शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले राख्न थाल्यो वैदेशिक रोजगारीबाट स्वदेश फर्किनेहरूको विवरण

शुक्रबार, २१ असोज २०७९, ११ : ३९
शुक्रबार, २१ असोज २०७९

सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरूको विवरण राख्न थालेको हो । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीबाट फर्किएकाहरूको विवरण राख्न थालेको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विमानस्थलमै स्वदेश फर्किनेहरूको विवरण सङ्कलन गर्न विभागलाई भनेको थियो । सोही आधारमा विभागले साउनदेखि विवरण अद्यावधिक गर्न थालेको छ । 

विवरण अद्यावधिक गर्न थालेपछि साउनमा ३५ हजार ६०५ जना स्वदेश फर्किएका छन् । जसमा ३२ हजार ८०७ पुरुष र २ हजार ७९८ महिला रहेका छन् । त्यसरी फर्किनेहरूमा सबैभन्दा बढी कतारबाट रहेका छन् । कतारबाट मात्रै ११ हजार ४८ जना स्वदेश फर्किएको विभागको तथ्याङ्कले देखाएको छ । 

त्यस्तै युएईबाट ८ हजार ४५५, साउदी अरेबियाबाट ८ हजार ४०, मलेसियाबाट ३ हजार ९७२, कुवेतबाट ३ हजार ९७२ जना रहेका छन् । त्यस्तै भदौ महिनामा ४७ हजार ८९७ जना स्वदेश फर्किएका छन् । त्यसरी फर्किनेमा कतारबाट १३ हजार २९२, साउदी अरेबियाबाट ११ हजार १८२, युएईबाट १० हजार ८५०, मलेसियाबाट ६ हजार ५२०, कुवेतबाट २ हजार १५ जना रहेका छन् । 

श्रम मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि पुनः एकीकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७९ जारी गरेको छ । २१ असार २०७९ को मन्त्रिपरिषद् बैठकले निर्देशिका पारित गरेपछि जारी भएको थियो । सोही निर्देशिका अनुसार सरकारले वैदेशिक रोजगारबाट स्वदेश फर्किएकाहरूको विवरण राख्न थालेको हो । 

विवरण राख्दा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको व्यक्तिगत विवरण, वैदेशिक रोजगारीको सिलसिलामा काम गरेको मुलुक र कामको प्रकृति, आर्जन गरेको ज्ञान, सीप, अनुभव, वैदेशिक रोजगारीको आर्जनबाट देशभित्र रोजगारी वा स्वरोजगारी गर्ने सम्बन्धमा निजको इच्छा, आवश्यकता, प्राथमिकता, योजना लगायतको जानकारी राख्ने गरिएको छ । 

वैदेशिक रोजगारीबाट फर्केका नेपाली नागरिकको सीप, पुँजी र प्रविधिलाई राष्ट्र हितको लागि उपयोग गर्न तथा त्यस्ता नागरिकको पुनः एकीकरण गर्नका लागि उक्त निर्देशिका जारी गरेको थियो । सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई स्वदेशमा उद्यमशीलता गर्नका लागि आर्थिक सहयोग पनि गर्नेछ । त्यसमा सहुलियत ऋण सहयोग र अनुदान दुवै हुनेछ । वैदेशिक रोजगारबाट स्वदेश फर्किएको व्यक्ति भोलि पुनः विदेश नगएर स्वदेशमै केही गरोस् भन्ने चाहनाले सरकारले उक्त निर्देशिका जारी गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप