शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मानुषीका लागि ठाउँ खाली गर्न चुनाव नलड्ने निर्णय गरेको होइन : बाबुराम भट्टराई

सोमबार, १७ असोज २०७९, १७ : ५८
सोमबार, १७ असोज २०७९

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने बताएका छन् । अघिल्लो प्रतिनिधिसभामा गोरखा–२ बाट निर्वाचित पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका भट्टराईले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने बताएका हुन् ।

सोमबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले आफू संसदीय राजनीतिबाट टाढा बस्ने बताए । उनले राजनीति जनता र समाजको सेवाको निम्ति गरिने स्वेच्छिक कर्म भएको उल्लेख गर्दै संसद् बाहिरबाट पनि जनताको सेवा गर्न सकिने बताए । 

‘राजनीति भनेको चुनाव मात्रै हो, सत्ता मात्रै हो भन्ने जुन पर्न गयो, खासगरी ढिलो लोकतान्त्रीकरण भएको नेपालमा यो अत्यन्त विडम्बनापूर्ण कुरा छ । राजनीति भनेको समाज रूपान्तरणको निम्ति गरिने, जनताको र समाजको सेवाको निम्ति गरिने स्वेच्छिक कर्म हो,’ उनले भने ।

नेताहरू जसरी पनि संसद्मा पुग्ने र पाएसम्म कार्यकारी पद लिने प्रवृतिले देशमा ठूलो विकृति र विसंगति ल्याएको उनको भनाइ छ । 
‘हामीकहाँ जसरी पनि संसदमा पुग्ने र जसरी हुन्छ, पाएसम्म मन्त्री र कार्यकारी हुने भन्ने जुन प्रवृत्ति आयो । यसले देशमा ठूलो विकृति, विसंगति ल्यायो । लोकतन्त्रलाई आघात गर्‍यो भनेर नै मैले अलि पहिलेदेखि नै हामीले यसमा सुधार गर्नुपर्छ,’ उनलेभने ।

उनले सदन बाहिरबाट गरिने कर्मपनि राजनीति भएकाले आफूले उपयुक्त समय आएकाले संसदीय राजनीति नगर्ने निर्णय लिएको बताए । 

‘हामी पटक–पटक लामो समयदेखि सांसद भएका, कार्यकारी भूमिकामा रहिराखेका मान्छेहरूले त्यो मात्रै राजनीति हो भन्नु हुँदैन । हामीले सदन बाहिरबाट, सरकार बाहिरबाट गर्ने जुन कर्म हो । त्यो पनि राजनीति हो भन्नुपर्छ भन्दै आएको थिएँ । त्यही क्रममा नै मैले अलि पहिलेदेखि सोच्दै आएको थिएँ । अब यो उपयुक्त बेला हो । मैले नै पहल गर्नुपर्छ भनेर मैले गरेको हुँ,’ उनले भने ।

भट्टराईले आफू पार्टी काममा भने निरन्तर रहने बताए । आफू समाजवादी धार बनाउन क्रियाशील हुने पनि उनले बताए ।

‘बाबुराम भट्टराईलाई तपाईंले जनताको बिचमै देख्नुहुन्छ । म त्यसमै क्रियाशील भइराखेको हुन्छु । हामीले एउटा नयाँ वैकल्पिक राजनीतिक धार, समाजवादी धार निर्माण गर्ने हाम्रो प्रयत्न पनि जारी छ । नेपालको पीछडिएको अर्थ सामाजिक संरचना, भूराजनीति यो सबैलाई सम्बोधन गर्नको निम्ति हामीले समावेशी सहभागितामुलक लोकतन्त्रमा आधारित समाजवादी धार उपयुक्त हुन्छ भन्ने कुरामा हामी सोचले लागेका छौँ । म पार्टीमा सक्रिय हुन्छु,’ उनले भने ।

उनले राज्यका अंगहरूमा भइरहेको भ्रष्टीकरण, शासकीय स्वरूपमा परिवर्तन र राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने सवालमा आफू संसद्बाहिरको सबै ठाउँबाट क्रियाशील हुने बताए । उनले गरिबी र बेरोजगारीको समस्या समाधानमा सुधार गर्न पनि आफूले आवाज उठाउने बताए ।

‘हामीले नेपालमा लोकतन्त्रको अपूर्णता, शासकीय स्वरूप चलाएका छौँ । मिश्रित प्रकारको संसदीय व्यवस्था जस्तो । त्यसले राजनीतिक स्थिरता दिँदैन । त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् चाहिन्छ भन्ने कुरा मैले सुरुदेखि भनेको थिएँ । त्यो विषयमा मैले आवाज उठाउँछु,’ उनले भने । 

भट्टराईले आफूले संसदीय निर्वाचनमा उमेदवार नहुन गरेको निर्णय कुनै पदलाई बार्गेनिङ गर्नका लागि नभएको स्पष्ट पारे । आफूले कुनै च्याखे नथापेको उनको भनाइ छ । 

‘छिटो भन्दा छिटो कसरी यो देशलाई मध्यमस्तरसम्म पुर्‍याउने त भन्ने मेरो परिकल्पना हो । त्यसो भएको हुनाले म सक्रिय ढंगले लाग्छु । कुनै पदलाई बार्गेनिङ गर्नका लागि यो च्याखे थापेको भन्ने कसैले बुझ्छ भने अत्यन्त पीछडिएको चेतना हो । त्यसबारे मेरो भन्नु केही पनि छैन,’ उनले भने ।

उनले आफूले छोरी मानुषी यमी भट्टराईका लागि ठाउँ खाली गर्नका लागि चुनाव नलड्ने निर्णय नगरेको पनि स्पष्ट पारे । छोरी काठमाडौंबाट निर्वाचनमा उठ्ने उनले बताए । छोरी आफैँ स्थापित रहेको भन्दै आफ्नो नामबाट छोरीलाई चिनाउनु जरुरी नभएको उनले बताए ।

‘नयाँ त भनिराखेको छ मान्छेले विचारसहितको नयाँ पुस्ता आइराखेको छैन । त्यसैले विचार सहितको नयाँ पुस्ता आओस् भन्ने त मेरो चाहाना छ । त्यो भनेको मेरो छोरी भन्ने मात्रै अर्थ लाग्दैन । हाम्री छोरी पनि जतिबेला उनी सचेत भइन् आफ्नै स्वेच्छाले आन्दोलनमा उनी लागिन् । उनी ३७ वर्ष भइन् । करिब २२ वर्ष त उनको आफ्नै राजनीतिक जीवन भइसकेको छ । र। उनी आफैँ स्थापित छन् । हाम्रो छोरीको रूपमा उनलाई चिनाउनु पनि जरुरी छैन,’ उनले भने ।

पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो पार्टी सत्तारूढ गठबन्धनमै रहेको पनि बताए । निर्वाचनसम्म गठबन्धन कायम रहनुपर्ने उनले बताए ।‘म गठबन्धनकै अंग छु अहिले । त्यो राम्रो होस् । सफल होस् । कमसेकम प्रतिगमनतिर देश नजाओस् । संविधानबाट प्राप्त उपलब्धि छन् त्यो नगुमून् भन्नेमा म छु । मेरो शुभकामना यो गठबन्धन कायम रहनुपर्छ । यसले चुनावमा विजय हासिल गरोस् भन्ने मेरो शुभकामना,’ उनले भने । 

उनले समकक्षी नेताहरूलाई लोभ, लालच नगरिकन नयाँ पुस्तालाई अगाडि ल्याउन आग्रह गरे । उनले राष्ट्रिय मुद्दाहरूमा दलहरूका बिचमा एकरूपता कायम गर्नुपर्ने बताए । उनले दलहरूको विकल्प स्वतन्त्र हुन नसक्ने भन्दै दलका कमजोरी दलबाटै हटाउनुपर्ने र नेताको कमजोरी राम्रो नेताले हटाउनुपर्ने बताए ।

‘राष्ट्रिय रूपमा मुद्दाहरूमा एकरूपता कायम गर्ने, बहुदलीय प्रतिष्पर्धा नै हुनुपर्छ । त्यसको विकल्प छैन । कतिपयले अहिले स्वतन्त्र भन्ने लहर आइराखेको छ । स्वतन्त्र भन्ने कुरा हुँदैन दुनियाँमा । आखिर दल नै हो । दलका कमजोरी दलबाटै हटाउनुपर्छ । नेताका कमजोरी राम्रो नेताले हटाउनुपर्छ । दलको विकल्प व्यक्ति हुन सक्दैन । त्यस अर्थमा पनि म यो अभियानमा लागिराख्छु । नो भोटको व्यवस्था पनि हुनुपर्छ । राम्रो दल र राम्रो नेता आउनुपर्‍यो । दलको विकल्प व्यक्ति भनेर जाँदाखेरि त्यसले अराजकता मात्रै ल्याउँछ,’ उनले भने ।

उनले पटक–पटक सांसद बन्ने अपेक्षा नराख्न भन्दै पूर्वप्रधानमन्त्रीहरूले निर्वाचनमा नउठी पार्टीभित्रको राजनीतिक कामहरु गर्न आग्रह गरे । 

उनले भने, ‘हामी पूर्वप्रधानमन्त्री भइसकेका मानिसहरुले आफ्नै पार्टीभित्र राजनीतिक कामहरु गर्ने नि । अरु साथीहरुलाई संसदीय दलको नेताहरुमा अगाडि सार्ने त्यो पनि गर्न सकिन्छ । दलहरु बिग्रनुको पछाडि खासगरी कम्युनिष्ट, समाजवादी पार्टीहरूमा सत्ताभन्दा जनपरिचालन र पार्टीको काम प्रमुख हो भन्ने हुन्छ । तर हामी सबै सत्तामा जाँदा बिग्रियो ।’ भट्टराईले पुरानै शासकीय प्रणाली सही थियो भन्ने भ्रममा युवा पुस्ता पर्नु नहुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप