छेहरू सहरबाट गाउँ फर्किने समय पनि हो । आफ्ना अभिभावकहरूलाई भेट्ने, आफन्तहरू भेट्ने हो । पुस्तकहरू पनि त्यही खालका भए भने राम्रो हुन्छ । 

–दसैंलाई केन्द्रित गरेर धेरै पुस्तक प्रकाशन गर्छन्, लेखकहरूले यही समय किन छनोट गर्छन् ?

पुस्तकभन्दा पनि यो समयमा पत्रपत्रिका बढी प्रकाशित हुन्छन् । त्यसको मुख्य आधार भनेको विज्ञापन हो । विज्ञापन छाप्ता आर्थिक आय हुनाले यो समय पत्रपत्रिका बढी प्रकाशित हुन्छन् । शुभकामना विज्ञापनका कारण नयाँ वर्षमा एक पटक, दसैँमा एक पटक पत्रिका प्रकाशित गर्ने चलन अहिलेको होइन, धेरै पहिलेदेखि थियो । 

कतिपय लेखकले अहिले पुस्तक नै पनि प्रकाशित गरेको पाइन्छ । दसैँमा हप्ता दिन, पन्ध्र दिनजस्तो लामो बिदा पनि हुने र कामबाट फुर्सद भएको बेला पुस्तकको काम गर्न समय मिल्ने र सहज हुन्छ भनेर पनि पुस्तक प्रकाशन गरेका होलान् । नत्र अरू आधार त केही छैन ।

–यो समयमा गहन कृतिहरू चाहिँ कत्तिको प्रकाशित हुन्छन् ?

उत्कृष्ट र गहन कृतिका लागि यतिबेलै प्रकाशित हुनुपर्छ भन्ने छैन । बरू अहिले बिदा भयो, फुर्सद भयो भने आफ्ना पुस्तकहरू परिमार्जन गर्ने काम गर्छन् । बिदाको समयको उपयोग गर्छन् । त्यसैले यही समयमा गहन कृति आउँछन् भन्ने छैन । 

अर्को, पुस्तक प्रकाशनका लागि पैसाको चाँजोपाँजो मिल्ने भएर पनि यो समय प्रकाशित गर्छन् । किनभने कर्मचारी, जागिरेहरूलाई दसैँ खर्च भनेर एक महिनाको तलब पनि आउँछ । यो पैसा सिर्जनात्मक काममा खर्च गरौँला भन्ने हिसाबले पनि साँचेर यो बेला प्रकाशित गर्छन् । 

बिक्रीका हिसाबले पनि यो समयमा प्रकाशन गरेका हुन सक्छन् । किनभने यो समयमा गाउँतिर जाने, आफ्नो चिनजान, नातागोताकहाँ मार्केटिङ गर्न पनि समय हुने भएकाले हो । आफन्तकहाँ जाँदा आफ्ना कृति पनि लैजाऊँ भन्ने हुन्छ । किनाउन पनि एक महिनाको तलब आइरहेको हुन्छ, साथीको एउटा किताब किनिदिऊँ भन्ने पनि हुन सक्छ । यिनै अनुमान मात्र हुन्, अरू कारण केही छैनन् । 

–तपाईंलाई मनपर्ने पाँच कृति कुन कुन हुन् ?

मलाई मनपरेका धेरै पुस्तक छन् । तीमध्ये एङ्गेल्सको परिवार र निजी सम्पत्तिसम्बन्धि पुस्तक निकै मन पर्छ । राहुल सांकृत्यायनको भोल्गादेखि गङ्गासम्म भन्ने पुस्तक निकै उत्कृष्ट लाग्छ । हाम्रो भारत वर्षको भारतीय र मानव विकासको अध्ययनका लागि त्यो भोल्गादेखि गङ्गासम्म भन्ने राहुल सांकृत्यायनको  राम्रो पुस्तक छ । यी इतिहासको सन्दर्भबाट हेर्दाका पुस्तक भए । 

विदेशी आख्यानतर्फ गोर्कीको आमा पुस्तकलाई सबैले सिफारिस गर्छन्, मलाई पनि मनपर्छ । अनि नेपाली आख्यानमा हेर्ने हो भने अलिकति पौराणिक सन्दर्भबाट हेर्दा माधवी उपन्यास निकै राम्रो छ । कवितातर्फ जाने हो भने लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तल महाकाव्य मनपर्छ । 

दसैँ बिदा रमाइलो गर्नका लागि हो, यदि फुर्सद भयो भने यी पुस्तक अध्ययन गर्दा राम्रो हुन्छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।