बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

थारुको दसैँ: आज ढिक्रह्वा

थारु समुदायमा किन बनाइन्छ थरिथरिका ढिक्री ?
सोमबार, १७ असोज २०७९, २१ : १८
सोमबार, १७ असोज २०७९

आज अष्टमीको दिन थारु समुदायको ढिक्रह्वा हो । अष्टमीको दिनलाई ढिक्रह्वा भनिन्छ । आज साँझ प्रत्येक थारु घरमा डेहुरार (देउता कोठा) देवीदेवताहरुलाई मादलको ताल बजाउँदै बेलुका दिन डुब्ने बेला जमरा, बाबरी, डौनासँगै ढिक्री चढाइन्छ ।

थारु समुदायको मुख्य परिकारमध्ये ढिक्री एक हो । मःम जस्तै बाफमा उसिनेर पकाइने पिठोको एक परिकार हो, ढिक्री । पश्चिमा र पूर्वीया थारूहरुको ढिक्री बनाउने तरिकामा खास अन्तर छैन । मःमभित्र मासु रहेझैं पूर्वीया थारुहरूले गुलियो मिलाएर ढिक्री बनाउँछन्, जसलाई बगिया भन्छन् । पश्चिमा थारुहरूले भने सादा ढिक्री बनाउँछन् । 

विशेष खुशियालीको अवसरमा तथा माइतीबाट विदाइ हुने छोरी चेलीका लागि कोशेलीको रूपमा पनि ढिक्री बनाइन्छ । थारूहरूको नयाँ वर्ष माघी, दशैं अनि दीपावलीमा पनि ढिक्री मुख्य खान्की हुन्छ । यद्यपि, चाडअनुसार ढिक्रीको आकारप्रकार बनावट भने फरक फरक हुन्छ । 

ढिक्रीको थरिथरिका आकार हुन्छ । यो किन विभिन्न आकारमा किन बनाइन्छ त ? यसबारे धेरैलाई चासो हुनु स्वाभाविक हो । यहाँ ढिक्रीको थरिथरिका आकारमा बनाइनसको कारणबारे चर्चा गरिन्छ ।

लम्मा ढिक्री

लम्मा अर्थात लामो ढिक्री थारु समुदायमा सबैभन्दा लोकप्रिय मानिन्छ । माघीम लम्मा ढिक्री अनिबार्य बनाइन्छ । त्यसैले, लम्मा ढिक्रीलाई मघहा ढिक्री पनि भनिन्छ । चेलीबेटीहरुले दाजुभाइको लामो आयुको कामना गर्दै लाम्चो ढिक्री बनाउने भनाइ पनि छ । यसको औसत लम्बाई ६ इन्च जति हुन्छ । थारु होमस्टे तथा रेष्टुरेण्टमा पनि प्रायः यही लम्मा ढिक्री बनाइन्छ । व्यापारिक प्रयोजनका लागि बनाइने भएकाले त्यहाँको ढिक्रीको आकार भने सानो हुन्छ ।

गुलियार ढिक्री

गुलियार अर्थात गोलो ढिक्री खास गरी दशैंमा बनाइन्छ । त्यसैले, यसलाई दशैंहा ढिक्री पनि भनिन्छ । अष्टमीमा गोलो ढिक्री बेलको काँडाको हाँगामा फलझैं फलाएर देउतालाई चह्राएपछि मात्रै ढिक्री खान पाइन्छ । अघिपछि पनि यस्तो ढिक्री बनाइन्छ । 

दिया ढिक्री

गोलो ढिक्रीलाई बुढी औंलाले थिचेर दीयो आकारमा बनाइएको ढिक्रीलाई दिया ढिक्री भनिन्छ । दीपावलीको अवसरमा लक्ष्मी पूजाको दिन देउतालाई चढाएपछि मात्रै यो ढिक्री खान पाइन्छ । दीपावलीमा केटाकेटीलाई यो ढिक्री लुटाउने परम्परा पनि छ । अघिपछि यस्तो ढिक्री बनाइदैन । 

बोझा ढिक्री

पातलो लम्मा खालको पाँच पाँच वटा ढिक्री दुइ भागमा बाँधेर भारी बनाइएको ढिक्रीलाई बोझा ढिक्री भनिन्छ । बोझा ढिक्री दसैँको अष्टमी तथा दीपावलीको लक्ष्मी पूजाको दिन देउतालाई प्रसादको रूपमा चढाउन मात्रै बनाइन्छ ।

लट्ठी ढिक्री

लामो ढिक्रीभन्दा करिब दोब्बर लामो खालको ढिक्रीलाई लट्ठी ढिक्री भनिन्छ । यो ढिक्री पनि दीपावलीको लक्ष्मी पूजाको दिन देउतालाई प्रसादको रूपमा चढाउन मात्रै बनाइन्छ । संस्कृतिवीद गोपाल दहितका अनुसार खास गरी दहित थरका थारुहरूले पूजा गरी घरको दुवै तिरको ढोकामथिको छाप्रोमा लट्ठी ढिक्री घुसार्छन् । यसले घरको रक्षासमेत गर्ने विश्वास गरिन्छ । 

छित्रही ढिक्री

ठूलो दियो ढिक्रीमाथि तीन या पाँच वटा ससाना गोलो ढिक्री चाङ लगाएर बनाइएको ढिक्रीलाई छित्रही ढिक्री भनिन्छ । छित्रही ढिक्री पनि दसैँको अष्टमीको दिन देउतालाई प्रसादको रूपमा चढाउन मात्रै बनाइन्छ । 

हँठिया ढिक्री

हात्ती पुजुवा दहित थरका थारुहरूले दशैंमा देउतालाई चढाउन हात्तीको शरीरझैं हँठिया ढिक्री बनाउँछन् । यसरी ढिक्री बनाउने र खाने परम्परा थारु संस्कृति र संस्कारसंग पनि जोडिएको देखिन्छ । (स्रोतः दहित, २०६२, थारु संस्कृतिको संक्षिप्त परिचय)

 रेस्टुरेन्टमा ढिक्री

थारु होमस्टे तथा थरुहट क्षेत्रका बजारमा खोलिएका थारु होटलले पनि ढिक्री बनाएर बेच्न थालेका छन् । काठमाडौं, कीर्तिपुरको पाँगा तथा बौद्ध, टुसालस्थित बरघर रेष्टुरेण्टको मेनुमा ढिक्री नियमित रहेको सञ्चालक सिताराम चौधरी बताउँछन् । 

व्यापारिक दृष्टिले बनाइने ढिक्रीमा नरिवल, छोहरा आदि मिश्रण गर्न थालेका छन् । भारतमा बस्ने थारुहरूले पनि पश्चिमा थारुहरूझैँ ढिक्री बनाउँछन्, जसलाई पीठा भनिन्छ । शाकाहारीका लागि तोरीको हरियो साग र मांसहारीका लागि सुंगुरको मासुसंग ढिक्री स्वादिष्ट मानिन्छ ।

सबै तस्विरः लखन चौधरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णराज सर्वहारी
कृष्णराज सर्वहारी
लेखकबाट थप