दसैँ

‘दसैँमा दक्षिणा दिने चलन नेवारी समुदायको मौलिक होइन’

person explore access_timeअसोज १९, २०७९ chat_bubble_outline0

नेपाल प्रज्ञा प्रतिष्ठानमा मातृभाषा साहित्य विभाग प्रमुख हुन्, लक्ष्मी माली । नेपालमा रहेका सबै मातृभाषाका साहित्य, लोक साहित्य, लोकगीत, मिथक, लोककथाहरूलाई सङ्कलन गर्ने र त्यससम्बन्धी अनुसन्धानका काम यस विभागभित्र पर्छन् ।


प्रज्ञा प्रतिष्ठान जस्तो प्राज्ञिक थलोमा रही मातृभाषालाई जोगाउने काममा लागिपरेकी लक्ष्मी मालीले नेवारी समुदायले मनाउने बडा दसैँबारे रातोपाटीसँग विविध जानकारी साझा गरेकी छन् । 



हिन्दु, बौद्ध दुवैले दसैँ मनाउने 



दसैँमा दुर्गाको पूजा गरिने हुनाले हिन्दुहरूको महान् चाड भनिन्छ । तर नेवारी समुदायका हिन्दु र बौद्ध धर्म मान्ने दुवै धर्मावलम्बीले दसैँ मनाउँछन् । 

नेपाल भाषाको लोक साहित्यमा नै जमराको ठुलो महत्त्व देखाइएको छ । नेपालभाषामा जमरालाई ‘नलिसाँ’ भनिन्छ । नलि भनेका नयाँ, साँ भनेको फूल हो । नलिसाँका बारेमा प्रशस्त लोकगीत छन् । 

यसै गरी दसैँमा बजाइने मालश्री धुन पनि नेपालभाषाको मौलिक बाजाले बनेको धुन हो । यो धुन आदिकालदेखि बज्दै आएको छ । 

दसैँमा विशेष गरी दुर्गा भवानीको पूजा गरिन्छ । त्योबाहेक कोतहरूको, आँगनको पूजा पनि गर्छन् । कृषकहरूले कुटो, कोदालोलगायत आफ्नो जीवनयापनका लागि आवश्यक औजारको पूजा गर्छन् । नकर्मीहरूले फलामसँग सम्बन्धित औजारको पूजा गर्छन् । व्यापारी तथा साहुहरूले ढक, तराजु, माना पाथीको पूजा गर्छन् । 

त्यसैले बडादसैँ देवीको मात्रै पूजा नभई आआफ्ना कुल देवता, आफ्ना व्यवसायमा लागेका औजारहरूको पूजा गर्ने, त्यसमा शक्ति स्थापना गर्ने परम्परा नेवारी समुदायमा चलिआएको छ । 

घटस्थापनाका दिनमा अरू समुदायले जस्तै नेवार समुदायले पनि कलश स्थापना गरेर मकैको जमरा राखी पूजाको थालनी गर्छन् । जमरा राख्दा आफ्ना इष्टशक्तिको आराधना गरेर दसैँ सुरु गर्छन् । 

घटस्थापनाका दिन यो समुदायमा डमरु बजाउनै पर्छ । देवीको आराधना अर्थात् कालीको शक्तिको पूजा हुन्छ । डमरू कि त महादेवले बजाउँछन् कि कालीले बजाउँछिन् । तर यो समय महादेवको पूजा नभई कालीको पूजा हुन्छ । घटस्थापनाका दिन छरेको जमरालाई ९ दिनसम्म पूजा गरेर ठुलो पारिन्छ । 

नवमीको दिन हतियारहरूको विशेष पूजा हुन्छ । हाम्रा यातायातका साधनहरू गाडी, मोटरसाइकल, साइकल आदिको पनि पूजा हुन्छ । तेलीको घरमा तेल  निकाल्ने मिलका सबै किसिमका औजारको पूजा हुन्छ । 


नवमीका दिन तीनवटा कलश स्थापना गरेर पूजा गर्ने चलन छ । ती तीनवटा कलशमा जाँड, रक्सी र पानी राखिएको हुन्छ । यसलाई कसै कसैले अन्नपूर्णा देवीको पूजा गरेको भन्छन् । जाँडको कलशमाथि चिउरा, समयबजी, रक्सीको माथि चामल, पानीको माथि चिउरा हालेर छोपेर पूजा गर्ने चलन छ । 

दशमीका दिन ती सबै कुरा निकालिन्छ अर्थात् अन्नपूर्ण देवीलाई चढाएका ती सामग्री सबैभन्दा पहिला छोरीलाई पूजा गरेर उनको हातमा हस्तान्तरण गरिन्छ । ती सबै कुरा छोरीलाई दिइन्छ । नेवार समुदायमा छोरीलाई विशेष महत्त्व दिइन्छ । त्यसैले टीका पनि छोरीलाई पहिला लगाएर दान, दक्षिणा दिइन्छ । टीका आँगनमा पातमा चढाइन्छ । त्यसपछि सबैलाई टीका लगाएर आशीर्वाद दिइन्छ ।   

कसै कसैले निधारको दायाँबायाँ पनि टीका लगाएको देखिन्छ । तर नेवारी समुदायमा त्यस्तो प्रचलन भएको कहीँ उल्लेख गरेको भेटिँदैन । यो समुदायले निधारको सबैभन्दा माथिल्लो भागमा कपाललाई छुने गरी टीका लगाइदिने चलन छ । 

मल्लकालदेखि दसैँको प्रचलन

मल्लकालदेखि नेवारी समुदायले टीका लगाउने प्रचलन सुरु भएको देखिन्छ । त्योभन्दा अगाडि थियो थिएन, यसबारे अनुसन्धान जरुरी छ । किनभने मल्लकालमा कोलको पूजा, आँगनको पूजा गर्ने प्रचलन भेटिन्छ । विशेष गरी नवमीको दिन कुमारीको पूजा गर्ने चलन पाइन्छ । रजस्वला नभएका आफ्नै छोरीचेलीलाई नवमीमा विशेष पूजा गरिन्छ । 

नवमीका दिन तलेजु भवानीको पूजा गर्ने चलन बसाएको पाइन्छ । नान्यदेवको पालादेखि यो प्रचलन सुरु भएको इतिहास छ । 

नेवारहरूमा पहिले पहिले टीकामा दक्षिणा वा पैसा दिने चलन थिएन । प्रसाद चाहिँ बाँड्ने चलन थियो । दक्षिणा दिने प्रचलन नेवारी समुदायको मौलिक चलन होइन, देखासिकी गरेर पछि आएको हो । 

अनिवार्य छैन बलि परम्परा

नवमीमा कसैले बलि दिन्छन्, कसैले दिँदैनन् । तर तलेजु भवानीलाई भने आठवटा राँगाको बलि दिने गरेको पाइन्छ । कोतलाई पनि बलि दिने गरेको देखिन्छ । नेवार समुदायकै कुनै कुनै घरमा कुखुराको बलि दिने गरेको भए पनि अनिवार्य चलन छैन । 

नेवारहरूलाई दसैँमा अनिवार्य चाहिने भनेको उखुको बोट, अदुवाको बोट, कुभिण्डो, गोकुल धूप, रातो र सेतो कपडा, खुँडा, खुकुरी वा कर्द जस्ता हातहतियार जस्ता सामग्री अनिवार्य चाहिन्छ । 

मासुका थरि थरिका परिकार 

खानामा मासुका विशेष परिकारहरू बनाइन्छन् । दूध, दही पनि हुन्छ । तर मासुकै मात्र १०, १२ परिकार बनाइन्छन् । खानापिच्छे मासुको परिकार फरक फरक बन्छ । समयबजी भनेपछि पोलेकै मासु हुनुपर्ने हुन्छ । धेरैले छोयला भन्छन्, तर त्यसको वास्तविक उच्चारण चाहिँ ‘छुयला’ हो ।  ‘छुय’ भनेको पोलेको र ‘ला’ भनेको मासु हो । 

नेवार समुदायमा रक्सीलाई आदिकालदेखि नै पूजाआजा गर्दै आएको देखिन्छ । रक्सी राखेरै पाहुनाको सत्कारका गरिन्छ । रक्सीसहितको खानेकुरामा भुटन अनिवार्य हुन्छ । भुटन पनि धेरै प्रकारको हुन्छन् । सपुनभुचा भनेर पातलो भुँडीभित्र बोनम्यारो राखेर भुटेको र बन्द गरेर बनाइन्छ । महजलाई उसिनेर काटेर चक्का चक्का काटेर बारा जस्तो बनाइराखेको, मासुको डल्लोको र पत्रपत्रलाई राखेर बनाइएका विभिन्न प्रकारका भुटन खुवाउने चलन छ । 

यस्तै भोज खाने बेलामा झोल भएका परिकार बनाइन्छन् । जस्तै कवाफजस्तै व्याकुला अर्थात् उमालेर पकाएको मासु अनिवार्य चाहिन्छ । यसरी मासुका परिकार पनि कुन समयमा के बनाउने र के खुवाउने भन्ने विशेष हुन्छ । 

रातो रङ विजयको प्रतीक

नेवारी समुदायले रातो रङको टीका लगाउँछन् । रातो रङमा पनि लावा (धान भुटेर बनेको फूल) र दही मिसाउनै पर्छ । टीकामा अक्षता, दही, लावा र सिम्रिक अनिवार्य मिसाइन्छ । अरू रङ यो समुदायमा प्रचलनमा छैन । 

रातो टीकाको पनि प्रतीकात्मक अर्थ छ । रातो रङ विजयको प्रतीक हो । दही भनेको पनि शुभकार्य र विजयको प्रतीक हो । चामल पनि सकेसम्म टुक्रिएको प्रयोग हुँदैन । यो सँगै रातो र सेतो कपडाको माला हुन्छ, जसलाई कोखा भनिन्छ । कोखा पनि विजयको प्रतीक हो । कुनै पनि राम्रो काम गरेबापत विजयको रूपमा सगुन दिन रातो टीका र कोखाको माला लगाइदिने चलन छ । 

नेपाल भाषामा मन्त्र छैनन् तर सहस्र आशीर्वाद दिने चलन छ । सुस्वास्थ्य, दीर्घायु र राम्रो प्रगतिको कामना गर्दै आशीर्वाद दिइन्छ । दाजुभाइमा मिलन होस्, कुलको मर्यादा कायम गर्न सकोस् भनेर धेरैले आशीर्वाद दिन्छन् । 

नेवारी समुदायमा सुकुन्दा बाल्ने चलन छ । सुकुन्दामा चाहिँ गणेश, दियो र कलश हुन्छ । उभिइ राखेका गणेशका बीचमा कलश हुन्छ र अगाडि दियो राखिएको हुन्छ । दियो बालेर गणेशको पूजा गरिसकेपछि रातो टीका लगाएर अन्डा, माछा, लावा, रक्सी हालेर सगुन दिने चलन छ । यो नेवार समुदायमा विजयको प्रतीक हो । 

सेतो टीका हाम्रो कुनै पनि कार्यक्रममा प्रयोग हुँदैन । यदि नारायणको पूजा गरी श्रीखण्डको प्रयोग भएको छ भने पनि त्यसमाथि अबिर लगाइदिने चलन छ । श्रीखण्ड मात्र लगाइँदैन ।

पहिले जस्तो छैन उत्साह 

म न्यूरोडको सङ्कटा नजिकैको मच्छेगल्लीमा जन्मिएको हुँ । त्यहाँ घटस्थापनाका दिन पिङ हालिन्थ्यो । दसैँभरि पिङ खेलिन्थ्यो । नयाँ लुगा लगाउने, छोरीहरूलाई चुरा लगाइदिने चलन थियो । त्यतिबेला एकदमै रमाइलो हुन्थ्यो । दसैँमा अष्टमीदेखि लगातार आफ्नै घरमा भोज हुन्थ्यो । दसैँपछि त्यसरी मामाघरहरूमा पालैपालो भोज हुन्थ्यो । 

यसै गरी दशमीका दिन टेबहालभित्र भद्रकालीको खड्गजात्रा हुन्थ्यो । आफन्तजनहरूकोमा आलोपालो भोज हुन्थ्यो । यी कार्यहरू हुँदा असाध्यै रमाइलो हुन्थ्यो ।   

दसैँ सकिएपछि नेवारी समुदायमा प्रत्येक माइतीले छोरीहरूलाई नखट्या भनेर बोलाउँछन् । नखट्यामा आफ्ना छोरी, ज्वाइँ, भान्जाभान्जीलाई बोलाएर भोज खुवाउने गरिन्छ । 

पहिलेको र अहिलेको दसैँमा धेरै फरक छ । अहिलेको दसैँमा उत्साह नै छैन । पहिला पहिला आम्दानी कम हुने मानिसहरूले पनि चाडपर्व निकै उल्लासमय तरिकाले मनाउँथे । तर अहिले त बच्चाहरूमा पनि त्यति उत्साह देखिँदैन । मोबाइल हेर्नमा व्यस्त देखिन्छन् । एक्लै कुनातिर बस्न थाले । सानाको मात्र होइन, ठुला मान्छेहरूमा पनि उत्साह कम छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।