शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा आयोजित दसैँ कार्यक्रममा नेपालका हास्य कलाकारले हँसाए दर्शक

शुक्रबार, २१ असोज २०७९, ११ : ४७
शुक्रबार, २१ असोज २०७९

लन्डन । नेपालीहरूको महान् पर्व बडादसैँको उपलक्ष्यमा बेलायतका विभिन्न सहरमा दसैँ कार्यक्रम गरी शुभकामना आदानप्रदान गरिएको छ । यसै सिलसिलामा सोमबार साँझ बेलायतको पिटरबरोमा ‘पिटरबरो नेप्लिज कम्युनिटी’ यूकेले एक विशेष कार्यक्रम गरेको छ । 

समाजका अध्यक्ष हरिहर भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्व अध्यक्ष, ट्रस्टी, सल्लाहकारलगायत समाजका सदस्यहरूका साथै विभिन्न स्थानबाट आएका नेपालीहरूको सहभागिता थियो । अध्यक्ष भट्टराई र कार्यवाहक ट्रस्टी संयोजक बाबुराम धितालले संयुक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रमलाई औपचारिकता दिएका थिए ।  

समाजका कार्यकारी सदस्य एवम् खेलकुद विभाग संयोजक सचिन भट्टराईले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरे । यसै गरी पूर्व अध्यक्ष केशव भण्डारी, नटिङहम नेपाली समाजका अध्यक्ष रवीन्द्र शर्मा र नेपाल पत्रकार महासंघ यूके शाखाका महासचिव नरेन्द्र बस्नेतले दसैँको शुभकामना व्यक्त गरेका थिए ।

दुई सयभन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारहरू गायक प्रकाश कटुवाल, हास्यकलाकारद्वय मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर) का साथ स्थानीय कलाकार पूर्णमान बज्राचार्य तथा स-साना भाइबहिनीहरूले पनि प्रस्तुति दिएका थिए ।

सुरुमा बाल कलाकार आमोद ढकालले ‘वर्षमा दिनमा’ बोलको दसैँ गीत गएर साङ्गीतिक माहौललाई अघि बढाएका थिए । यसै गरी ज्योति प्रधान, सोनिसा भट्टराई, युक्रेश कोइराला, सान्वी पाण्डे, शशि भट्टराई, आदिती पाण्डे, पल्पसा बज्राचार्य, सायुज धिताल, नोयल पौडेल र ओजस्वी पौडेलले विभिन्न खालका नेपाली गीतमा नृत्य प्रस्तुत गरे ।

स्थानीय कलाकार पूर्णमान बज्राचार्यले ‘तिमी पारि त्यो गाउँमा’ र ‘ढुङ्गे साँगुको मेलामा’ बोलका चर्चित गएर मनोरञ्जन दिलाए । 

हास्यकलाकारद्वय मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर) ले पनि समसामयिक विषयमा व्यङ्ग्य गर्दै दर्शक हँसाएका थिए । विदेशमा बस्ने नेपालीहरूलाई नेपाली कलाकारले गरेको माया र सद्भावको प्रशंसा गर्दै जो जहाँ भए पनि नेपाललाई नबिर्सन उनीहरूले आग्रह गरेका थिए ।

यसै गरी लोक गायक प्रकाश कटुवालले बेलायत आउन भोगेको व्यथा पोख्दै तेस्रो पटकको प्रयासमा आफू बेलायत आउन पाएको बताए। उनले ‘चोर बिरालो पल्क्यो, चोरी खान पल्केको ढाडे बिरालो, छेकेन जामाले जस्ता आफ्ना लोकप्रिय  साङ्गीतिक प्रस्तुति दिएर सबैलाई नचाएका थिए ।  नेपालबाट बेलायतमा आफन्त भेट्न आएका वृद्ध बाबाआमाहरु पनि विदेशमा यस्तो रमाइलो देख्न पाउँदा दङ्ग परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप