बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो थियो पहिलो पटक नेपाली नोट प्रचलनमा ल्याउने श्री ३ जुद्ध शमशेरको इश्तिहार

मङ्गलबार, १८ असोज २०७९, ०६ : ३२
मङ्गलबार, १८ असोज २०७९

रुपैयाँ पैसा बिना जीवन जिउन करिब मुस्किल छ । आजभोलि पैसा भएन भने जिन्दगी दुःखद हुन्छ । पैसाको लागि संसारमा ठुला ठुला अपराध तथा उपकार पनि पनि भएका छन् ।

पैसा कमाउने चाहना सबैमा हुन्छ । त्यसैले आफूसँग पैसा भएन र अति आवश्यक परेको छ भने मुखबाट अनायासै शब्द निस्कन्छ ‘यो पैसा कसले बनाएछ ?’ हामीले सामान्य रूपमा प्रयोग पैसा शब्द प्रयोग गरे पनि त्यसको व्यापक अर्थ नोट नै हो ।

नेपालमा कागजी नोटको पहिलो पटक प्रयोग गर्नको लागि तत्कालीन श्री ३ जुद्ध शमशेरले इश्तिहार जारी गरेका थिए । उनले जारी गरेको इश्तिहारमा नेपाली नोट प्रयागलाई वैधानिकता दिँदै प्रयोग नगरे कानुन कारबाही हुने जानकारी दिइएको थियो । त्यो बेला सदर मुलुकीखानाले नेपाली नोट प्रकाशन र वितरणको जिम्मेवारी लिएको थियो । सो समयमा सबैभन्दा ठुलो नोट १ सय रुपैयाँ दरको र सानो नोट ५ रुपैयाँ दरको छापिएर चलन चल्तीमा ल्याइएको जुद्ध शमशेरको इश्तिहारमा उल्लेख छ । 

स्वर्गीय जयहरि झाले लेखेको पुस्तक नेपाली कागजी मुद्रा: एक समीक्षामा जुद्ध शमशेरले जारी गरेको सो इश्तिहार समावेश छ । श्री ३ जुद्ध शमशेरले जारी गरेको इश्तिहार यस्तो छ :

आगे नेपाल राजभर मुलुकका भाइ भारदार रैती दुनियाँ समेत गैर्हके यथोचित उप्रान्त हाम्रा सरकार तर्फको टक मोहर रुपैयाँको चलन चल्ती व्यवहार भैरहेकोमा काल परिवर्तनले काम विशेषमा र व्यापार प्रबन्धमा समेत धेरै धेरै कामको चालु बढ्दै आएकोबाट अ‍ैले (ऐले) चलिरहे बमोजिम नगद रुपैयाँबाट व्यवहार चलाउन धेरै धेरै लेनदेन गर्नुपर्ने काममा पहाड र मधेशमा पठाउन परेमा समेत चोरी डाकाको डर असावधानी इत्यादिले गर्दा भनेको अवस्थामा झट्ट काम हुन नसकी हानी हुन जाने भैरहेको हुँदा अव त्यस्तो चोरी डाका इत्यादिको भय लिन नपरी काम पनि चाडै चालु भै सुविस्ता हुने हवस भन्नाखातिर सरकार रैयत दुबैतर्फ फायदा र सुविस्ता हुने गर्नाले हाम्रो नेपाल सरकारको पनि ‘नेपाली नोट’ चलाउने प्रबन्ध मिलाई सो मोहर रुपैयाँ र ‘नेपाली नोट’ सरोवरी चलाउने गरी चलन चल्ती हुने नोटको नोट बमोजिम जम्मा रुपैयाँ रिजर्भ राखी बक्सेको छ । सो हाल चल्ती हुने अञ्जाम भएको तपसीलका नम्बर दरका नोटको चल्ती हुने र त्यसपछि चल्ती हुने नोटहरुको नम्बर गोरखापत्रमा छापिने हुनाले चलन चल्ती व्यवहारमा र सरकारिया अड्डाखाना समेतबाट सो मोहर रुपैयाँ सरोबर दरमा लेनदेख गरी चलन चल्ती व्यवहार चलाउने गर्नु नोटको सट्टा नगदी मोहर रुपैयाँ नै चाहिने दरकार परेकाले ‘सदर मुलुकीखाना’ नोट विभाग अफिसमा गएर तुरुन्त सो नोटले मोहर सटही गरी दिनेछ । लेखिए बमोजिम सटही गरेको वा चलन व्यवहारमा नलिने समेत गरेको ठहरे हाम्रा हुकम मर्जीबाट ठहरे बमोजिम सजाय हुनेछ । सो जानी नोट नगदै सम्झी व्यवहार चलन चल्ती चलाउने गर्नु ।

तपसिल

१०० दरको क ०००००१ नं. देखि ००५००० नं. तक नोट कित्ता ५००० को नेपाली नोट रु...........५०००००

१० दरको क ०००००१ नं. देखि १००००० नं. तक कित्ता १०००० को नेपाली नोट रु...................१०००००

५ दरको क ०००००१ नं. देखि २००००० नं. तक कित्ता २००००० को नेपाली नोट रु...................१००००००

इति सम्बत् २००२ साल आश्विन....रोज...........शुभम् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप