बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘क्लिक केमेस्ट्री’ मा योगदान गर्ने वैज्ञानिकलाई नोबेल पुरस्कार

बुधबार, १९ असोज २०७९, २० : ३८
बुधबार, १९ असोज २०७९

संयुक्त राज्य अमेरिका दुई र डेनमार्कका एक रसायनशास्त्रीले ‘क्लिक केमेस्ट्री’का लागि गरेको योगदानका लागि यस बर्षको नोबेल पुरस्कार प्राप्त गरेका छन् । 

अमेरिकी क्यारोलिन बर्टोजी र ब्यारी शार्पलेस तथा डेनमार्कका मोर्टेन मेल्डललाई ‘क्लिक केमेस्ट्री र बायोओर्थोगोनल केमेस्ट्री’को विकासका लागि सम्मान गरिएको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार समितिले बुधबार जनाएको छ ।

यस वर्ष हालसम्म नोबेल पुरस्कार विजेता सात वैज्ञानिकमध्ये बर्तोजी एक मात्र महिला वैज्ञानिक हुनुहुन्छ । पुरस्कारको इतिहासमा विशेष गरी विज्ञान विषयहरूमा महिलाहरूको प्रतिनिधित्व निकै कम हुने गर्छ । 

तीनजना विजेताले एक करोड स्विडिश क्रोना अर्थात् ८ लाख पाउन्ड बराबरको पुरस्कार रकम बाँडेर लिनेछन् । गत वर्षको पुरस्कार दुईजना रसायनशास्त्रीले संयुक्त रूपमा प्राप्त गरेका थिए ।

सन् २००१ मा रसायनशास्त्रमा नोबेल पुरस्कार जितेका ८१ वर्षीय शार्पलेसका लागि यो दोस्रो नोबेल पुरस्कार हो ।  सन् १९०३ मा पहिलो पटक भौतिकशास्त्रको पुरस्कार जितेपछि सन् १९११ मा रसायनशास्त्रको पुरस्कार जितेकी पोल्याण्डमा जन्मिएकी फ्रान्सेली महिला मेरी क्युरीसहित अन्य चार जनाले मात्र दुई पटक नोबेल पुरस्कार जितेका छन् ।

उहाँपछि सन् १९५४ मा रसायनशास्त्र र सन् १९६२ मा शान्तिका लागि अमेरिकी लिनस पाउलिङले अवार्ड जितेका थिए । अमेरिकाका जोन बर्डिनले सन् १९५६ र १९७२ मा भौतिकशास्त्रको पुरस्कार जितेका थिए भने बेलायतका फ्रेडरिक सेङ्गरले सन् १९५८ र १९८० मा रसायनशास्त्रको पुरस्कार जितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप