बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी

बुधबार, १९ असोज २०७९, १६ : ४३
बुधबार, १९ असोज २०७९

तनहुँ कारागारमा रहेका कैदीबन्दी आफन्तसँग टीका लगाउन पाउँदा खुसी भएका छन् । विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन् ।

कोभिड–१९ को सङ्क्रमणपछि पहिलो पटक कैदीबन्दीले आफन्तको हातबाट टीका लगाउन पाएका हुन् । विगतका वर्ष कोभिड–१९ को जोखिमका कारण आफन्तबाट टीका लगाउन रोक लगाइएको थियो ।

कारागारमा पुर्पक्षका लागि थुनामा रहेका एक कैदीबन्दीले दसैँका दिन आफन्तसँग भेटघाट गर्दै टीका लगाउन पाउँदा खुसी लागेको बताए। “दसैँका बेला निधार खाली हुन्छ की भन्ने चिन्ता थियो, तर आफन्तसँगै टीका लगाउन पाएर एकदमै खुसी लागेको छ”, उनले भने ।
 
“यो वर्ष आफन्तको हातबाट टीका लगाउन पाउने व्यवस्था मिलाएका हौँ”, कारागारका निमित्त प्रमुख नारायण अधिकारीले भने, “आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दीले राम्रो मान्नुभएको छ ।” उहाँका अनुसार दिउँसो १ः३० बजेसम्म ३४ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन् ।
 
बिहानैदेखि झरी परेकाले उनीहरुका आफन्त आउन ढिलाइ भएको हुनसक्ने उनले बताए । “झरीले केही समस्या बनाए पनि टीका लगाउने व्यवस्थापन मिलाएका छौँ”, अधिकारीले भने ।
 
कैदीबन्दीहरुले दसैँ मनाउन खशीबोका खरिद गर्नका लागि कोष बनाएका थिए । कोषमा सबै कैदीबन्दीले रकम जम्मा गरेका छन् । सोही कोषमा जम्मा गरिएको रकमले खशी, कुखुरा लगायत खरिद गरिएको छ ।
 
“सरकारले दसैँ खर्चबापत प्रत्येक कैदीबन्दीलाई रु तीन सयका दरले रकम उपलब्ध गराउँछ, सोही रकम र मूढा बिक्री गरेर कमाएको पैसा कैदीबन्दीले कोषमा राखेका छन्, त्यही रकमबाट आवश्यक सामग्री खरिद गरी रमाइलो गरिएको छ”, अधिकारीले भन्नुभयो । तनहुँ कारागारमा १२ महिलासहित दुई सय ८७ कैदीबन्दी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप