शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अनाथ आश्रममा दसैँ : ​आश्रितलाई नागरिकताको समस्या

बुधबार, १९ असोज २०७९, ०८ : ०७
बुधबार, १९ असोज २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ मा रहेको रामचन्द्र मैनादेवी आश्रममा ६३ वर्षीय मैनादेवी भण्डारी बिहानदेखि साँझसम्म आश्रित बालकहरुको रेखदेखमा खटिने गर्छिन् । आश्रममा ९ जना बालक छन् । उनीहरुको पालनपोषणदेखि शिक्षा, स्वास्थ्यको जिम्मेवारीमा उनको दैनिकी बित्ने गर्छ । 

आश्रमकी अध्यक्ष भण्डारी बिहान ४ बजेदेखि राति १० बजेसम्म खट्ने गरेकी छन् । आश्रममा मुगु, हुम्ला, सिन्धुपाल्चोक जिल्लाका ८ वर्षदेखि १४ वर्षसम्मका बालक छन् । उनीहरू सबै तिलोत्तमा नगरपालिकामा रहेको शान्ति नमुना विद्यालयमा कक्षा ३ देखि ८ सम्म अध्ययनरत छन् ।  

श्रीमानले दिएको १५ धुर जग्गामा आश्रम निर्माण गरेर चलाएकी भण्डारीका दुई छोरा र दुई छोरी छन् । उनका छोराछोरीहरू आ–आफ्नो ढङ्गले अगाडि बढेका छन् । तर उनलाई आफ्ना छोराछोरीभन्दा आश्रममा रहेका बालबालिकाको चिन्ता बढी लाग्छ ।

२०५३ सालमा अनाथ तथा असहाय महिला कल्याण समाजको नामबाट जिल्ला प्रशासन र समाज कल्याण परिषद्मा संस्था दर्ता गरेकी उनले २०६२ सम्म सिलाई कटाइ, अचार बनाउने, उद्घोषण तालिम पनि सञ्चालन गरिन् । २०६२ सालमा आत्म शान्ति अनाथ आश्रम स्थापना गरेकी उनले सुरुमा दुई वटा कोठा भाडामा लिएर काम सुरु गरिन् । हाल आश्रमको दुई तले पक्की भवन छ । 

सुरुमा आफ्नै खर्चले सुरु गरेकी उनलाई बिस्तारै विभिन्न संघ, संस्थाले सहयोग गर्न थाले । पछिल्लो समय जन्मदिन तथा विभिन्न उत्सव पारेर खाद्यान्न तथा लत्ताकपडा सहयोग आउन थाल्यो । स्थानीय तहको सिफारिसमा आउने बालबालिकाहरूलाई आश्रममा राख्ने गरेको भण्डारी बताउँछिन् ।

आश्रममा हाल ७ जना द्वन्द्वपीडित बालक छन् । उनीहरूलाई तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सिफारिसमा राखिएको हो भने अन्य दुई जना स्थानीय तहको सिफारिसमा राखिएका हुन् ।

आश्रम स्थापनाका सुरुवाती दिनमा उनले धेरै दुःख पाइन् । आयस्रोत केही नभएपछि उनी चामल उठाउँदै गाउँ डुलिन् । गाउँबाट उठेको मुट्ठी दानले आश्रमका रहेका असहायहरूको छाक टरेको स्मरण गर्छिन् उनी । अहिले भने मैनादेवी खुसी छिन् । आमाबाबु गुमाएका बेसहारा बालबालिकाको सेवाबाट आत्म शान्ति पाएको उनी बताउँछिन् । तीन जना बालबालिकाबाट सुरु गरेको आश्रममा हालसम्म ३६ जना अनाथ बालबालिकाले सहारा लिइसकेका छन् । 

मैनादेवीले यही आश्रमका लागि २५ वर्ष दिएकी छन् । विभिन्न व्यक्ति, संघसंस्थाको सहयोगबाट अहिले पाँच कोठे भवन बनेको छ । उनले आश्रम चलाउन अक्षयकोष स्थापनाको अभियान चलाएकी छन् । त्यसमा १ करोड जम्मा गर्ने लक्ष्य छ । हालसम्म ५० लाख संकलन भइसकेको उनी सुनाउँछिन् । उनले भनिन्, ‘यदि मलाई केही भइहाले पनि आश्रम चल्ने अवस्था होस् भनेर अक्षयकोष स्थापनाको अभियान चलाएकी हुँ ।’

तिलोत्तमा नगरपालिका वडा नं. ६ का अध्यक्ष गणेश पाठकका अनुसार विगतमा नगरपालिकाले २ लाख रुपैयाँ बजेट सो आश्रमलाई दिएको बताउँदै आफूहरू थप सहयोगको योजनामा रहेको बताए । उनले आफ्नै वडामा स्थापना भएका कारण पनि आश्रमलाई सहयोग गर्नुपर्ने बताए ।

चाडपर्वमा भेला हुन्छन्

तनहुँको साविकको जगरकोट गाविसमा २०१८ सालमा जन्मिएकी भण्डारीका बुबा भागवत शर्मा लामिछाने समाजसेवी थिए । असहाय तथा वृद्धवृद्धालाई भागवत शर्माले बेलाबखत सहयोग गर्दथे । त्यही देखेर मैनादेवी पनि समाजसेवाप्रति झुकाव राख्न थालिन् ।

८ कक्षा पढ्दै गर्दा १४ वर्षको उमेरमा स्याङ्जाको तत्कालीन नुवाकोट गाविस वारी कुनाका रामचन्द्र भण्डारीसँग उनको विवाह भयो । विवाहपछि पनि उनले १० कक्षासम्म पढिन् । त्यो बेला घरमा ससुराका तीन भाइ सगोलमै थिए । घरमा १८÷२० जना पारिवारिक सदस्य थिए । घरबाट विद्यालय टाढा । त्यसमाथि बुहारीलाई पढाउनु हुँदैन भन्ने सामाजिक मान्यता रहेका कारण बिहेपछि उनी नियमित रूपमा विद्यालय जान सकिनन् । विद्यालय नगई पास गर्छु भन्ने नलागेकाले एसएलसी नदिएको उनले बताइन् । अनि आफ्ना पनि बच्चा भए । २ छोरा र २ छोरी जन्मिए । त्यसपछि उनको परिवार रुपन्देही झ¥यो ।

बिस्तारै ससुराहरू छुट्टिए । ससुराहरू छुट्टिएपछि सानो परिवार भयो । आफ्ना छोराछोरी हुर्किएपछि बाल्यकालदेखि उनमा रहेको समाजसेवा गर्ने धोको पूरा गर्ने सोच पलायो । रुपन्देहीको तिलोत्तमामा उनी विभिन्न आमा समूह, सामुदायिक वन, सहकारी जस्ता निकायको नेतृत्वमा पुगिन् । त्यसपछि उनले अनाथका लागि आश्रम सुरु गरिन् । हालसम्म यो आश्रममा हुर्किएर २९ जना बिदा भइसकेका छन् । त्यसमा ७ जना युवतीसमेत छन् । उनीहरू आआफ्नो ढङ्गले घरबार गरेर बसेका छन् । यहीँ हुर्किएका बाबुराम भण्डारी इन्जिनियर भएका छन् । उनीहरू सबैले मैनादेवी भण्डारीलाई जन्मदिन, चाडपर्वमा सम्झिन्छन् । आमाको मुख हेर्ने दिन भेट्न आउँछन् । आश्रममै बसेर हुर्किएका तर अहिले विभिन्न स्थानमा पुगेकाहरूले उनको जन्मदिनको दिन फोन गर्दछन् । उपहार पनि ल्याइदिन्छन् ।

आफ्ना सन्तानले जस्तै माया गर्दा आफूलाई पनि आनन्द लाग्ने गरेको उनले सुनाइन् । बुटवल तथा आसपासकै क्षेत्रमा रहेकाहरु त दसैँमा टीका लगाउन पनि आश्रममै आउने गरेको उनको भनाइ छ । उनले हुर्काएकामध्ये विवाह गरेर घरजम गरेकाहरू, कर्मको सिलसिलामा बाहिर रहेकाहरु टीका थाप्न आउने गरेको भन्दै उनी कोही आउन नपाए फोन गरेर न्यास्रो मेट्ने गरेको बताउँछिन् ।

उनले भनिन्, ‘अहिले दसैँ सुरु भएको छ । हामीले यहाँ रहेका बाबुहरूलाई साँझ बिहान आधा घण्टा भजन गाउन लगाउँछौँ भने विद्यालय बन्द भएको समयमा अतिरिक्त कार्यक्रमहरू वक्तृत्वकला, उद्घोषण आदि सिकाउँछौँ ।’

अनाथ मुगुका जयनन्द रोकायाले दसैँ, तिहार तथा चाडपर्वमा आफूहरुलाई बाबुआमा नभएको महसुस नहुने बताए । तिहारमा पनि यहीँबाट बिदा भएर गएका दिदीहरु आएर टीका लगाइदिने भएकोले चाडपर्वहरु रमाइलैसँग मनाउने गरेको उनको भनाइ छ ।

नागरिकताको समस्या

यो आश्रममा हुर्किएकामध्ये ४ जनालाई नागरिकताको समस्या छ । स्थानीय प्रशासन, वडा कार्यालय, गाउँ वा नगरपालिकाबाट भएको सिफारिसका आधारमा मैनादेवीले असहायलाई आश्रममा आश्रय दिने गरेकी छन् । तर, पछिल्लो समय सरकारी निकायले आश्रयका लागि सिफारिस दिए पनि नागरिकता वा जन्मदर्ताका लागि सिफारिस नदिँदा मैनादेवी दुःखी छिन् ।

नागरिकता बनाइदिन खोज्दा प्रशासन कार्यालयले बाबुआमा खोज्छ । आश्रमबाट हुर्किएर होटल तथा अन्य ठाउँमा जागिर गर्न गएका ४ जनाले मैनादेवीलाई नागरिकता बनाइदिनु प¥यो भन्दै मद्दत माग्छन् । ‘तर के गर्ने, स्थानीय प्रशासनले दिँदैन, समस्या बुझेकी छु, कोसिस गरेकी छु तर उनीहरूलाई नागरिकता बनाइदिन सकिएको छैन,’ उनले भनिन्, ‘अस्ति पनि एउटा बाबु नागरिकता बनाइदिनु प¥यो भन्दै आएका थिए, मैले स्थानीय तह तथा प्रशासनसँग पहल गरे पनि नागरिकता बनाइदिन सकेकी छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप