मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकाका सडकमा बढ्यो चहलपहल

बुधबार, १९ असोज २०७९, १८ : ४४
बुधबार, १९ असोज २०७९

नेपालीहरुको महान चाड विजया दशमी मनाउन आफन्तहरुकोमा जाने क्रमसँगै काठमाडौंका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । आज दशैँको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका एवं नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा टीका लगाउन जाने क्रम शुरु भएको हो ।

काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा साइतको टीका घरमा लगाइसकेपछि आफन्तहरुकोमा जाने क्रमसँगै सडकमा सर्वसाधारणहरू सवारीसाधन कुरेर बसिरहेको देख्न सकिन्छ ।

दुर्गा पक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दशैँ घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रासादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानेर लगाउने गरिन्छ ।

त्रेता युगमा आजकै दिन भगवान रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । आज असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी (बडा दशैँ) को सबैभन्दा महत्वपूर्ण दिन हो । यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ ।

आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशीर्वाद लिइन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप