बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भीसीटीएसका ३ वर्षः १२९ खर्ब ५० अर्बको कारोबार प्रयोगकर्ता १ लाख ७४ हजार

शुक्रबार, २१ असोज २०७९, ०६ : १२
शुक्रबार, २१ असोज २०७९

मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भेइकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम–भीसीटीएस) संचालनमा आएको ३ वर्ष पूरा भएको छ । सरकारले २०७६ साउन १ गतेदेखि लागू गरेको थियो । 

यो अवधिमा भीसीटीएस प्रयोगकर्ताको सङ्ख्या १ लाख ७४ हजार नाघेको छ । सरकारले यसको प्रयोग अनिवार्य गरेको र व्यापार गर्ने फर्मको लागि प्रयोग गर्दा फाइदा पनि बढी हुने भएकोले भीसीटीएसको प्रयोग बढेको राजस्व अनुसन्धान विभागका उपमहानिर्दशक प्रधुम्न प्रसाद उपाध्याय बताउँछन् ।

‘मालवस्तु ढुवानी गर्ने व्यापारिक फर्मको लागि अनिवार्य भएकोले प्रयोग गर्दिन भन्न कसैले पनि नपाउने भयो, यसको प्रयोगले विक्रेतालाई पनि फाइदा हुने भएकोले अहिले सबैले यसको स्वागत गरेका छन्, आवश्यक पर्नेहरू खुसीसाथ यसको प्रयोगमा छन्,’ उपाध्यायले रातोपाटीसँग भने ।

अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्न भीसीटीएस आवश्यक रहेको सरकारको भनाई छ । सुरुवाती समयमा व्यवसायीले यो प्रणालीको विरोध गरेका भएपनि अहिले भने सबैले स्वागत गरेका छन् ।

विभागका अनुसार गत असार मसान्तसम्ममा भीसीटीएस प्रयोगकर्ताको सङ्ख्या १ लाख ७४ हजार ६४८ पुगेको छ । विल प्रविष्टि सङ्ख्या ३ करोड १ लाख १७ हजार पुगेको छ भने १३ लाख ८३ हजार २ सय ४६ वटा प्रज्ञापनपत्र प्रविष्टि भएका छन् । यस्तै, चलान प्रविष्टि सङ्ख्या १२ लाख ८५ हजार १८९ रहेका छन् भने १२९ खर्ब ५० अर्ब रुपैयाँ बराबरको कारोबार रकम प्रविष्ट भएको विभागले जानकारी दिएको छ ।

नियम विपरीत कार्य गर्ने फर्महरूलाई विभागले कारबाही पनि गरेको छ । गत आर्थिक वर्षमा अनुगमन गर्दा ७०४ फर्म तथा कम्पनीहरूलाई कारबाही गरिएको तथा सो कारबाहीबाट ४ करोड १४ लाख रुपैयाँ जरिवाना गरिएको उपमहानिर्देशक उपाध्यायले जानकारी दिए । 

भीसीटीएस के हो ?

व्यावसायिक प्रयोजनका मालवस्तु आयात–निर्यातकर्ता, उद्योग, भन्सार एजेन्ट, ढुवानी कम्पनी, वितरक तथा थोक स्तरमा बिक्री गर्दा भीसीटीएसमा इन्ट्री गर्नुपर्छ । केन्द्रीय सूचना प्रणालीमा व्यावसायिक प्रयोजनका मालवस्तु तथा ढुवानी साधनको सङ्क्षिप्त विवरण प्रविष्ट गरेर मात्र मालसामान ओसार पसार गर्नुपर्ने छ ।

भीसीटीएस उल्लङ्घन भए के हुन्छ ?

भीसीटीएस उल्लङ्घन गर्नेलाई कारबाही गर्ने अधिकार राजस्व अनुसन्धान विभागका महानिर्देशकलाई मात्र छ । भीसीटीएस उल्लङ्घन भएमा पहिलो पटकमा ५० हजार, दोस्रो पटक ७५ हजार हुँदै जरिवाना बढ्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप