बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

साउदीमा एक नेपाली २४ दिनदेखि बेपत्ता

बिहीबार, २० असोज २०७९, १७ : ३३
बिहीबार, २० असोज २०७९

वैदेशिक रोजगारीका लागि साउदी गएका बारा सुवर्ण गाउँपालिका ६ का शेष सफिउल्लाह विगत २४ दिनदेखि सम्पर्कविहीन बनेका छन् । साउदी अरबको गोल्डेन चिकेन कम्पनीमा काम गर्दै आएका उनी भदौ २८ गते (१३ सेप्टेम्बर २०२२) देखि सम्पर्कविहीन बनेका हुन् । 

मानसिक सन्तुलन ठिक नभएपछि उनलाई कम्पनीले होस्टेलमा राख्ने भनेर लगेको थियो । त्यहीको पर्खाल नाघेर भागेका उनी सम्पर्कविहीन भएका हुन् । उनी भागेपछि कम्पनीले नेपालमा रहेको परिवारलाई खबर गरेको थियो । त्यसपछि उनको परिवारले परराष्ट्र मन्त्रालयमार्फत साउदीमा रहेको नेपाली राजदूतावासलाई खोजीका लागि आग्रह गरेको थियो । 

तर, उनी अहिलेसम्म सम्पर्कमा नआएको उनका दाजु शेष अतिउल्लाहले रातोपाटीलाई जानकारी दिए । ‘मानसिक सन्तुलन ठिक नभएपछि होस्टेलमा राख्ने भनेर लगेको रहेछ । त्यही होस्टेलको पर्खाल नाघेर भाग्यो भन्ने जानकारी आएको छ । यथार्थ के हो थाहा छैन ।’ उनले भने । 

कम्पनीले उनको घर परिवारलाई होस्टेलबाट भागेको बताए पनि सोही कम्पनीमा काम गर्ने नेपालीहरूले भने उनलाई बेपत्ता पारिएको बताएका छन् । रातोपाटीको सम्पर्कमा आएका एक नेपालीका अनुसार उनलाई कम्पनीकै कर्मचारीले अर्को ठाउँमा लैजाने भनेर लगेका थिए । त्यहीबाट उनी सम्पर्कविहीन बनेका हुन् । अर्को ठाउँमा लैजाने कर्मचारी फर्किएर ‘तिम्रो मान्छे भाग्यो’ भनेका थिए । 

मानसिक सन्तुलन ठिक नभएको व्यक्तिलाई घर पठाउनु वा उपचार गराउनुको साटो कम्पनीले अर्को ठाउँमा पठाएको र त्यहीबाट हराएको ती नेपालीको भनाई छ । 

‘पछिल्लो समय धेरै बोल्ने, बेहोस हुने समस्या देखिएको थियो । त्यस्तो बिरामीलाई उपचार गर्नु त कता हो कमसेकम घर पठाइदिनुपर्ने नि ! अर्कै ठाउँमा लैजाने भनेर लगेका थिए । यता फर्केपछि त भाग्यो भने । गाडीमा हालेर लगेको त्यसमा पनि सुरक्षा गार्डसहित लगेको व्यक्ति कसरी भाग्छ ?’ ती नेपालीले भने । 

उनी सम्पर्कविहीन भएपछि कम्पनीमा कार्यरत नेपालीहरू बुझ्न गएका थिए । उनीहरूलाई अर्को ठाउँमा लैजाँदा भागेको भनेर जानकारी दिएका थिए । उनी सम्पर्कविहीन भएको विषयमा रियादमा रहेको नेपाली राजदूतावासले पनि सूचना जारी गरेको छ । आफ्नो सामाजिक सञ्जालमार्फत पोष्ट गर्दै दूतावासले उनलाई सम्पर्कमा आउन भनेको छ ।   

उक्त कम्पनीका काम गर्ने ७० भन्दा बढी नेपालीहरू यतिबेला चिन्तित बनेका छन् । उनीहरूलाई एकातिर आफ्नो साथी हराएको चिन्ता छ भने अर्कोतिर भोलि के हुने हो भन्ने डर छ । ‘हामीले काम गर्ने कम्पनी २ ठाउँमा छ । शेष बिरामी भएपछि उनलाई अर्को ठाउँमा लैजाने भनेर लगेका थिए । अर्को ठाउँ जान हाम्रोबाट गाडीमा डेढ २ घण्टा लाग्छ । भाग्न सक्ने सम्भावना नै छैन । उनीहरूले कहीँ कतै लगेर के गर्‍यो शङ्काको विषय छ ।’ ती नेपालीले भने । 

अर्का नेपालीले भने कम्पनीले भोलि अस्पताल लैजाने भनेको राति नै उनी भागेको बताए । ‘कम्पनीले भोली अस्पताल लैजान्छु भनेको थियो । तर, यो मान्छे राति नै कता गयो थाहा भएन् । धेरै खोजी गर्‍यौं पत्ता लगाउन सकिएन् ।’ ती नेपालीले भने । 

उनका दाजु शेख अब्दुल हवाब पनि साउदीमै छन् । भाइको खोजीका लागि उनी  लागि सबै निकाय धाइसकेका छन् । तर, अहिलेसम्म सम्पर्कविहीन बनेको उनको भनाई छ । 

उनी सम्पर्कविहीन भएपछि घर परिवार यतिबेला निकै पीडामा छ । उनी करिब ८ महिना अघि मात्रै नेपालबाट वैदेशिक रोजगारीका लागि साउदी पुगेका थिए । राम्रैसँग काम गर्दै आएका उनी पछिल्लो समय डिप्रेशनको शिकार बनेका थिए । 

दूतावासले समेत उनको खोजीको लागि पहल गरिरहेको छ । तर, अहिलेसम्म कति कतै फेला नपरेको दूतावासले जनाएको छ । उनका दाजु शेष अतिउल्लाहका अनुसार उनी केही वर्ष अगाडि पनि डिप्रेशनको शिकार बनेका थिए । पछि उपचार गराएर ठिक भएका थिए । 

‘केही वर्ष अगाडि यस्तो समस्या देखिएको थियो । त्यसपछि उपचार गराएर ठिक भएको थियो । साउदी पुगेपछि राम्रैसँग काम गरिरहेका थिए । केही महिनादेखि उनी धेरै बोल्ने, बर्बराउने गर्न थालेका थिए । त्यस्तो अवस्थामा रहेको मान्छेको कम्पनीले उपचार गराउनुपर्थ्यो । समयमै उपचार गराइदिएको भए आज यस्तो अवस्था आएन थिएन,’ उनले भने । उनले भाइको खोजीका लागि पहल गरिदिन सबैमा अनुरोध गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप