मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

मलेसियाबाट अर्को देश जान मिल्छ कि मिल्दैन ?

शुक्रबार, २१ असोज २०७९, १५ : ३५
शुक्रबार, २१ असोज २०७९

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका धेरै नेपालीहरू अर्को देश पठाइदिने भन्दै ठगीमा पर्ने गरेका छन् । अमेरिका, क्यानडा, पोर्चुगल लगायतका देशमा पठाइदिने भन्दै मलेसियामै रहेका दलालहरूले उनीहरूबाट लाखौँ पैसा असुल्ने गरेका छन् । 

राम्रो देश गएर उतै सेटल हुने सपनासहित उनीहरू दलाललाई जति भने पनि पैसा तिर्न तयार हुने गरेका छन् । तर, वर्षौँसम्म न भनेको देश पठाउने गरेका छन्, न त दिएको पैसा फिर्ता । 

क्वालालम्पुरमा रहेको नेपाली राजदूतावासमा यसरी ठगीमा परेका भन्दै उजुरी आउने क्रम बढ्दो छ । त्यसरी मलेसियाबाट अर्को देश जानको सम्बन्धित देशको दूतावासमा बुझेर मात्र जान दूतावासले सुझाव दिँदै आएको छ । 

दूतावासकी द्वितीय सचिव यशु बस्नेतले मलेसियामा रहेका सम्बन्धित देशका दूतावासमा बुझेर मात्र जान सबैमा अनुरोध गरिन् । 

‘अर्को देश पठाइदिने भनेर धेरै नेपाली ठगिनुभएको छ । अमेरिका जाने, पोर्चुगल जाने भनेर लाखौँ पैसा तिरिरहेका छन्,’ उनले भनिन्, ‘त्यसका लागि मलेसियामा रहेको सम्बन्धित देशको दूतावासमा नबुझीकन नजानुहोला । कसैलाई पैसा दिने काम नगर्नुहोला ।’ 

दूतावासमा यसरी ठगिएको भनेर धेरै गुनासो आउने गरेको भन्दै कसैको प्रलोभन तथा आश्वासनमा नपर्न सबैमा अनुरोध गरिन् । 

मलेसियामै सक्रिय रहेका दलालहरूले अमेरिका, पोर्चुगल, नर्वे जस्ता देश पठाइदिने भन्दै श्रमिकहरूसँग लाखौँ असुल्ने गरेका छन् । उनीहरूमाथि दूतावास केही गर्न सक्ने अवस्था छैन । 

यति मात्र नभएर प्रमाणबिना मलेसिया प्रहरीसमक्ष समेत उजुरी गर्न सक्ने अवस्था हुँदैनन् । जसले गर्दा ठगिएका व्यक्ति न सम्बन्धित पुग्ने गरेका छन्, न त उनीहरूले ठगिएको पैसा फिर्ता पाएका छन् । 

यसरी आफू ठगिएको भन्दै दूतावासमा उजुरी आउने र कारबाही गर्न समस्या हुने गरेको उनको भनाई छ । 

कसरी हुन्छ ठगी ? 

दलालहरूले विशेष गरी मलेसियामा अवैध रूपमा बसेका नेपालीहरूलाई टार्गेट गर्ने गरेका छन् । उनीहरूलाई ५ देखि १० लाखसम्म नेपाली रुपैयाँ तिरेमा अमेरिका, पोर्चुगल लगायतका देश पठाइदिने भनेर प्रलोभनमा पार्ने गरेका छन् । 

लामो समयदेखि मलेसियामै बसेका नेपालीहरू नै यस्तो काममा सक्रिय रहेको नेपालीहरूको भनाई छ । रातोपाटीको सम्पर्कमा आएका एक नेपाली श्रमिकले भने,– ‘एक जनाले रोमानिया पठाइदिन्छु भनेर २ लाख रुपैयाँ लिएको १ वर्षभन्दा बढी भयो । न रोमानिया पठाइदिएको छ न त दिएको पैसा फिर्ता गरेको छ ।’ 

मलेसियामै रहेका कैलालीका रामबहादुर (नाम परिवर्तन) ले पोर्चुगल जाने सपना देखेको २ वर्ष भयो । उनलाई एक जना चिनेको दाइले पोर्चुगल जाने सपना देखाएका थिए । 

‘मलेसियामै जे जस्तो भए पनि काम गरिरहेकै थिएँ । महिनामा ३५/४० हजार कमाई भइरहेको थियो । चिनेको दाइले पोर्चुगल जाने हो भाइ भन्नुभयो । मिल्छ भने नजाने नि हुन्छ भने । दाइले ६ लाख रुपैयाँ लाग्छ भन्नुभयो । ल हुन्छ त भनेर पैसा दिए, अहिले २ वर्ष भइसक्यो आज हुन्छ भोलि हुन्छ मात्र भन्छ,’ उनले भने ।

यसरी विभिन्न देश पठाउने भन्दै ठगी गर्नेहरूले केहीलाई मात्र अर्को देश पठाउन सफल भएका देखिन्छन् । अधिकांशको भने पैसा ठग्ने गरेको मात्र देखिएको छ । 

यसरी आफू ठगिएको भन्दै दूतावासमा गुनासो गर्नेहरूको सङ्ख्या निकै बढी छ । दिनदिनै ठगीका गुनासा आउन थालेपछि दूतावासले जुन देश जान चाहेको हो त्यो देशका दूतावासमा बुझेर मात्र दलाललाई पैसा दिन आग्रह गरेको छ । 

सामान्यतया वर्कर भिसामा मलेसिया गएकाहरूले भिसा परिवर्तन गर्न पाउँदैनन् । यति मात्र नभएर जुन कम्पनीमा काम गरिरहेको छ त्यो कम्पनी पनि परिवर्तन गर्न पाइँदैन । त्यो कम्पनी परिवर्तन गर्ने बित्तिकै भिसाको टाइम भए पनि उनीहरू अवैध मानिन्छन् । 

त्यसैले त्यस्ता दलालको पछि नलाग्न र जति अवधिको लागि मलेसिया आएको हो त्यति अवधि राम्रोसँग काम गरेर स्वदेश फर्किन दूतावासले सबैमा अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप