दसैँ

कहिले, किन र कसरी सुरु भयो दसैँ ?

person explore access_timeअसोज १९, २०७९ chat_bubble_outline0

एउटा शास्त्रीय वचन छ, ‘शरत्काले महापूजा क्रियते या च वार्षिकी ।’ 


शरदकाल अर्थात् शरद ऋतुमा देवीको पूजा गर्नु भनी हाम्रा पुर्खाले किन भने ? यो प्रश्न यस्तो पुच्छर हो, जसले हामीलाई दसैँको टाउको अर्थात् मूल पहिल्याउने सूत्र दिन्छ ।



विजया दशमी अर्थात् दसैँसँग नवरात्र जोडिएको छ । विशेषतः आश्विन शुक्ल पक्षको प्रतिपदादेखि नवमीसम्मलाई नवरात्र भनिन्छ । यद्यपि यस्ता नवरात्र वर्षमा ४० वटा पर्छन् । विक्रम संवत्को कालगणना अनुसार एक महिनामा दुई पक्ष हुन्छन् । तसर्थ ३६० दिनमा ४० (४० गुणा ९ बराबर ३६० दिन) नवरात्र पर्छन् । यीमध्ये नवदुर्गा पूजाका लागि चैत्र शुक्ल (चैते दसैँ, वसन्त ऋतु) र आश्विन शुक्ल पक्षको नवरात्र उत्तम काल मानिएका छन् । 



चेतोनाथ शर्मा आचार्यको पुस्तक ‘हाम्रा धार्मिक चाडपर्व’का अनुसार, वसन्त र शरत्कालीन शुक्लपक्ष प्राचीनकालदेखि नै शक्ति समाराधन (आराधना)का लागि विशेष महत्वको मानिँदै आएको छ । त्यसमा पनि वसन्तभन्दा शरदको महत्त्व अझ बढी छ । 

यी दुई नवरात्रले प्रकृतिका दुई अवस्थातिर संकेत गर्छन् । १) वसन्त ऋतु, जतिबेला बोट–बिरुवामा नयाँ पालुवा पलाउँछन् । अधिकांश चराचुरुंगीले गुँड बनाएर फूल पार्छन्, बचेरा हुर्काउँछन् । २) शरद् ऋतु, जतिबेला वर्षा सकिन्छ, फूलको मौसम सुरु हुन्छ । अन्नबाली पाक्न थाल्छन् । यसरी हेर्दा यी दुई नवरात्रले बाली लगाउने र भिœयाउने समयतिर अनि यतिबेला हुने पूजाअर्चनाले प्रकृतिको शक्तितिर संकेत गर्छन् ।

खेती लगाउन वर्षा आवश्यक हुन्छ, वर्षा कहिले हुन्छ भनी पत्ता लगाउन काल गणना आवश्यक थियो । गणनाका लागि सर्वप्रथम संख्या वा गणित आवश्यक भयो । समूहमा बराबर फलफूल बाँडेर खान अंक गणितकै प्रयोग हुन्थ्यो । यसरी सभ्यताको इतिहासमा मान्छेले सबैभन्दा पहिले अंक गणितलाई अभ्यासमा ल्यायो । आज अभ्यासमा रहेको अंक गणित मानिसका हातका १० औँलाकै देन हो । जस्तो ः १०, १० वटा १० बराबर सय, १० वटा सय बराबर हजार, १० वटा हजार अर्थात् १० हजार, १० वटा १० हजार बराबर एक लाख आदि । 

कुनै एउटा स्थानमा बसेर, सूर्य उदाउने बेलाका ताराहरूको अवस्थिति नियालेर, चन्द्रमाको कलालाई ध्यान दिएर मानिसले वर्ष, ऋतु, महिना, पक्ष हुँदै तिथि, मुहूर्त, घडीहरूको गणना गर्‍यो । जीवनमा आइलाग्ने शकुन र अपशकुनका घटनामा ग्रह–ताराहरूको प्रभाव रहन्छ र त्यो प्रभाव कालसँग सम्बन्धित छ भन्ने चिन्तनका कारण मानिसले ज्योतिषशास्त्र बनायो । 

खडेरी पर्दा पानी परोस् भनेर दैवी वा प्राकृतिक शक्तिसँग प्रार्थना गर्नु मानिसको नियति बन्दै आएको थियो । जब मानिसले ऋतु र तिथिहरूको नाम दियो, त्यसपछि विधिपूर्वक प्रार्थना वा पूजाअर्चना गर्नुपर्ने चिन्तनले काम गर्न थाल्यो । आज हिन्दूहरूले आश्विन शुक्ल र चैत्र शुक्ल गरी जुन दुई नवरात्रमा शक्तिको उपासना वा पूजाअर्चना गर्छन्, यसले दुईवटा बाली लगाउने र भिœयाउने दुई ऋतुकालको महत्त्वतर्फ संकेत गर्छ । यी दुई अवस्थामा प्रकृतिको पूजा गर्ने चलन नेपालका जनजातिहरूमा पनि छँदै छ ।

दुई दसैँ 

हामीकहाँ अहिले दुइटा दसैँ मनाइन्छ– बडा दसैँ र चैते दसैँ । मैले बूढापाकाबाट सुनेको थिएँ– मूल दसैँ त चैते दसैँ हो, तर चैतमा उत्पादन केही नहुने, कात्तिक–मंसिरमा भिœयाएको बाली पनि सकिने भएकाले गरिबहरूले दसैँ मान्न सकेनन्, त्यसैले दसैँलाई असोज–कात्तिकमा सारिएको हो । 

पूर्णप्रसाद शर्मा ढुंगेलको पुस्तक ‘श्राद्ध र दशैँ’मा उल्लेख छ, ‘पहिलेपहिले चैत्र शुक्लमै हिजोआज आश्विन शुक्लमा मनाउनेजस्तै गरी दसैँ मनाइन्थ्यो । तर गर्मीको समयमा खानपिनबाट स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न थालेकाले हिउँदमा अर्थात् आश्विन शुक्लमा दसैँ मनाउने गरिएको हो भन्ने कुरा बूढापाकाबाट सुन्दै आएका छौँ ।’

यी दुवै दसैँमा विशेषतः दुर्गाले दैत्यलाई र रामले रावणलाई वध गरेको अर्थात् सत्यले असत्यलाई जितेको शास्त्रीय प्रसंग ल्याइन्छ । रामले रावणलाई मार्न देवी दुर्गाको उपासना गरी शक्ति आर्जन गरेको प्रसंगलाई बढी चर्चा गरिन्छ । 

शास्त्रीय प्रमाणमा जाँदा आश्विन शुक्लको दसैँमा ‘विजया योग’ परेको दाबी पाइन्छ । पूर्णप्रसाद शर्मा ढुंगेलका अनुसार, ‘विभिन्न ऋषिमुनिका सम्मति हेर्दा आश्विन शुक्ल दशमीमा कुनै शक्तिले कुनै शक्तिउपर विजय हासिल गरेको नाताले त्यस दशमीलाई विजया दशमी भनेको होइन । महिना, पक्ष, नक्षत्र, सूर्योदयका समयको खास तिथि इत्यादि त्यसै दिन मात्र पर्न जाने योग नै विजय योग बन्न जाने हुनाले त्यस दशमीलाई विजया दशमी वा विजया तिथि भनिएको हो । यो नामकरण तिथि निर्धारण सर्वप्रथम हुँदादेखि नै भएको रहेछ भन्ने कुरा छर्लंग हुन आउँछ ।’ 

स्कन्दपुराणमा लेखिएको छ, ‘आश्विन शुक्ल पक्षमा सूर्योदयका बेला दशमी तिथि छ भने सो दशमी तिथि मनुष्यका लागि जयप्रद दशमी अर्थात् विजया दशमी हुनेछ ।’

ढुंगेलका अनुसार, शास्त्रीय प्रमाणलाई हृदयंगम गरी रामले किष्किन्धा राज्य अन्तर्गत पार्वत्य प्रदेशबाट लंकातर्फ प्रस्थान गर्ने शुभसाइत यसै विजया दशमीको दिनलाई मानेका थिए । रामले यसै दिन प्रस्थान गरौँ भनी सुग्रीवलाई भनेको प्रसंग आनन्द रामायण सारकाण्ड १५औँ श्लोकमा उल्लेख छ । आश्विन शुक्ल दशमीका दिन रामले सुग्रीवको मद्दत लिई लंकातिर प्रस्थान गरेको देखिन्छ । रामले रावणको वध गरेको दिन चैत्र महिनाको १८औँ दिनका दिन हो भनी आग्निवेश्य मुनि रचित रामायणसार नामक लघु रामायणको ९३औँ श्लोकमा लेखिएको छ ।

रामले रावणलाई मारेको विजय उत्सव खोज्ने हो भने चैते दसैँतिर फर्कनुपर्ने उपरोक्त प्रसंगले औँल्याएको छ । नवरात्रिमा जमरा उमार्ने शास्त्रीय विधि छ । खिलविलास पन्तको पुस्तक ‘दुर्गापूजा’का अनुसार, जमरा उमार्नका लागि राम्रो चोखो माटो या नदीको बालुवा, घट, केही गहुँ मिसिएको जौ, पञ्चरत्न, पञ्चामृत, पञ्चपल्लव, पञ्चगव्य, दुबो, फलफूल, कुसुम, जनै वस्त्र, भेटी, धूप, बत्ती, नैवद्य आदि सामग्री आवश्यक हुन्छ । 

यसले यो संकेत गर्छ, मानिसलाई खेतीको अभ्यास गराउनू थियो । त्यसका लागि बिउ आवश्यक हुन्छ । मानिसलाई बिउ जोगाउने बनाउन, माटोको महिमा बुझ्ने बनाउन पनि शास्त्रीय विधिविधानसहितको पर्व हाम्रा पुर्खाले आवश्यक ठाने । 

खेती लगाउने समय चैत–वैशाखमा हो, त्यसैले हाम्रा पुर्खाले जमराको अभ्यास चैते दसैँमा गर्नुपर्ने देखिन्छ । यसर्थ भन्न सकिन्छ कि पहिले चैते दसैँ नै बढी महत्त्वको थियो । 

शक्तिको उपासना 

शक्ति आर्जनका लागि विशेष देवीदेवताको विधिपूर्वक पूजाअर्चना गर्ने र मन्त्र जप्ने साधना नै तन्त्र हो । यसलाई काली साधना पनि भनिन्छ । काली शब्दले काल वा समयतर्फ पनि संकेत गर्छ । अर्थात् मानिसले आफ्नो समयलाई बलवान् बनाउने उपाय स्वरुप तन्त्र साधनाको विकास गर्‍यो । 

हामीकहाँ मनाइने दसैँमा देवीको उपासना गर्ने तान्त्रिक शाक्तहरूको प्रभाव देखिन्छ । नेपालमा देवीको उपासनाको प्रामाणिक इतिहास खोज्दा मानदेवका पाला स्थापना भएको वि.सं. ५६० को पलाञ्चोक भगवतीको मूर्ति विचारणीय छ । यसले लिच्छविकालमै नेपालमा शाक्त सम्प्रदाय रहेकोतिर संंकेत गर्छ । 

तन्त्र साधनामा मुख्यतः कुनै देवीदेवता, तिनको बीज मन्त्र र पूजाविधि आवश्यक हुन्छ । जस्तो ः दुर्गापूजाको विधि र मन्त्र छ– ओम् दुर्गे दुर्गे रक्षिणी स्वाहा अथवा ओम् दुर्गायै नमः ।

तन्त्र विशेषतः मानिसको मानसिकता वा मानसिक खेलसँग सम्बन्धित देखिन्छ । कुनै कथाहरू रचेर वा बुनेर कुनै पात्रलाई स्थापित गर्नू, त्यस पात्रप्रति मानिसको आस्था जाग्ने भएपछि उसैको नाममा बीज मन्त्र बनाउनू– यसले देखाउँछ, मानिसको भड्कने मन बाँध्ने यो एउटा विधि हो । मानिसको मन स्थिर हुँदा नै ऊ मानसिक रुपमा शक्तिशाली हुन्छ वा कुनै काममा लाग्छ सक्ने भन्ने आजको विज्ञानले पुष्टि गरिसकेको छ । 

बिनाविश्वास तन्त्र साधना सम्भव हुँदैन । कुनै शक्तिमा विश्वास गरेर कुनै मन्त्र हजारौँपटक उच्चारण गर्दा त्यसले मस्तिष्कमा एक खालको तरंग सिर्जना गर्छ । बारम्बार युद्ध भइरहने समयमा विजयका लागि शासकले तन्त्रको सहारा लिन थाले । 

तन्त्र साधनाको केन्द्रमा योनि र लिंंग जोडिएर आउँछन् । यौनप्रति मानिसको मन छिटो आकर्षित हुने भएकाले मनलाई सन्तुलनमा राख्न साधनामा यौन आएको बुझिन्छ । अर्कोतिर, ऋतुको चर्चा गर्दा ऋतु शब्दले ‘रजस्वला’, ‘बोटबिरुवाको फल्ने फुल्ने मौसम’लाई पनि जनाउँछ । मानिसले काल गणना गर्दा चन्द्रमाको कलाजस्तै स्त्रीको रजस्वला अवधिलाई ख्याल गरेको हुनुपर्छ । महिनावारी भएको कति दिनमा सम्भोग गर्दा गर्भ बस्छ भन्ने ज्ञान मानिसले धेरै अघि पाएको थियो । कामसूत्रमा यौन र स्त्रीसम्बन्धी धेरै अनौठा रहस्य लेखिएका छन् ।

प्रकृतिमा बोटबिरुवा उम्रने र मर्ने प्रक्रिया कसरी चल्छ, अनि स्त्रीमा गर्भ बस्न रजस्वलाको भूमिका कति छ भन्ने चिन्तन मानिसले गर्दै आयो । दुर्गाको उपासना गर्ने पक्ष वा तिथि फूल फुल्ने मौसममै पारिएको छ । यसले प्रकृतिको शक्ति र स्त्री प्रजनन शक्तिलाई जोडेको बुझिन्छ । 

यद्यपि दुर्गा शब्दले दुर्ग वा किल्लातिर संकेत गर्छ । दुर्ग शब्दले शत्रुले सजिलै हमला गर्न नसक्ने दुर्गम ठाउँलाई बुझाउँछ । दुर्ग वा किल्ला आउनेबित्तिकै राज्य र शासक आउँछन् । युद्ध भइरहने विवेकहीन युगमा शासकको चिन्तन, सोच र साधना विजेता हुनेतर्फ जानु स्वाभाविक हो । 

दसैँको मन्त्र

लोग्ने मानिसलाई आशीर्वाद दिने मन्त्र 

आयुद्र्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे 

ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।

शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते,

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।

(द्रोणाचार्यका छोरा अवश्वत्थामाको बराबर दीर्घायु, राजा दशरथको जस्तो श्री (लक्ष्मी) अर्थात् धनसम्पत्ति, भगवान रामचन्द्रको जस्तो शुत्रक्षय, राजा नहुषको जस्तो ऐश्वर्य, वायुको समान गति, दुर्योधनको जस्तो सम्मान, सूर्यका छोरा कर्णको जस्तो दानशक्ति, बलरामको जस्तो बल (वीर्य), कुन्तीका छोरा युधिष्ठिरको झैँ सत्यता, विदुरको जस्तै नीतिज्ञान र नारायणको जस्तो कीर्ति प्राप्त होस् ।)

लक्ष्मीस्ते पङ्कजाक्षी निवसतु भवने भारती कण्ठेदेशे

वर्धन्तां वन्धुवर्गाः सकलरिपुगणाः यान्तु पातालदेशम् ।

देशे देशे च कीर्तिः प्रसरतु भवतां कुन्दपुष्येन्दुशुभ्रा

जीव त्वं पुत्रपौत्रैः सकलपरिवृतो हायनानां शतं च ।

(तिम्रो घरमा कमलका जस्ता आँखा भएकी लक्ष्मीको बास होस्, तिम्रो घाँटीमा सरस्वतीले वास गरुन्, तिम्रा बन्धु–बान्धव बढून्, सम्पूर्ण शत्रुहरू पाताल पुगून्, जूनझैँ स्वच्छ, चमेलीको बास्ना जस्तो तिम्रो कीर्ति देश देशावरसम्म फैलियोस्, छोरा नाति आदि सकल परिवारले सहित भई तिमी १०० वर्षसम्म बाँच ।) 

लक्ष्मीस्ते हृदि भारती च वदने मौलौ सदा केशव

श्चण्डी ते भुजदण्डयोर्गुणनिधिर्गेहे कुवेरस्थितिः ।

चित्ते धर्मरतिस्तवास्तु सततं दानप्रसंगः करे

सर्वास्ते विपदः प्रयान्तु विलयं त्वं दीर्घजीवी भव ।।

(तिम्रो हृदयमा लक्ष्मी, वाणीमा सरस्वती, शिरमा विष्णु, बाहुमा देवी, घरमा कुवेरको व्यवहार, मनमा धर्म, तिम्रो दुवै हातमा दानशक्ति होहोस्, तिम्रा सबै आपद्विपद्हरू लय (नष्ट) होऊन्, तिमी चिरञ्जीवी होऊ ।)

स्त्रीलाई आशीर्वाद दिने मन्त्र

भद्रमस्तु शिवं चास्तु महालक्ष्मी प्रसीदतु ।

रक्षन्तु त्वां सदा देवा आशिषः सन्तु सर्वदा ।

ओम् जयन्ती मंगलाकाली भद्रकाली कपालिनी

दुर्गा क्षमा शिवा धात्री स्वधा नमोस्तु ते ।।

जय त्वं देवि चामुण्डे जय भूतार्तिहारिणी ।

जय सर्वगते देवि कालरात्रि नमोस्तु ते ।।

तिम्रो भलो होस्, कल्याण होस्, महालक्ष्मी दुर्गा भवानी प्रसन्न हुन्, सधैँ देवताहरूले तिमीलाई रक्षा गरुन् । जयन्ती, मंगला, काली भद्रकाली, कपालिनी। दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधा यी नामले प्रसिद्ध जगदम्बिके तपाईंलाई मेरो नमस्कार छ । देवी चामुण्डे, तपाईंको जय होस् । 

सम्पूर्ण प्राणीहरूको पीडा नाश गर्ने हे देवी ! तपाईंको जय होस् । सबैमा व्याप्त रहने हे देवी ! तपाईंको जय होस् । कालरात्रि तपार्ईंलाई नमस्कार छ । 

यहाँ पुरुषलाई दिइने र स्त्रीलाई दिइने आशीर्वादमा विभेद देखिन्छ । पुरुषलाई दिइने आशीर्वादमा पुरुष शासककै महिमा आएका छन् । जस्तो ः राजा दशरथको जस्तो श्री (लक्ष्मी) अर्थात् धनसम्पत्ति, भगवान रामचन्द्रको जस्तो शुत्रक्षय, राजा नहुषको जस्तो ऐश्वर्य । चमेलीको बास्ना जस्तो तिम्रो कीर्ति देश देशावरसम्म फैलियोस् आदि । 

स्त्रीलाई दिइने आशीर्वादमा केवल भलो चिताइएको छ । भनिएको छ, ‘महालक्ष्मी दुर्गा भवानी प्रसन्न हुन्, सधैँ देवताहरूले तिमीलाई रक्षा गरुन् ।’

यद्यपि यी मन्त्रले एउटा संकेत गर्छ । दसैँ महाभारत रचनाकालभन्दा पछाडि सुरु भएको हो । कसरी भने, दसैँको मन्त्रमा महाभारतका पात्रको प्रसंंग आएको छ । पाण्डुरंग वामन काणेले आफ्नो पुस्तक ‘धर्मशास्त्र का इतिहास’मा महाभारत अन्तर्गतको भगवद्गीता ईसापूर्व ५००–२०० सम्म रचना उल्लेख गरेका छन् । महाभारत युद्ध कालमै दसैँ मनाउन थालिएको भए पनि यो २७ सय वर्षभन्दा पर जाँदैन । 

डा. ऋषिप्रसाद शर्माको पुस्तक ‘नेपाल राष्ट्रिय चाडपर्व’का अनुसार, दसैँको अरु देशमा पनि मनाइन्छ । उनी लेख्छन्, ‘भारतमा ‘दशहरा’ भनिने दसैँ पाल र सेनवंशी राजपुत (राजा) हरूका पालामा पनि विशेष रुपमा मनाइएको पाइन्छ । भारतको पञ्जाबमा उपवास र गुजरातमा नारीहरूद्वारा नौ दिनसम्म ‘गरवा’ नाच नाचेर नवरात्रमा मातृशक्तिको आराधना गरिन्छ । तमिलनाडुमा तीन–तीन दिनका हिसाबले क्रमशः लक्ष्मीपूजा, मातृशक्तिपूजा र सरस्वतीको पूजा–उपासना गरी दसैँ मनाइन्छ । बंगालमा दुर्गापूजा प्रसिद्ध छ । भारत लगायत इन्डोनेसिया आदि देशहरूमा समेत दसैँको अवसरमा ‘रामलीला’ खेल्ने चलन पाइन्छ ।’

दसैँ कहिलेदेखि सुरु भयो भन्ने प्रश्नमा, भारतबाट हिन्दूहरू अहिलेको नेपालको भूभागमा भित्रिएसँगै यस तिथिको कुनै पर्व अलिकति परिमार्जित भएर उतैबाट भित्रिएको अनुमान गर्न पनि सकिन्छ । अर्कोतिर, नेपाल भूमिमा बेलाबेला सिद्ध योगी कहलिएकाहरूको प्रभाव रहँदै आएको छ । डा. सूर्यमणि अधिकारीको पुस्तक ‘जुम्ला राज्यको इतिहास’ अनुसार, कास्मिरबाट मानसरोवरको तीर्थाटनका लागि सिद्ध योगी चन्दननाथ आएका थिए । जुम्लाको दुर्भिक्ष हटाउन उनले कास्मिरबाट कृष्णशाली धानको बिउ मगाई जुम्लामा खेती गर्न सिकाए । चैत्र १२ गते धानको बिउ पानीमा भिजाउने, १६ गते पानीबाट उतार्ने, चार दिनसम्म बिउलाई घरभित्रै कपडाले ढाकेर राख्ने, २० गते ब्याडमा लगेर छर्ने, जेठ महिनामा रोप्ने लगायत विधि उक्त पुस्तकमा उल्लेख छन् । 

अनुमान लगाउन सकिन्छ, कुनै सिद्ध योगी कहलिएका व्यक्तिले यस भूमिका मानिसलाई धार्मिक नियममा बाँधी राख्न विधिविधानपूर्वक दसैंँ मनाउन आरम्भ गरे कि ? 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।