शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थारू समुदायको नवमीकै दिन टीका

थारू समुदायले आफ्ना पूर्वजहरू सम्झिने पर्व ‘डसिया’
मङ्गलबार, १८ असोज २०७९, १३ : ५६
मङ्गलबार, १८ असोज २०७९

प्रकृतिपूजक थारू समुदायको ‘डसिया’ र आमनेपालीहरूको महान् चाड दशैं एउटै हो भन्ने बुझाइ छ । यो पर्व लगभग उही तिथि मितिमा पर्ने हुनाले एउटै लाग्नु स्वभाविक पनि हो । तर यसको विधि प्रक्रिया र यससँग जोडिएको मिथक, मूल्य मान्यताहरू हेर्यौं भने डसिया र दशैंमा फरक छ । यहाँ खास गरी पश्चिमा थारू समुदायको ‘डसिया’बारे चर्चा गरिन्छ । 

थारू समुदायमा डसिया (डस्या) खास गरी आफ्नो पूर्वजहरूको मृत–आत्माले शान्ति पाओस् भनी उनीहरूको सम्झनामा मनाइन्छ । जसरी मृत्यु संस्कारमा छूत (जुठो पर्नु) मानेर आफ्ना सबै कुल देउतालाई पिनाले नुहाइदिने चलन छ, त्यसरी नै डसियामा पनि पूर्खाहरूको मृत्युको कारण जुठो परेकोले देउता नुहाउने काम हुन्छ । छिनोनी पानी (धातुपानी अथवा सुनपानी) छर्केर चोख्याउने गरिन्छ । 

त्यस्तै, काज–क्रियामा जिटा मार्ने चलन अनुसार जिटा पुज्ने, देउताअनुसार जल, रक्सीको छाँकी चढाउने, पिट्टर (पिण्ड) दिनेदेखि भित्तामा पिठोको बकुल्ला छाप बनाउने परम्परागत चलन छ । मृत–आत्माले शान्ति पाओस् र यिनै बकुल्लामाथि सवार गरी सकुशल स्वर्ग जाऊन् भनी बकुल्ला बनाउने चलन छ । यसलाई देउता पठाएको भन्ने चलन पनि छ । यसरी थारूहरु आफ्नो पूर्खाहरूको सम्झनामा डसिया मनाउँछन् । 

दशैंमा हिन्दू धर्मावलम्बीहरूले देवता र दानवहरू बीचको लडाईमा देवताहरूले विजयी प्राप्त गरी उल्लासका साथ मनाउने मिथक छ । मान्यजनहरूबाट रातो टीका लगाउने र दुर्गाको पूजा गरी मनाउँछन् । थारू समुदायमा कुनै पनि घरमा न दुर्गा, न रामको पूजा हुन्छ । किनकि दुर्गा र राम थारूहरूको मौलिक देउता होइनन् । थारू समुदायका आफ्ना मौलिक देउता गुर्वावा, खेखरी–मैया, लागुबासु, सौंरा, डहरचण्डी, ढमरज्वा, जगन्नठ्या, लगायतका रहेका छन् । देउताअनुसार कुनै देउतालाई जल, रक्सी, कसैलाई जल मात्रै त कसैलाई जाँड पनि चढाएर पूजा गरिन्छ । जमरा र बाबरी भने सबै देवी देउतालाई चढाएर परम्परागत मान्यताअनुसार पुजिन्छ । 

घटस्थापनाको अर्को बिहान जमरा

अन्य समुदायमा जस्तो दहित थरका थारूबाहेक थारू समुदायमा घटस्थापनाको दिन जमरा राख्ने चलन छैन । त्यो दिन औंसी मुँवल डिन (मरेको दिन)को रूपमा लिने गरिन्छ । त्यसैले, औंसीको दिनलाई छुत मानिन्छ । आंैसीको दोस्रो दिन डुटिया (अर्ध चन्द्रमा) हेर्ने चलन छ । यस दिन घरमुलीले डुटिया नहेर्दासम्म भोकै रहनुपर्छ । डुटिया हेरिसकेपछि घरमुलीले नुहाई धुवाई गरी भोजन गर्छन् । पहिले पहिले डुटियालाई निशाना बनाई बन्दुक पड्काउने चलन थियो । अहिले बन्दुक नै प्रतिबन्ध गरिएकोले यो चलन पनि हटिसकेको छ । 

डुटिया हेरेर अर्को दिन तृतीयाका दिन थारू समुदायमा जमरा राख्ने चलन छ । कसै कसैले भने डुटिया हेरेकै साँझ राख्ने गरेको पाइन्छ । बिहान नुहाइ–धुवाइ गरी जमरा कोरा मल्सी (प्रयोग न गरिएको माटोको भाँडा)मा राखिन्छ । मल्सी नभए डेहुरार (देउथान)को पाटामाथि भुइँमा जमरा राख्ने चलन छ । डसियामा जमरा र बेबरी (बाबरी)बाहेक अन्य फूल चढाउने चलन छैन । उसो त थारू समुदायमा कुनै पनि पूजामा फूल चढाउने चलन छैन, जुन थारू जातिको अलग विशेषता हो । 

पञ्चमीको दिनः ‘झोलझराइ’

पञ्चमीको दिनलाई ‘झोलझराइ’ भनिन्छ । घरमा भएको माकुराको जालोलगायत कुना काप्चा सफा गरिन्छ । यसै दिन दहित थरका थारूहरूको सराढ (श्राद्ध दिने) पर्छ । सराढ पूज्न दहितहरूले चोरेर ल्याएकोसामग्रीले पूजा गर्छन् । श्राद्धको दिन पिडालु, केरा, माछालगायत तरकारी चोरेर ल्याएमा उनीहरूलाई चोर बाट लाग्दैन । त्यो दिन दहितहरूलाई चोरी गर्न छुट हुन्छ । चोर समातिए पनि जरिवाना आममाफी दिने नियम छ । तर, यो समय सापेक्ष छैन । 

पूजा गर्नका लागि गरिने चोरी पनि दुरूपयोग हुने अथवा पूजाको नाममा आवश्यकताभन्दा बढी तरकारी, केरा चोरीले विकृत रूप लिन थालेपछि अहिले पहिलेको जस्तो सहज छैन । आजकाल आवश्यकता अनुसारको तरकारी ल्याएर पूजा गरेको पाइन्छ । दहितहरूको पूजा महिलाले गर्छन् । अन्य थरका थारूहरूको भने पुरुषले नै गर्छन् ।  

षष्ठीको दिनः ‘पिलोर खेलैना’

त्यसै गरी षष्ठीको दिनलाई ‘पिलोर खेलैना’ दिन भनिन्छ । पिलोर भनेको घर पोत्नका लागि तयार गरिएको ढौरा माटी (घर पोत्ने सेतो माटो) हो । यही माटोले थारू समुदायमा यस दिन घरभित्र र बाहिर लिपपोत गरिन्छ ।

सप्तमीको दिनः ‘मच्छिमराइ’

सप्तमीको दिन ‘मच्छिमराइ’ भएकोले त्यस दिन नजिकैको खोला, कुलो पोखरी आदिवाट माछा मार्न जाने चलन छ भने देउता भएको घरका मान्छेहरू ‘पैनस टोपी’ धुन्छन् । पैनस टोपी पुज्नका लागि बनाइएको ढिक्री उसिन्ने ढकियालाई भनिन्छ । पैनस टोपी धुने काम घरको गढुनियाँ (घरमूली महिला) ले गर्नुपर्छ अथवा उनले अह्राएको मान्छेले गर्नुपर्छ । 

अष्टमीको दिनः ढिक्रह्वा

अष्टमीको दिन देउता पूज्ने घरको गढुर्या–गढुनियाँ (घरमूली महिला–पुरुष) लाई पूजा नसकिँदासम्म दिनभरि भोकै बस्नुपर्छ । साँझ पूजा प्रारम्भसँगै ट्रासन (मृदङ उर्दी, एक बिशेष तालमा मादल बजाएर निम्तो गर्ने विधि) बजाएर सबै देउता पूर्वजहरूलाई निम्तो गरिन्छ । यसरी ट्रासन बजाएपछि पूर्वजहरूको अदृश्य रूपमा सहभागी हुने जनधारणा छ । 

सुरुमा डेहुरार रहेका र बाहिर रहेका सबै देउताका अगाडि राखिएका दियो  पिनाले पखालेर घरको गढुनियाँबाट नुहाइदिने काम हुन्छ । र, सुनपानी छर्केर नयाँ दियो बालिन्छ । त्यसै गरी प्रत्येक देवी देउताका अगाडि मालुकाको पातमा जमरा, बाबरी, गोलो ढिक्री, चढाइनुका साथै रक्सी (टौला र बजारी) र जल चढाएर पूजा गरिन्छ । नेवारहरुको योमरी जस्तै परिकार ढिक्री चढाइले भएकाले यस दिनलाई ढिक्रह्वा भनिएको हो । 

देउता भएको घरका मान्छेले भेंडाको प्रतीकको रूपमा कुभिण्डोको भेंडा बनाएर पूजा गर्छन् । त्यसै गरी गोठमा ढमरज्वा, पूर्वको आँगनमा ‘पूर्वी’ लगायत अन्य देउतालाई पनि पुजिन्छ । थारू समुदायमा प्रत्येकको घरमा देउता हुँदैनन् । विशेष गरी जेठो छोराको घरमा देउता राख्ने परम्परा छ । जो कुनै थर या कुलको गाउँभरिमा एक दुइ घर मात्र देउता राखिएको हुन्छ । अन्य घरको डेहुरार निशान भने प्रत्येकको घरमा हुन्छ र डसियामा पूजा पनि प्रत्येकको घरमा हुने गर्छ ।

पूजा गर्नेबेला बानधूप चढाउनु पर्छ । डसियामा यो अनिवार्य हुन्छ । बानधूप भनेको गुर्वा (थारू पुरोहित)हरूले आफ्नो निधार, जिब्रो, पाखुरा, छाती र गोडा (जाँघ) चिरेर निकालेको रगत र धान लगायत सात किसिमको फूल लोर्हके (फूल टिपेर) बनाएको विशेष धूप हो । यो डसियामा मात्रै आफ्नो देउतालाई चढाइन्छ । यो बानधूप प्रायः थारूहरू दहित थरका गुर्वाबाट ल्याएर चढाउँछन् । त्यसो त अन्य थरको गुर्वाहरूले पनि चलाउँछन् । तर अब बानधूपको नाउँमा बजारको अगरबत्ती सल्काउने चलन पनि आइसकेको छ । टीकाको रूपमा देउतालाई सिन्दुर लगाउने चलन छ । पूजा गरिसकेपछि दिनभरि भोकै बसेका गढुर्या–गढुनिया ढिक्री र अन्य तरकारी भोजन ग्रहण गर्छन् ।  

आजको रात रातभरी देउता जगाउँछन् । देउता जगाउनुलाई दियो जगाउने पनि भनिन्छ । रातभरि जाग्नुपर्ने हुनाले नाचगान पनि गर्छन् । नाचगान नभए बर्किमार अर्थातु महाभारतको गीत गाएर रात काट्छन् । देउता जगाउनेहरूलाई डेहुरारको पाटा माथिको रक्सी पिउन दिइन्छ । पाटामा राखिएको रक्सीलाई ‘भेंर्वा’को रक्सी पनि भनिन्छ ।

नवमीको दिनः मुर्गी पुज्ना

नवमीको दिन बिहान गढुरियाले नुहाएर नयाँ बह्रनी (सिरुको झारु) काटेर ल्याउनु पर्छ । प्रत्येक वर्षको दशैंमा पुरानो बह्रनी हटाएर प्रत्येक वर्ष नयाँ बह्रनी राखिन्छ । जमरा–बाबरी चढाएर कुखुराको बलि दिने चलन छ । कुखुरा (मुर्गी) को बलि दिने आजको दिनलाई मुर्गी पुज्ना दिन भनिन्छ ।

सबै थारूको घरमा कुखुरा बराबरी संख्यामा पुजिदैन । खास देउता भएका घरका मानिसले सातदेखि पन्ध्रवटासम्म कुखुरा र डिँवा (समयावधि) अनुसार भेंडा, बाख्रा, सुँगुर पुज्दछन् भने अन्यको घरमा एक अथवा तीनवटा आफ्नो चलनअनुसार कुखुरा पुज्दछन् । बलिसँगै जमरा, बाबरी, रक्सी, बानधूप चढाएर देउतालाई सेतो टीका लगाइन्छ । बली सबै देउतालाई चढाइँदैन । 

थारू समुदायमा गुर्वावा, खेखरी–मैया, लागुबासु, सौंरा, डहरचण्डी, ढमरज्वा, जगन्नठ्या, लगायतका देउताअनुसार दूध, पानी, रक्सी, जाँड पुज्ने चलन छ । ‘जँडछब्बा’ थारू आफ्नो ‘नक्छेडिया’ देउतालाई जाँड चढाउँछन् । जाँड चढाउने चलन अन्य थरका थारूहरूमा छैन । 

डेहुरार पिट्टर (पिण्ड) दिने चलन पनि छ । पिट्टर दिँदा बिजोर संख्याको टपरीमा भात लगायतका खानेकुरा राखेर पूजा गरिन्छ । पुस्ताअनुसार ३, ५ या ७ वटा टपरी राख्ने चलन छ । यसले टपरीको संख्याको आधारमा यति पुस्ताका पूर्वजहरूलाई पिण्ड दिइएको भन्ने बुझाउँछ । 

पूजा सकिएपछि महिलाहरू स्थानीय नदी घाट, कुलोमा पिट्टर सेलाउन जान्छन् । पिट्टर सेलाउन जाँदा करै (माटाको रक्सी राख्ने भाँडो)मा छाँकी (रक्सी), समूह–समूहमा महिलाहरू ढकियामा डेहुरार राखिएको पुरानो बर्हनी, पूजा गरेको जमरा, बाबरी, कुभिण्डोरुपी भेंडा लगायत जुन–जुन ठाउँ पूजा गरिएको हुन्छ, ती सबै ठाउँ सफा गर्दा निस्किएको फोहर लिएर जान्छन् । साथै खानपिनको लागि छाँकी र तरकारी पनि लिएर गएका हुन्छन् । 

पिट्टर सेलाई सकेपछि सबैजना मिलेर आ–आफ्नो घरबाट ल्याएको मदिरा सबै मिली खान्छन् र मनोरञ्जन गर्छन् । घाटमै अलिअलि नाचगान पनि गर्छन् । अरु दिन डसिया मनाउन आएका पाहुनाहरूलाई खुवाउने पिलाउने महिलाहरू आजको दिन अलि बढी नसामा देखिन्छन् । 

नवमीकै दिनः टीका

यता पुरुषहरू घर गुर्वा, डेसबँढिया गुर्वालाई नवमीकै दिन टीका लगाउन जान्छन् । अब आएर भने एकरुपता दिन दशमीकै दिन टीकाको चलन बढ्दो छ । करैमा रक्सी, जमरा, बाबरी लिएर आफ्नो गुर्वाको घर जान्छन् । सबैजना मिलेर मासुको जोहो गर्छन् र रीति अनुसार गुर्वालाई दक्षिणा दिन्छन् । जब गुर्वाले आफ्नो डेहुरार पूजा पाठ गरी सक्छ, अनि टीका लगाउने काम शुरु हुन्छ । 

थारूहरुको टीका सेतो पीठो अथवा चामलको हुन्छ । सबैजना टीका लगाई खानपिनमा लाग्छन् । केही समयपछि सबैको देउता मिलाउनको लागि गुर्वाले आफ्नो प्रक्रिया पूरा गर्छ र गुर्वा हुन चाहनेहरू गुरै खेल्छन् । गुरै खेल्नु भनेको मन्त्रद्वारा देउता सवार भई काम्ने प्रक्रिया हो ।  गुर्वाहरूमा जब देउता चढ्छ तब काँप्दै डेहुरार, बहरी र आँगनमा अखरिया खेल्छन् । अखरिया खेल्नु भनेको मादलको तालमा लठ्ठी लिएर नाच्नु हो । आजको दिनलाई नयाँ गुर्वा बन्ने दिनको रूपमा पनि लिइन्छ । सुस्वाइबेर (गुर्वा खेल्ने बेला) पच्रा गीत गाउँछन् । जुन यस प्रकार छ ः 

‘हेरि लेओ रि मैया हेरि लेओ रि, 

आपन घरडुवार हेरि लेओ रि ।’

गाउँमा सामूहिक टीका लगाउने चलन पनि छ । यसलाई ‘राजा–टीका’ पनि भनिन्छ । गाउँको अगुवा बरघर, महटाँवाले भुइँह्यार थानमा टीका लगाई सकेपछि गाउँको टीका खुल्छ । गाउँभरि घर–घर आफ्नो मान्यजनहरूको हातबाट टीका लगाउँछन् र आशीर्वाद लिन्छन् । सेतो पीठोको टीका शान्तिको प्रतीकको रुपमा मानिन्छ । 

टीका लगाई सकेपछि गाउँका बठिनियाँहरू (तरुनी केटीहरू) ले नाचगान गर्छन् । गाउँभरि घर–घर गई नाचगान गर्छन्, जसलाई ढुर झर्ना भनिन्छ । बठिनियाँहरू बर्का नाच, सखिया, पैंया नाच नाच्छन् । नाच गाउँको बरघरको घरबाट सुरु हुन्छ र गाउँभरि नाचिन्छ । 

सखिया नाच मादलको तालमा मजुराले नाच्ने नाच हो । यो नाचमा गीत पनि गाइन्छ तर गीत गौण हुन्छ । कहिले गोलाकार त कहिंले पंक्तिबद्ध भई नाचिने यो नाच हात खुट्टाको ताल मिलाएर शरीरलाई लचिलो पारी मंजिरा बजाइन्छ । सखिया नाच दशैं–तिहारमा नाचे पनि यसको गीतको सन्दर्भ भने श्रृष्टि र कृष्णको जीवनसँग सम्बन्धित छ । जस्तै ः 

पैयाँमा पनि मादलको तालकै प्रधानता हुन्छ । यो पनि मजिराले नाच्छन् । ठरपैयाँ लगाउने बेला गाइने गीत यस किसिमको छ ः

‘उरि उरि भौरा टिकुलि पर बैठे रे हाँ,

ए हो भौँरक छुवल मोर टिकुलि मलिन हो ।’

दशमीको दिनः नयाँ दुलहा कोसेली लिएर ससुराल

दशमीको दिन घरपरिवारको बिच टीका लगाइन्छ । अब दशमीकै दिन ‘राजा–टीका’ पनि लगाउने चलन सुरु भएको छ । सेतो टीकाको स्थान रातो टीकाले लिन थालेको छ । आजको दिन नयाँ दुलहा कोसेली लिएर ससुराल जान्छ, जसलाई ‘जेंउरा लगाइ गैलक’ भनिन्छ ।

दुलहा ससुराली टीका थाप्न जाँदा एउटा भाले, मचिया (सुटलीले बुनेर बनाइएको मुडाजस्तै साधन), हाते पंखा लिएर जान्छन् । मचिया रातो, हरियो रंगले रंगाइएको डोरी बुनेको हुन्छ भने हाते पंखा सिरिसको डाँठ धागोेले बुनेको अथवा सिरिस नभए बाँसले बुनेको हाते पंखा लिएर जान्छन् ।  बेना (पंखा) मा चारैतिरबाट कपडाले बेरेर, मयूरको प्वाँख लगाएर सुन्दर बनाइन्छ । 

टीका थाप्न जाँदा दुलहासँगै भरिया पनि हुन्छ । भरियाको काम भारी बोक्ने मात्रै हुँदैन, दुलहाको सुरक्षाको जिम्मेवारी पनि उसको हुन्छ । घरबाट निस्किने बेला साजल चाउर (गुर्वाले साजेको अक्षता) खल्ती अथवा लुगाको एउटा कुनामा बेरेर राख्छन् । टीका थाप्न जाँदा भूत–बोक्सी नलागुन् भनेर अक्षता दिइएको हुन्छ । 

दुलहालाई ससुराली गाउँका बठिनियाँ (युवती)हरूले फूलमाला पहिराई स्वागत गर्छन् । खुट्टा धोइदिन्छन् । दुलहाले पउनीहरूलाई दक्षिणास्वरूप चुरोट, बिडी दिन चलन थियो । अहिले चुरो बिंडीको सट्टा नगद दिने चलन छ । 

ससुरालीमा मानसम्मान त हुने नै भयो । टीका थाप्न गएको बेला मासुमा कुखुराको फिलौंडा (लेग पिस) विशेष हुन्छ । पहिले पहिले नयाँ दुलहाहरू लाज सरम मान्थे । दिएको फिलौंडा खायो कि खाएन भनेर खुबै ख्याल पनि हुन्थ्यो । 

टीका थाप्दा ससुरालीबाट केही रकम अथवा कुनै उपहार दिएर बिदाई गरिन्छ । टीका ससुरालीमा मात्रै लाउँदैनन् । सके दुलहीको मामा घर, दिदी–बहिनीको घर, ठूलाबुवा, काका, फुपूहरूको घर पनि लगाउने चलन छ । तर आजभोलि यो चलन पनि बिस्तारै हराउँदै गएको छ । 

दुलहा टीका थाप्न गएजस्तै नवदुलहीहरू पनि ‘पहुनी’ जाने चलन छ । बिहे भएको झण्डै एक वर्ष गोंरी बुन्न भनेर नयाँ दुलहीलाई छुट्टी दिइएको हुन्छ । दुलहीहरू छुट्टीको समयमा आफ्नो माइतीमा बसेर गोंरी बुन्छन् । डसिया, डेवारीमा मामा, फुपू, दिदीहरूको घर पहुनी खान जान्छन् । पहुनी खान ढिक्रीको पहुरा (कोसेली) लिएर जान्छन् । त्यहाँबाट पनि उनीहरूलाई आफ्नो हैसियतअनुसार नगद या उपहार दिने चलन छ । यसरी पहुनी खाएर उनीहरू मंसिरमा आफ्नो घर (दुलहाको घर) आउँछन् । 

यसरी डसियासँग थारू समुदायको धेरै चिज जोडिएको छ । तर समय परिवर्तनसँगै थारूहरूले आफ्नो मौलिक संस्कृति छोड्दै गएका छन् र बाह्य संस्कृतिप्रति आकर्षित हुँदै गएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप